गृहपृष्ठ भाडादरको सूची नराख्ने सवारीसाधनलाई कारबाही गरिने

भाडादरको सूची नराख्ने सवारीसाधनलाई कारबाही गरिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भाडादरको सूची नराख्ने यात्रुवाहक सवारीसाधनलाई कारबाही गर्ने भएको छ । भाडादर राख्ने कार्यलाई अभियानकै रूपमा अघि बढाएको महाशाखाले शुक्रबारमात्र ४२९ वटा सवारीसाधनमा भाडादर टाँसेको जनाएको छ ।

सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफनो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको सूची सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । सवारीसाधनले भाडादर सूची नराखेको पाइए नियमअनुसार कारबाही गरिने उनले जानकारी दिए ।

यात्रुवाहक सवारीसाधनले प्रचलित तोकेभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लंघन गर्ने गरेको भन्दै काठमाडौँ उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए । सडक र सवारी प्रयोगकर्तालाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै महाशाखाले ठूलो आवाज निकाल्ने तथा मोडिफाइ गर्ने, हर्न बजाउने, ढोका खुला राख्ने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनउपर पनि कडाइका साथ कारबाही अभियानमार्फत कारबाही गरिरहेको जनाएको छ ।

प्रकाशित समय १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु