गृहपृष्ठ कप्तान अरुणा शाहीलाई जिताउने अभियानका साथ सम्पन्न लिग चरणका खेल पूरा

कप्तान अरुणा शाहीलाई जिताउने अभियानका साथ सम्पन्न लिग चरणका खेल पूरा

पोखरा रंगशालामा शुक्रबारबाट कप्तान अरुणा शाहीलाई जिताउने अभियानका साथ सुरु भएको पुरुष भलिबल लिग चरणका खेल पूरा भएका छन् । एनएसजेएफ स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विद्यामा मनोनयनमा परेकी नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई जिताउने अभियानका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

शुक्रबार भएको लिग चरणका भलिबल खेलहरुमा बागलुङ, पर्वत, स्याङ्जा, कास्की र नवलपुरका भलिबल संघका टिमबीच प्रतिस्पर्धा भएको थियो । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जिल्ला भलिबल संघको आयोजनामा भएको पुरुष भलिबलको उद्घाटन खेलमा बागलुङले कास्कीलाई सोझो सेटको अन्तरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । बागलुङले कास्कीलाई २५–२२, २५–१९ र २५–१६ ले पराजित गरेको हो ।

स्याङ्जा, बागलुङ, पर्वत र नवलपुर सेमीफाइनलमा प्रवेश गरेका छन् । यसअघि सम्पन्न लिग चरणका खेलमा पर्वतले बागलुङलाई ३–० को सोझो सेट र पर्वतले दोस्रो खेलमा कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको छ ।

शुक्रबार नै भएको लिग चरणमा स्याङ्जाले नवलपुरलाई ३–१ को सेटमा पराजित गरेको थियो । शनिबार हुने सेमीफाइनलमा पर्वतले नवलपुरसँग तथा स्याङ्जाले बागलुङसँग सेमीफाइनलमा भिड्ने भएको आयोजक नेपाल भलिबल संघले जनाएको छ ।

शनिबार पोखरा रंगशाला पुरुषतर्फको सेमीफाइनल र फाइनलका खेल सञ्चालन हुनेछन् भने एपीएफ र न्यु डायमन्डबीच महिला टिमको प्रदर्शन खेल हुने संघका सचिव डिवी नेपालीले जानकारी दिएका छन् । अरुणालाई जिताउन उनको गृहजिल्ला म्याग्दीमा समेत कार्यक्रम भएका छन् भने हालसम्म करिब ४ लाखभन्दा वढी रकम संकलन भइसकेको छ ।

प्रकाशित समय ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु