गृहपृष्ठ कोभिड-१९ का कारण महिलाविरुद्धको लैंगिक हिंसा बढ्यो : राष्ट्रसंघ
कोभिड-१९ का कारण महिलाविरुद्धको लैंगिक हिंसा बढ्यो : राष्ट्रसंघ
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण विश्वमा महिलाविरुद्धको लैंगिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार बताएका छन् ।
कोभिड-१९ का कारण विश्वका सबै स्थानमा महिला तथा बालबालिकाविरुद्धको हिंसामा वृद्धि भएको राष्ट्रसंघीय लागूऔषध तथा अपराधबारे अनुसन्धान गर्ने राष्ट्रसंघीय कार्यालय (यूनओडिसी) को अध्ययनले देखाएको संस्थाका कार्यकारी निर्देशक घाडा वालाईले बताए ।
संस्थाको प्रत्यक्ष भिडियो सम्मेलनमार्फत् महिला र बालबालिकाविरुद्धको प्रतिवद्धता नामक एक कार्यक्रममा उनले भने, ‘महामारीका कारण आपराधिक मुद्दाविरुद्धका गतिविधि अवरुद्ध बनेको र पीडितलाई हुने सहयोगमा कमी भएको कारण महिला तथा बालबालिकाविरुद्धको लैंगिक हिंसाका घटना बढेको पाइएको छ ।’
महामारी पहिले पनि महिला तथा बालिकाविरुद्ध विभिन्न खालका हिंसा हुनुपरेको स्मरण गर्दै उनले महामारीपछि यसमा ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको बताए । कोभिड-१९ महामारीका समय लकडाउन र अन्य उपायहरूका कारण लैंगिक हिंसामा प्रचुर मात्रामा प्रभाव परेको यूएनओडीसीले जनाएको छ ।
राष्ट्रसंघीय महिला कार्यकारी निर्देशक फुम्जिले एमलाम्बोएनगुकाले संक्रमणमा परी जीवन जोगाउन सफल अधिकांश (करिब ८० प्रतिशत) महिलाले यौनहिंसाको सिकार बन्नुपरेको जानकारी दिए । सामाजिक तथा आर्थिक अवस्थाका कारण पनि उनीहरूले ती अपराधको सामना गर्नुपरेको तर महामारीको समयमा उनीहरूमा सामाजिक तथा आर्थिक असर अझ जटिल बनेको एमलाम्बोएनगुको भनाइ छ ।
कोभिड–१९ का कारण थप ७० लाख महिला तथा किशोरीहरूमा जटिल खालको गरिबीतर्फ धकेलेको र महिला तथा बालबालिका बेचबिखन मौलाएको उनको दाबी थियो ।
अप्रिलमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले विश्वव्यापी घरेलुहिंसा रोक्न महिलाको सुरक्षालाई प्राथमिकता दिन आग्रहसमेत गर्नुपरेको थियो । अहिलेसम्म झन्डै १५० राष्ट्रले महासचिव गुटेर्रेसको आग्रहलाई सम्मान गर्दै संक्रमित महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेको बताइएको छ । यसलाई यूएनओडीसी, राष्ट्रसंघीय महिला एकाइ र अन्य सहयोगीले पनि पालना गरेको बताइएको छ ।
प्रकाशित समय १७:०२ बजे

















