गृहपृष्ठ कर्णालीमा सुत्केरी र नवजात शिशुको ज्यान जोगाउनै मुस्किल

कर्णालीमा सुत्केरी र नवजात शिशुको ज्यान जोगाउनै मुस्किल

भदौ ११ गते कालीकोटको रास्कोट नगरपालिका २ की २८ वर्षीया सीता सार्कीको सुत्केरीपछि अत्यधिक रक्तश्रावकै कारण मृत्यु भयो । उनी घरमै सुत्केरी भएकी थिइन् । उनको ज्यान गएलगत्तै बच्चाको पनि मृत्यु भयो । समयमै अस्पताल पुर्‍याउन नसक्दा आमा र शिशु दुबैको ज्यान गएको हो । उनलाई पहिले नजिकैको स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि सामुदायिक अस्पताल रास्कोट रिफर गरियो । तर, पहिरोको कारण सडक अवरुद्ध हुँदा अस्पताल नपुर्‍याउँदै आमा र बच्चा दुवैको ज्यान गयो ।

दैलेखको ठाटीकाँध गाउँपालिका १ की पार्वती शाहीलाई भदौ ११ गते सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रामा लगियो । उनले दिउँसो सवा ३ बजे छोरीलाई जन्म दिइन् । सुत्केरी भएको केही समयमै उनलाई रक्तश्राव भयो । रक्तश्राव नरोकिएपछि स्वास्थ्य केन्द्रमा उपचार सम्भव भएन । स्वास्थ्य संस्थाले जिल्ला अस्पताल दैलेखमा खबर गर्‍यो । स्वास्थ्य केन्द्रका इन्चार्ज लक्ष्मी रावतका अनुसार जिल्लामा पनि उपचार सम्भव नहुने देखिएपछि उनलाई सुर्खेतस्थित प्रदेश अस्पतालमा रिफर गरिएको थियो । अस्पतालसम्म ल्याउन एम्बुलेन्स पाइएन । अन्य सवारी साधनको तयारी गरेर सुर्खेत ल्याउँदा–ल्याउँदै बीच बाटोमै अत्यधिक रक्तश्रावका कारण २२ वर्षीया शाहीको राति १२ बजे ज्यान गयो ।

गुर्भाकोट नगरपालिका ७ सुर्खेतकी २५ वर्षीया लक्ष्मी परियारको मंसिर २३ गते प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भयो । उनको इम्बोलिजम (सुत्केरी अवस्थामा एक सयमध्ये करिब पाँच जनामा हुने समस्या) का कारण मृत्यु भयो । गुर्भाकोट नगरपालिकाकी अनमी यज्ञ पन्तका अनुसार उनलाई सुरुमै रिंगटा लागेपछि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । उनको अस्पतालमै मृत्यु भयो । बच्चाको भने ज्यान जोगियो । सुत्केरी भइसकेपछि सास फेर्न अफ्ठ्यारो हुने र मुखबाट फिँज आउने समस्या भएपछि उनको मृत्यु भएको पन्तले जानकारी दिइन् ।

कर्णाली प्रदेशमा यसरी बर्सेनि सुत्केरी आमा र नवजात शिशुको विभिन्न कारणले मृत्यु हुने गरेको छ । अत्यधिक रक्तश्राव, इम्बोलिजम, पाठेघर फुट्ने समस्या, गर्भवती अवस्थामा हुने कम्पन (मुर्छा पर्ने समस्या) लगायतका कारण सुत्केरीले ज्यान गुमाउने गरेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेशभर १३ जना आमाहरुले ज्यान गुमाएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । जुम्लामा दुई, कालिकोटमा तीन, दैलेखमा एक, जाजरकोटमा एक, सल्यानमा दुई र सुर्खेतमा चार जनाले ज्यान गुमाएका हुन् ।

अत्यधिक रक्तश्राव, इम्बोलिजम, पाठेघर फुट्ने समस्या, गर्भवती अवस्थामा हुने कम्पन (मुर्छा पर्ने समस्या) लगायतका कारण सुत्केरीले ज्यान गुमाउने गरेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा भने प्रदेशभर २१ जना आमाले ज्यान गुमाएको निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक वसन्तमान श्रेष्ठले जानकारी दिए । कालिकोटका ६ जना, सुर्खेतका चार, रुकुम पश्चिमका तीन, मुगुका दुई, जाजरकोटका तीन, सल्यानका दुई र हुम्लाका एक जनाको ज्यान गएको हो । त्यस्तै, चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा प्रदेशभर सात जना आमाको मृत्यु भइसकेको श्रेष्ठले बताए । सुर्खेतका पाँच र जुम्लाका दुई जना आमाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

विभिन्न कारणबाट बर्सेनि सुत्केरी आमाहरुले ज्यान गुमाउनुपरेको निर्देशनालयकी वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले बताइन् । ‘अत्यधिक रक्तश्रापका कारण अधिकांश सुत्केरी महिलाको ज्यान गएको छ,’ उनले भनिन्, ‘यसबाहेक जटिल प्रसव, पाठेघर फुट्नेलगाएका समस्याले पनि सुत्केरीको मृत्यु हुन्छ ।’ घरमै सुत्केरी गराउन खोज्ने, धेरै बच्चा जन्माउने, इम्बोलिजमलगायतका समस्याबाट सुत्केरी महिलाको ज्यान जाने गरेको उनले जानकारी दिइन् ।

तीन वर्षमा ४१८ नवजात शिशुको मृत्यु

कर्णालीमा नवजात शिशु मृत्युदर पनि उच्च छ । तीन आर्थिक वर्षमा प्रदेशभर ४१८ शिशुको मृत्यु भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार जन्मेदेखि २८ दिनभित्रका शिशुको मृत्यृ बढी हुने गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा प्रदेशभरका नौ जिल्लाका १५२ नवजात शिशुको मृत्यु भएको थियो । सुर्खेतका ५२, सल्यानका २१, जुम्लाका २१, जाजरकोटका १६, रुकुम पश्चिमका ११, दैलेखका ११, कालिकोटका नौ, डोल्पाका आठ र मुगुका तीन नवजात शिशुले ज्यान गुमाएका थिए ।

त्यस्तै आव २०७६/७७ मा २०८ नवजात शिशुको मृत्यु भएको निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त आवमा सुर्खेतका ६८, जाजरकोटका २७, सल्यानका २२, कालिकोटका २२, जुम्लाका २२, दैलेखका १९, मुगुका १५, रुकुम पश्चिमका आठ र डोल्पाका पाँच नवजात शिशुले ज्यान गुमाएका थिए ।

त्यस्तै चालू आर्थिक वर्षको मंसिरसम्ममा ५८ नवजात शिशुले ज्यान गुमाइसकेका छन् । सुर्खेतका १४, जाजरकोटका १०, हुम्लाका दुई, जुम्लाका सात, कालिकोटका आठ, दैलेखका पाँच, रुकुम पश्चिमका पाँच र सल्यानका सात जनाले ज्यान गुमाएका हुन् । श्रेष्ठले केही जिल्लाबाट रिपोर्ट नआइसकेकाले मातृ तथा शिशु मृत्युदर बढी हुनसक्ने बताए ।

प्रदेश अस्पताल सुर्खेतकी अस्पताल नर्सिङ निरीक्षक कल्पना थापाले नवजात शिशु मृत्युका विभिन्न कारण हुने बताइन् । समयमै अस्पताल नआउनाले बच्चा पेटभित्रै निसासिएर जन्मिनेबित्तिकै मृत्यु हुने, महिना नपुगेरै जन्मिनेलगायतका कारणले नवजात शिशु मृत्युदर बढेको उनले जानकारी दिइन् । यसो हुनुमा चेतनाको कमी, बालविवाह, पोषिलो खानालगायतका कारण रहेको उनले बताइन् ।

कर्णालीमा आमा र बच्चाको ज्यान जाने क्रम डरलाग्दो छ । गर्भवती तथा सुत्केरी अवस्थामा आवश्यक पर्ने आहारविहार तथा स्याहार नपाउने, बालविवाह गर्ने र सानै उमेरमा बच्चा जन्माउने, ढिलो गरी अस्पताल आउनेलगायतका कारणले आमा र बच्चा दुवैको ज्यान जाने गरेको छ । सरकारबाट सुत्केरीको निःशुल्क स्वास्थ्य परीक्षणका लागि नीतिगत व्यवस्था गर्ने हो भने मातृ तथा शिशु मृत्युदरमा सुधार आउने स्थानीय बताउँछन् ।

प्रकाशित समय १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु