गृहपृष्ठ जनतालाई रोजगारी नदिएसम्म समृद्धि आउन सक्दैन : मन्त्री नेपाल

जनतालाई रोजगारी नदिएसम्म समृद्धि आउन सक्दैन : मन्त्री नेपाल

बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जनतालाई रोजगारी नदिएसम्म देशमा समृद्धि आउन नसक्ने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) बागमती प्रदेश महासंघको प्रथम परिषद्को आज उद्घाटन गर्नुहुँदै उनले बागमती प्रदेश सरकारले युवालाई उद्यमशीलतामा जोड्न तीन अर्ब रूपैयाँको कोष बनाएको जानकारी दिए । ‘सो कोषमार्फत उत्कृष्ट योजना बनाएर पेश गरिसकेपछि ४० वर्षमुनिका युवालाई तालीम दिएर १५ लाख रूपैयाँसम्म सहुलीयत ऋण उपलब्ध गराउनेछौँ,’ उनले भने ।

सो कार्यका लागि प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकसँग समन्वय गरिसकेको उनले बताए । सो अवसरमा मन्त्रालयका सचिव सिन्धु ढुंगानाले सामुदायिक वनको ५० प्रतिशत महिला नेतृत्वको अभ्यास उदाहरणीय रहेको बताए । नेपाल नगरपालिका संघका कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले नेपालमा प्राकृतिक स्रोतको समुचित उपयोग हुन नसकेको बताए । फेकोफन केन्द्रका अध्यक्ष भारती पाठकले सामुदायिक वनमा खेर गएका वन पैदावारको उपयोगबाट उद्यमशीलताको सिर्जना गरी युवालाई रोजगारीको अवसर प्रदान गर्नका लागि सरकारसँग समन्वय गर्न महासङ्घ तयार रहेको उनले बताए । (रासस)

प्रकाशित समय ०६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु