गृहपृष्ठ कोरोना कहरमा नेपालको पर्यटन : फाट्दैछ ‘कालो बादल’
कोरोना कहरमा नेपालको पर्यटन : फाट्दैछ ‘कालो बादल’
नेपाल भ्रमणमा आउने सबैभन्दा बढी चीन र भारतका पर्यटक
२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित गत वर्ष पुस १६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘नेपाल भ्रमण वर्ष २०२०’ को निकै ठूलो तामझामका साथ उद्घाटन भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको दिपज्योति प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गरेकी थिइन् । चार वटा हेलिकोप्टरबाट पुष्पगुच्छासहित भ्रमण वर्ष लोगोअंकित व्यानर प्रदर्शन गरिएका थिए । देश तथा विदेशमा भ्रमण वर्षको प्रचारप्रसार गरिएको थियो । हिममानव यतीका मूर्तिहरू देशका विभिन्न ठाउँहरूमा राखिएका थिए । एक हिसाबले भन्दा सन् २०२० ‘उत्सवको वर्ष’ नै हुने संकेत देखिएको थियो । देशको वार्षिक बजेटको हाराहारीमै भ्रमण वर्षले पर्यटकबाट कमाउने योजना बुनेको थियो । तर, त्यो योजनामा भ्रमण वर्ष सुरू हुँदैगर्दा ‘बादल’ देखिन थाल्यो ।
चीनमा देखिएको कोरोनाभाइरस (कोभिड-१९)ले विश्वभरि नै ‘डढेलो’ लगाउने संकेत देखायो । नेपाल भित्रिने तयारीमा रहेका पर्यटकहरूले भ्रमण रद्द गर्न थाले । तामझामका साथ सुरू गर्न लागिएको भ्रमण वर्ष उद्घाटनकै खर्च नउठाउन सक्ने स्थितिमा पुग्यो । गत वर्षको भन्दा झन्डै ८० प्रतिशत आगमनमै धक्का लाग्यो ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१९ को ११ महिनाको तुलनामा २०२० को नोभेम्बरसम्म ८० प्रतिशत कम पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१० मा १० लाख ९६ हजार ३२३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, सन् २०२० को नोभेम्बर सम्ममा २ लाख २० हजार १२० पर्यटकले मात्रै नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार सन् २०१९ को नोभेम्बरमा मात्रै एक लाख ३० हजार ३०२ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यो वर्षको नोभेम्बरमा एक हजार ९४७ जनाले मात्रै नेपाल भ्रमण गरेका छन् । तुलनामा हेर्दा गत वर्षको नोभेम्बरभन्दा यो वर्षको नोभेम्बरमा ९८.५० प्रतिशत कम पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
यो वर्ष सबैभन्दा बढी पर्यटक फ्रेब्रुअरीमा भित्रिएका छन् । फ्रेब्रुअरीमा एक लाख १४ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै अप्रिल र मेमा सबैभन्दा कम पर्यटक आएका छन् । अप्रिलमा १३ जना र मेमा ३० जना पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन वोर्डअन्तर्गतको अनुसन्धान, योजना र अनुगमन विभागका अधिकृत कविन्द्र भट्टले बताए ।
भट्टका अनुसार गत वर्ष जनवरीमा ८१ हजार २७३ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यो वर्षको जनवरीमा ७९ हजार ६८६, फ्रेब्रुअरीमा गत वर्ष एक लाख २ हजार ४२३ यो वर्ष एक लाख एक हजार ४ सय, मार्चमा गत वर्ष एक लाख २७ हजार ३५१ यो वर्ष ३४ हजार २५, अप्रिलमा गत वर्ष एक लाख ९ हजार ३९९ यो वर्ष १३, मेमा गत वर्ष ७८ हजार ३२१ यो वर्ष ३०, जुनमा गत वर्ष ७० हजार ९१६ यो वर्ष १०० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
त्यस्तै गत वर्षको अगष्टमा ९४ हजार ७४९ जना आएका थिए भने २६८ जनाले यो वर्ष भ्रमण गरेका छन् । त्यस्तै सेप्टेम्बरमा गत वर्ष ९२ हजार ६०४ यो वर्ष ५८२, अक्टोबर गत वर्ष एक लाख ३४ हजार ९६ यो वर्ष एक हजार ८७४ जनाले नेपाल भ्रमण गरेका छन् । पछिल्लो समय भने पर्यटकको संख्या बढ्दै गरेको तथ्यांकले देखाएको छ ।
नोभेम्बरमा मात्रै दैनिक ६४ जनाका दरले विदेशी पर्यटकले भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अधिकृत भट्टका अनुसार अक्टोबरमा दैनिक ६२ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएकोमा नोभेम्बरमा दैनिक ६४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अन्तरिक पर्यटकहरूले पनि विभिन्न पर्यटकीय स्थलहरूमा चहलपहल बढाएका छन् । महामारीकै बीच विदेशी पर्यटकहरू पनि विभिन्न स्थलहरूमा देखिन थालेका छन् ।
सबैभन्दा बढी पर्यटक चीन र भारतकै
नेपालमा भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा बढी भारत र चीनकै रहेका छन् । यो वर्षको ११ महिनामा मात्रै भारतबाट महामारीकै बीचमा ४० हजार ६४९ जनाले नेपाल भ्रमण गरेका छन् । गएको जनवरीमा १६ हजार ८८२, फ्रेब्रुअरीमा १६ हजार ६०४, मार्चमा ६ हजार ७९३, अप्रिलमा २, जुनमा २६, जुलाइ ४१, अगष्टमा २३, सेप्टेम्बरमा ४१, अक्टोबरमा १०७, नोभेम्बरमा १२३ जना गरी यो वर्ष भारतबाट ४० हजार ६४९ जनाले नेपाल भ्रमण गरेका छन् । त्यस्तै चीनबाट १८ हजार ८३० जनाले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार जनवरीमा चीनबाट १३ हजार ३०३, फ्रेब्रुअरीमा तीन हजार ५०१, मार्चमा एक हजार ६४०, जुलाइमा ६, अगष्टमा एक, सेप्टेम्बरमा ५६, अक्टोबरमा ११४ र नोभेम्बरमा २०९ जनाले नेपाल भ्रमण गरेका छन् । अप्रिल, मार्च र जुनमा भने चिनियाँ पर्यटक नेपालमा आएका छैनन् ।
प्रकाशित समय १७:०६ बजे

















