गृहपृष्ठ संविधानको रक्षाका लागि जनताले सचेततापूर्वक दायित्व पूरा गर्नुपर्छ : उपराष्ट्रपति

संविधानको रक्षाका लागि जनताले सचेततापूर्वक दायित्व पूरा गर्नुपर्छ : उपराष्ट्रपति

nandabahadur_upn

उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् । माघे संक्रान्ति एपं माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’

मगर, थारु र छन्त्याललगायतका आदिवासी जनजाति समुदायको सांस्कृतिक चाड एवं नेपालीको महत्वपूर्ण चाड माघे संक्रान्ति र माघी पर्व २०७७ को अवसरमा शुभकामना दिँदै उपराष्ट्रपतिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको स्मरण गरेका छन् ।

नेपालका हरेक समुदायका आ‑आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र धार्मिक एवं सांस्कृतिक चाड रहेको र नेपाल सामाजिक सद्भाव र सौहार्दताका लागि विश्वकै नमुना राष्ट्र रहेको उपराष्ट्रपतिको वक्तव्यमा उल्लेख छ । विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाड नेपालीको साझा चाडपर्व भएको भन्दै यो चाडले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गर्ने विश्वास व्यक्त गरेका छन् ।

पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको यो पर्व यस वर्ष विश्वव्यापी कोभिड १९ का कारण विगत वर्षजस्तो सामूहिक जमघट गरेर हर्षोल्लासका साथ मनाउन नपाइने भएकाले स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सबै नेपालीले आ‑आफ्नो घरमा हर्षका साथ मनाउने विश्वास उपराष्ट्रपतिको छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधानको संरक्षण र पालन हुनुपर्नेमा त्यसो हुन नसकेको भनी प्रश्न उठ्दै र आवाज बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उपराष्ट्रपतिले नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै यसरी प्रश्न उठ्नुपर्ने अवस्था सिर्जना हुनु ज्यादै दुःखद् भएको बताएका छन् । उनले माघी पर्व २०७७ ले संविधानको संरक्षण, पूर्णपालन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि जिम्मेवार हुन सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना गरेका छन् ।

प्रकाशित समय ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु