गृहपृष्ठ प्रदेश प्रहरीलाई दश करोड बजेटको अख्तियारी दिने कर्णाली सरकारको निर्णय
प्रदेश प्रहरीलाई दश करोड बजेटको अख्तियारी दिने कर्णाली सरकारको निर्णय
कर्णाली प्रदेश सरकारले करिब दश करोड बजेटको अख्तियारी प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई दिने भएको छ । बिहीबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रहरी संरचना निर्माण तथा तालिम केन्द्र निर्माणका लागि उक्त रकमको अख्तियारी दिने भएको हो ।
बैठकमा भवन निर्माण र पर्वतीय प्रहरी प्रतिष्ठान निर्माणको लागि ३ करोड ९३ लाख, अन्य प्रदेश प्रहरी संरचना निर्माणको लागि ५ करोड र प्रहरी तालिम केन्द्र निर्माणको लागि एक करोड गरी जम्मा ९ करोड ९३ लाख रुपैयाँ अख्तियारी प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
त्यस्तै सडक दुर्घटनालगायत दुर्घटना उद्धार कार्यक्रम शिर्षकबाट कार्यक्रम संशोधनपश्चात् विपतका घटनाबाट मृत्यु भएका मृतक २३ घरपरिवारलाई ४६ लाख राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मृतकको यकिन गरी दोहोरो नपर्ने सर्तमा राहत सुविधा उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रस्तावित गरेको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
प्रकाशित समय १७:१७ बजे

















