गृहपृष्ठ प्रधानमन्त्री ओलीले भने- म पनि आंशिक अपांगता भएकै व्यक्ति हुँ
प्रधानमन्त्री ओलीले भने- म पनि आंशिक अपांगता भएकै व्यक्ति हुँ
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि आंशिक अपांगता भएकै व्यक्ति भएको भन्दै सरकारले गच्छेअनुसार अपांगता भएका व्यक्तिका संरक्षणका लागि पहल गर्ने बताएका छन् ।
‘म पनि अलिअलि/थोरैथोरै अपांगता भएकै व्यक्ति हुँ, मेरो पनि किडनी फेल भएर अर्को किड्नी ल्याएर जोडेर राखेको छ । म पनि अर्को किडनीको ह्वीलचेयर चढेरै हिँडेको छु,’ नेपाल नेत्रहीन संघद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘त्यो किडनी पनि फेल भयो, फेरि अर्को किडनी राखेर, नयाँ किडनीको वैशाखी टेकेरै हिँडेको छु । त्यो अलिअलि अपांगता हो ।’
प्रधानमन्त्री ओलीले मृगौलाले काम गर्न छाडेर फेरेर बाँच्नुलाई अपांगताका रूपमा व्याख्या गरे पनि अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन-२०७४ ले गरेको अपांगता वर्गीकरणमा यस्ता रोगका कारण भएको अशक्ततालाई अपांगताका रूपमा व्याख्या गरिएको छैन ।
प्रधानमन्त्री ओलीले किडनी फेरे पनि बाँच्न सकिन्छ, काम गर्न सकिन्छ भन्ने आत्मविश्वास आफूले देखाएको बताए । ‘शायद यो पनि विश्व रेकर्ड नै होला दुई वटा किडनी फेरेको विश्वमा कोही प्रधानमन्त्री छैन,’ उनले भने ।
उनले हरेक व्यक्तिमा कम-बेसी अपांगता रहेको भन्दै अपांगता होइनौ भन्ने व्यक्तिहरू मानसिक रूपमा सबैभन्दा ठूलो अपांग भएको भन्दै ‘ठूला-ठूला मान्छेहरू’ प्रति व्यंग्य गरे ।
उनले नेपाल गरिब देश भएको उल्लेख गर्दै देश गरिब भए पनि सरकारले आफ्ना नागरिकहरूको हेरविचारमा कुनै कमी नराख्ने बताए । उनले सरकारले क्षमताअनुसार गर्ने भएकाले धेरै अपेक्षा नगर्न पनि अनुरोध गरे ।
प्रकाशित समय १५:१६ बजे

















