गृहपृष्ठ दैलेखको नारायण नगरपालिकामा नेपाल टेलिकमको अप्टिकल फाइबर
दैलेखको नारायण नगरपालिकामा नेपाल टेलिकमको अप्टिकल फाइबर
नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ ।
गत कात्तिक १५ गते स्तरोन्नति भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच)मार्फत सञ्चालन गरिएको टेलिकमले जनाएकाे छ । पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको छ ।
हाल सो क्षेत्रमा जम्मा १०२४ लाइन एफटीटीएच नेटवर्क क्षमता छ । पुरानो तामाको तार अर्थात् कपरबाट सञ्चालित करिब ४१५ लाइन एफटीटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १०६ लाइनसमेत वितरण गरिएको छ । सो नगरपालिकामा एफटीटीएच लाइन प्रयोगकर्ताको संख्या ५२१ पुगेको छ । यसले नारायण नगरपालिका अन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको छ ।
यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटीटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको छ । नेपाल टेलिकमले मुलुकका विभिन्न सहरी र घना बसोबास भएका क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको छ ।
एफटीटीएच सेवाको माध्यमबाट इन्टरनेट सेवा तथा आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवासमेत प्रयोग गर्न सकिन्छ । त्यसैगरी केही समयमा यसबाटै आइपी टीभी (टेलिभिजन सेवा)समेत उपलब्ध हुनेछ । परम्परागत तामाको तारको सट्टामा ग्राहकहरुका घरसम्म अप्टिकल फाइबर पुर्याई आइपीमा आधारित ट्रिपल प्ले (अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र श्रव्यदृश्य सेवाहरु) प्रदान गर्न सकिने भएकोले ग्राहकहरुका लागि यो सेवा आकर्षक टेलिकमको अपेक्षा छ ।
प्रकाशित समय १४:२७ बजे

















