गृहपृष्ठ गाउँपालिकाको केन्द्र विवादबारे मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र

गाउँपालिकाको केन्द्र विवादबारे मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र विवादलाई लिएर स्थानीय जनप्रतिनिधि सहितको टोली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष आइपुगेको छ । सोमबार मुख्यमन्त्री भट्टलाई भेटेर प्रदेश सरकारले गाउँपालिका केन्द्रबारे विभेद र अन्याय गरेको भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

गाउँपालिकाको वडा नम्बर ७, भानी गाउँमा केन्द्र रहेकोमा अहिले सम्पर्क कार्यालय रहेको वडा नम्बर ३ को पङसेरालाई स्थायी केन्द्र बनाइन लागेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । केन्द्रबारे गाउँसभाले गरेको निर्णयलाई सामान्य प्रशासन मन्त्रालयले विवादित भनेको र विवादका लागि स्थानीय तहबाटै समस्याको निरुपण गर्न पत्राचार गरेको भए पनि सो पत्रलाई परिपत्र नगरी प्रदेश सरकारले अलमल पारेको डिलासैनी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष प्रेम बहादुर धामीले बताए ।

प्रदेश सरकारले त्यो पत्र स्थानीय तहलाई नपठाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषदको  कार्यालयमार्फत उक्त प्रस्तावलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नै फिर्ता पठाएको डिलाशैनी गाउँपालिकाका १३ जना जनप्रतिनिधिहरूले बताएका छन् । ‘मन्त्रालयले स्थानीय तहबाट नै विवादको विषय टुंगो लगाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम प्रक्रिया अगाडि बढाउन भनी गत २०७७ कार्तिक १९ मा गरेको निर्णय न्यायसंगत र गाउँपालिकावासीको हितमा भएकाले उक्त निर्णयलाई कार्यान्वयन गरी संघीय सरकारले डिलाशैनीवासीलाई न्याय दिलाउने कुरामा हामी विश्वस्त रहन चाहान्छौ,’ मुख्यमन्त्री भट्टलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

साथै सरकारले जनताको विपक्षमा विभेदकारी निर्णय गरेमा कडा संघर्ष गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । उक्त ध्यानाकर्षण पत्रमा डिलाशैनीको वडा नम्बर ४, ५ र ७ का अध्यक्ष तथा वडा सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु