गृहपृष्ठ छठ पर्व लगत्तै महासंघको दोस्रो चरणको आन्दोलन
छठ पर्व लगत्तै महासंघको दोस्रो चरणको आन्दोलन
तीन ठूला सञ्चारगृहहरुमा दोस्रो चरणको आन्दोलन घोषणाको तयारी स्वरुप नेपाल पत्रकार महासंघले आज विभिन्न संघसंगठनसँग राय सुझाव लिएको छ ।
महासंघमा आयोजित छलफलमा पत्रकारिता सम्बद्ध संगठनहरुले श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका लागि महासंघले सम्बद्ध सञ्चारगृहका सञ्चालकको घर घेराउ, सञ्चारगृहमा तालाबन्दीदेखि श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयनका लागि सरकारी निकायलाई समेत चर्को दवाब दिनुपर्ने सुझाव दिएको बैठकमा सहभागी पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयोजक जन्मदेव जैसीले जानकारी दिए ।
महासंघले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दसैँ खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन आन्दोलन गर्दै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको समस्यालाई वार्ता र संवादबाट समाधन नभएका कारण आन्दोलन गर्नु परेको जानकारी दिदै छठ पर्व लगत्तै तीन सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन गरिने बताए । महासंघका सचिव तथा श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहालले श्रमजीवी पत्रकारका माग पुरा नगर्ने ठूला सञ्चारगृहका सञ्चालकहरुको घर घेराउ गर्न संगठनहरुले दिएको सुझाव कार्यान्वयन गरिने बताए ।
प्रकाशित समय १६:४७ बजे

















