गृहपृष्ठ इरानका वरिष्ठ आणविक वैज्ञानिकको हत्या

इरानका वरिष्ठ आणविक वैज्ञानिकको हत्या

इरानका वरिष्ठ आणविक वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या भएको छ । राजधानी तेहराननजिकै सशस्त्र आतंकवादीहरूले रक्षा मन्त्रालय अन्तर्गतको रिसर्च एण्ड इनोभेशन संगठनका प्रमुख मोहसिन फख्रिजादेह सवार गाडीलाई निशाना बनाएर हत्या गरेको इरानी रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आतंकवादीहरू र फख्रिजादेहका अंगरक्षकहरूबीच भिडन्त भएको थियो । भिडन्तमा फख्रिजादेह गम्भीर रूपमा घाइते भए । उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा फख्रिजादेहको निधन भएको हो ।

इरानका विदेशमन्त्री जवाद जारिफले यो घटनालाई कुनै राज्यद्वारा गरिएको आतंकवादी कर्म भन्दै हत्याको निन्दा गरेका छन् । त्यसैगरी संयुक्त राष्ट्रसंघका लागि इरानी राजदुत माजिद तख्त रवांचीले यो घटनालाई अन्तराष्ट्रिय कानूनको उल्लंघन भन्दै संयुक्त राष्ट्रसंघले निन्दा गर्नुपर्ने बताएका छन ।

इरानको गोप्य पारमाणविक कार्यक्रममा फख्रिजादेहको भूमिका रहेको पश्चिमा गुप्तचर निकायहरूको विश्वास रहिआएको छ । उनी इरानका ख्यातिप्राप्त परमाणु वैज्ञानिक हुनुका साथै इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सका एक वरिष्ठ अधिकारी पनि रहेको बताइएको छ ।

प्रकाशित समय १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु