गृहपृष्ठ ३१ वर्षीय युवकको ‘रहस्यमय’ मृत्यु, न्याय दिलाउन मिडियासँग गुहार

३१ वर्षीय युवकको ‘रहस्यमय’ मृत्यु, न्याय दिलाउन मिडियासँग गुहार

पत्रकार सम्मेलनमा पीडित परिवार ।

मोरङको उर्लाबारी- ५ का प्रेम बास्तोलाले आफ्नो छोराको ‘हत्या’मा संलग्नहरूलाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको आरोप लगाएका छन् । बास्तोलाका ३१ वर्षीय छोरा प्रविणको गत पुस ४ गते शंकास्पद मृत्यु भएको थियो । परिवारले सोमबार आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गरी न्याय दिलाउन मिडियासँग गुहार मागेको छ ।

परिवारका अनुसार सुरुमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दिए पनि पक्राउ परेका सबैलाई छोडिदिएको छ । ‘४ गते घरबाट निस्किएको मेरो छोरो ५ गते ११ बजेतिर मर्‍यो अरे भनेर नयाँ नम्बरबाट कल आयो । कहाँ मर्‍यो, कसरी मर्‍यो, कसले मार्‍यो, हामी परिवारका सदस्यलाई केही थाहा भएन । प्रहरी पनि प्रत्येक पटक फरक कुरा गर्छ । मर्ने त मर्‍यो तर न्याय मर्नु भएन नि,’ मृतक प्रविणका बुवा प्रेमले भने ।

उनका अनुसार शव गोदावारी अस्पतालमा भेटिएका कारण प्रविणलाई त्यहाँसम्म कसले लग्यो भन्ने खुलेको छैन । मृत्यु भइसकेपछि एम्बुलेन्समा हालेर अस्पताल लगिएको परिवारको दाबी छ । ‘प्रविणको मृत्यु भएको ३/४ घण्टापछि मात्र एम्बुलेन्समा हालेर अस्पताल लगिएको हो । कर्तव्य ज्यानको मुद्दालाई दुर्घटनामा परिणत गर्न प्रहरी पनि नै संलग्न भएको छ,’ पीडित परिवारको आरोप छ । किटानी जाहेरी दिन जाँदा इलाका प्रहरी कार्यालय, उर्लाबारीका इन्स्पेक्टर उद्धव पोख्रेलले उल्टो थर्काएको मृतक प्रविणकी बहिनी दुर्गा बास्तोलाले बताइन् । ‘प्रमाण नष्ट गर्न र अपराधीको संरक्षणमा प्रहरीको पनि संलग्नता छ,’ उनले भनिन् ।

घटनाअनुसार प्रविण पुस ४ गते बेलुकी घरबाट निस्किएका हुन् । स्थानीय एक होटलमा पुगेका उनले त्यहाँ होटल सञ्चालक कुमार राई लगायतसँग राति १० बजेसम्म मदिरा सेवन गरेका  थिए । त्यसपछि प्रविणलाई समेत लिएर राजेश रणपहेली जुस किन्न स्कुटर चढेर अलि परसम्म पुगेको बताइएको छ । त्यसपछि के, कसरी घटना घट्यो ? भन्ने खुलेको छैन ।  राति १ बजेर १० मिनेट जाँदा प्रविणको मोबाइलबाट अर्कै एक नम्बरमा २० रुपियाँ ट्रान्फर भएको प्रहरीले पत्ता लगाएको छ ।

होटलमा मेहरमान दर्जी, दिपेश पौडेल, राजेश रणपहेली र प्रविण मात्र रहेको भनिए पनि त्यहाँ अरु व्यक्ति पनि भएको बास्तोला परिवारको दाबी छ । घटनामा संलग्नता आशंका गरिएकाहरू यसअघि लागूऔषध कारोवार र हत्याका घटनामा नाम जोडिएकाहरू भएकाले प्रविणको हत्या पनि उनीहरूले नै गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

कर्तव्य ज्यानको कुनै प्रमाण फेला नपरेकाले सरकारी वकिलको कार्यालयले पक्राउ परेका सबैलाई छाडेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर पोख्रेलको भनाइ छ । ‘मृतकको शरीरमा कुनै चोट, नीलडाम देखिएन । अनुसन्धानको फाइल बन्द भएको छैन । प्रमाण फेला परे उनीहरू फेरि पनि पक्राउ पर्न सक्छन्,’ उनले भने ।

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु