गृहपृष्ठ संसद विघटनसम्बन्धी रिटमा आवश्यक सबै कागजात प्राप्त, राष्ट्रपति र प्रधानमन्त्रीले पनि पठाए जवाफ

संसद विघटनसम्बन्धी रिटमा आवश्यक सबै कागजात प्राप्त, राष्ट्रपति र प्रधानमन्त्रीले पनि पठाए जवाफ

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आवश्यक सबै कागजात प्राप्त भएको सर्वोच्च अदालतले जनाएकाे छ । रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि सर्वोच्चमा आइतबार लिखित जवाफ पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई दायर भएको रिटमा पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले पुस १९ गतेभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । यसका साथै अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिस र निर्णयको सक्कलै प्रति राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट झिकाउन पनि आदेश दिएको छ । संघीय संसदबाट प्रतिनिधिसभामा अविश्वासको प्रस्तावसम्बन्धी निवेदन दर्ता भएको मिति र समय खुल्ने गरी सक्कल रजिस्टरसमेतका कागजात पनि सर्वोच्चले मागेको थियो ।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार सो रिटमा माग गरिएका सबै कागजातहरु अदालतमा प्राप्त भइसकेका छन् । अब सो रिटमा पुस २२ गतेदेखि सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने पोखरेलले बताए । यस विषयमा सर्वोच्चले अदालतको सहयोगी (एमिकस क्युरी) पनि चयन गरिसकेकाे छ ।

प्रकाशित समय १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु