गृहपृष्ठ तिहारअघि नै फूलको माग वृद्धि भएपछि किसान उत्साहित
तिहारअघि नै फूलको माग वृद्धि भएपछि किसान उत्साहित
फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढेको छ । झापामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायत क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनुभन्दा एक हप्ता अघिदेखि नै माग बढेको हो ।
गत वर्षदेखि व्यावसायिक रुपमा सयपत्री फूलको खेती सुरु गरेका साहित्यकार खगिन्द्र खुशीको बारीमा यतिबेला ढकमक्क कलकत्ते जातको सयपत्री फूल फुलेको छ । भद्रपुर नगरपालिका– ७, इलुबारीमा १० कठ्ठा जग्गा भाडामा लिएर उनले फूलखेती गरेका हुन् । विगतमा सहकारीको साधारणसभा, जिल्लामा हुने कार्यक्रममा समेत फूलको माला बेच्दै आएका उनलाई यस वर्ष भने तिहारको माग धान्न मुश्किल छ । ‘फूल फूलाउनु मात्र पर्दोरहेछ, किन्ने व्यापारी बारीमै आउँछन्’, उनले भने ।
विर्तामोड नगरपालिका– ४ मा पाँच जना महिला मिलेर १५ कठ्ठा जग्गामा सामूहिक फूलखेती गरेका छन् । गोमा भट्टराई, नैनकला भट्टराई, यशोदा चापागाई, शर्मिला अधिकारी र सुष्मा भण्डारीले लगाएको फूल पनि ढकमक्क फुलेको छ । ‘तिहारका लागि फूल राखिदिनुपर्यो भन्दै फोन गरेर नाम टिपाउने दैनिक १० देखि १५ जना छन्’, गोमा भट्टाराईले भनिन्, ‘विगतको तुलनामा खेती कम गरियो, माग बढ्यो । माग धान्न समस्या पर्ने भयो । मालाको अर्डर आइरहेको छ ।’ उनले यसपालि लामो समय वर्षा भएका कारण विगतमा जस्तो फूल नफस्टाएको जानकारी दिइन् । तीन हजारदेखि तीन हजार ५ सयसम्म माला हुने अनुमान गर्दै उनले ५० देखि ६० रूपैयाँसम्ममा प्रतिगोटा बिक्री हुने उल्लेख गरिन् ।
मेचीनगर– ९ मा ‘डीएन्डडी बायोप्लान्टेक’ नामक कम्पनी दर्ता गरेर विगत छ वर्षदेखि नर्सरी व्यवसायमा लागेका डिल्लीराम उप्रेतीले गत वर्षदेखि १० कट्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती सुरु गरेका छन् । विगतमा भन्दा यस वर्ष सयपत्री फूलको मालाको माग बढिरहेको उनले बताए । ‘विगतमा भारतीय माला पनि आउँथ्यो । यस वर्ष एशोसिएसन अफ नेपाली एग्रीकल्चर जर्नलिस्टले कोभिड– १९ का कारण भारतीय माला नल्याउने निर्णयसँगै हाम्रो फूलको माग बढेको छ’, उनको भनाइ छ । तर माग धान्न गाह्रो भएको उनले बताए ।
इलाम, मोरङ, सुनसरी लगायतबाट फूलको माग भए पनि आफ्नै जिल्लामा पुर्याउन गाह्रो भइरहेको उनले जनाए । उनले विगतमा लक्ष्मीपूजाको दिन फूल टिप्न सयदेखि पाँच सय जनासम्म हुने गरे पनि यस वर्ष कोभिड– १९ का कारण एकपटकमा १० जनाभन्दा बढीलाई बारीमा पस्न नदिने जनाए । ‘हामी तिहारमा माला उनेर बेच्न भ्याउँदैनौँ,’ उनले भने, ‘बारीमा पसेर उहाँहरु आफैँले टिप्नुहुन्छ । प्रतिथुंगा डेढ रुपैयाँ गरेर रकम लिन्छौँ ।” सयपत्री फूलको खेती थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाइ छ ।
झापामा सयपत्री फूलको खेतीमा झार र रोगबाट जोगाउन सबै व्यवसायीले मलसिङ प्रविधि प्रयोग गरेका छन् । भुइँमा प्लास्टिक ओच्छ्याएर बिरुवा निस्कनका लागि मात्र दुलो पार्ने नयाँ प्रविधिलाई मलसिङ भनिन्छ । सयपत्री फूलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । एक कट्ठा र दुई कट्ठाका दरले यसको खेती लगाउने झापामा दर्जनौँ किसान छन् । उनीहरूले फूलको परनिर्भरतालाई हटाउन किसानलाई प्रोत्साहनस्वरुप सुलभ कर्जा र अन्य अनुदानमा स्थानीय सरकारले लगानी बढाउनुपर्ने बताए ।
प्रकाशित समय १५:११ बजे

















