गृहपृष्ठ बेलायतमा लकडाउनविरुद्धको प्रदर्शनमा सहभागी १०४ जना पक्राउ

बेलायतमा लकडाउनविरुद्धको प्रदर्शनमा सहभागी १०४ जना पक्राउ

बेलायतको राजधानी लन्डनमा सरकारले जारी गरेको लकडाउनविरुद्धको प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेकाले त्यसविरुद्ध बिहीबार हजारौँले प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएकाहरुलाई तत्काल भीडभाडबाट भाग्न र घरघर जान प्रहरी अधिकारीहरुले निर्देशन दिएका थिए । निर्देशन दिँदा पनि अवज्ञा गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरी कमान्डर जोन कोन्नर्सले कोरोनाभाइरसविरुद्ध लागू गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरुको उल्लंघन गरेकाहरुलाई पक्राउ गरिएको स्पष्ट पारेका छन् । ‘हाम्रो मुख्य जिम्मेवारी लन्डनलाई सुरक्षित राख्नु हो, त्यसका लागि भीडभाड गर्न नदिने नियम लागू गरेका छौँ, केही व्यक्तिले त्यसलाई अटेरी गर्नुभयो, त्यसैले पक्राउ गरेका हौँ,’ उनले भने ।

झन्डै आठ महिना लामो महामारीका क्रममा बेलायतमा पटक-पटक लकडाउन गरिएको छ । केही हप्ताअगाडि महामारी बढ्न थालेपछि सरकारले लकडाउनलाई फेरी कडाइ गर्ने घोषणा गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभर कोरोनाभाइरसको महामारी घोषणा गरेको छ । संगठनका अनुसार महामारीका कारण विश्वभरि अहिलेसम्म चार करोड ९० लाख ५६ हजार संक्रमित छन् ।

त्यसैगरी १२ लाख ३९ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ भने तीन करोड ५० लाख एक हजार कोरोनाभाइरसमुक्त भइसकेका छन् । विश्वभर अहिले पनि कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या एक करोड २८ लाख १५ हजारभन्दा बढी छ । तीमध्ये करिब १ प्रतिशत गम्भीर छन् । (रासस)

प्रकाशित समय १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु