गृहपृष्ठ पुरुषसँगै नियमित मदिरा पिउने महिला पनि बढ्दै

पुरुषसँगै नियमित मदिरा पिउने महिला पनि बढ्दै

Khoya Birke_NewsKarobar प्रतिनिधिमूलक तस्बिर

नेपालीहरूको रहन-सहनमा र खानपिन शैलीमा आएको परिवर्तनसँगै नियमित मदिरा पिउने नेपालीहरूको संख्या पनि बढ्न थालेको एउटा अध्ययनले देखाएको छ । हालै सार्वजनिक ‘नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६’ देशका करिब ४१ प्रतिशत पुरुष र ९ प्रतिशत महिलाले कम्तीमा एक पटक, एक महिनाको कुनै दिनमा मदिराजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।

यो अध्ययनअनुसार १५-४९ वर्ष उमेर समूहका ९.१ प्रतिशत महिलाहरूले कम्तीमा एक पटक एक महिनाको कुनै दिनमा मदिराजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ भने सोही समूहका ४०.६ प्रतिशत पुरुषहरूले मदिराजन्य पदार्थ सेवन गरेको पाइएको हो ।

यो अध्ययनअनुसार सहरी क्षेत्रका तुलनामा ग्रामीण क्षेत्रका महिलाले बढी मदिरा पिउने गरेको पाइएको छ । सहरी क्षेत्रका ८.१ प्रतिशत महिलाले मदिरा पिउँदा ग्रामीण क्षेत्रका ११.४ प्रतिशत महिलाले महिनामा कम्तिमा एक पटक नियमित मदिरा पिउने गरेको सर्वेक्षणले देखाएको छ ।

नियमित मदिरा पिउनेहरूमा गरिब र तल्लो-मध्यम आय समूहका महिला बढी छन् । यो वर्गका २४.४ प्रतिशतले महिनामा एक पटक मदिरा पिएको बताएका छन् ।

केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणअनुसार महिलाले मदिरा पिउने प्रवृत्ति बागमती प्रदेशमा सबैभन्दा बढी र प्रदेश २ मा सबैभन्दा कम पाइएको छ ।

बागमतीका १४.८ प्रतिशत महिलाले महिनामा कम्तिमा एक पटक मदिरा पिएको बताएका छन् भने प्रदेश १ का १३.५ प्रतिशतले, प्रदेश २ का १ प्रतिशतले, गण्डकीका ९.७ प्रतिशत, लुम्बिनीका ९.४, कर्णालीका २.४ र सुदूरपश्चिमका ३.७ प्रतिशतले महिनामा कम्तिमा एक पटक मदिरा पिउने गरेबो बताए ।

सर्वेक्षण प्रतिवेदनअनुसार १५-४९ वर्ष उमेर समूहका ७.९ प्रतिशत पुरुष र ५.१ प्रतिशत महिलाले १५ वर्षअगाडि नै पहिलो पटक मदिराजन्य पदार्थ सेवन गरेको पाइएको छ ।

पुरुषहरूमा मदिरा पिउने प्रवृत्ति गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बढी पाइएको छ । गण्डकीका ४७.५ प्रतिशत, बागमतीका ४६.१ प्रतिशत, लुम्बिनीका ४४.५ प्रतिशत र सुदूरपश्चिमका ४३.९ प्रतिशतले महिनामा कम्तिका एक पटक मदिरा पिउने गरेको बताएका छन् ।

यसैगरी, प्रदेश १ का ४३.१ प्रतिशतले, प्रदेश २ का २४ प्रतिशतले र कर्णालीका ३२.२ प्रतिशतले महिनामा एक पटक मदिरा पिउने गरेको बताएका छन् ।

नियमित मदिरा पिउनेहरूमा ३० देखि ५० वर्ष समूहका पुरुष सर्वाधिक बढी अर्थात् ५० प्रतिशतभन्दा बढी छन् भने महिलाहरूमा ३५ देखि ५० वर्ष उमेर समूहका बढी छन् ।

यस्तै, आयगत समूहअनुसार हेर्दा गरिब र तल्लो-मध्यमसँगै उच्च अर्थात धनाढ्य वर्गमा पनि नियमित मदिरा पिउने पुरुषहरूको संख्या बढी छ ।  प्रतिवेदनअनुसार गरिब वर्गका ४८.७ प्रतिशत र तल्लो मध्यम वर्गका ४१.६ प्रतिशत पुरुषले महिना कम्तिमा एक पटक नियमित मदिरा पिउने गरेबो बताउँदा समान जवाफ दिने धनाढ्यहरूको अनुपात ४३ प्रतिशत छ ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु