गृहपृष्ठ राष्ट्रिय महिला फुटबल : आइतबार एपीएफ क्लब विजयी

राष्ट्रिय महिला फुटबल : आइतबार एपीएफ क्लब विजयी

राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ ।

एपीएफ क्लबले विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो । एपीएफ क्लबको यो लगातार दोस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपीएफले मध्यान्तरअघि नै ४–० गोलको अग्रता बनाएको थियो । मध्यान्तरपछिको खेलमा एपीएफले थप तीन गोल गर्यो । खेलको नवौँ मिनेटमा एपिएफकी अनिता केसीले पहिलो गोल गरेकी थिइन् । खेलको २५ औँ मिनेटमा सावित्रा भण्डारीले आफ्नो व्यक्तिगत पहिलो गोल गरिन् ।

खेलको ४२ औँ मिनेटमा भण्डारीले नै व्यक्तिगत दोस्रो, खेलको ७४ औँ मिनेटमा भण्डारीले व्यक्तिगत तेस्रो तथा खेलको ८९ औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरेकी थिइन् । यस्तै अनिता केसीले खेलको ३५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् । यसैगरी एपीएफकी सरु लिम्बुले खेलको ७२ औँ मिनेटमा गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दी म्याच सरु लिम्बु घोषित भइन् । एपीएफले पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले हराएको थियो ।

विराटनगरले भने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिकासँग एक एक गोलको बराबरी खेलेको थियो । महिला लिग फुटबलअन्तर्गत आज उदयपुरको चौदण्डीगढी नगरपालिका तथा रौतहटको चन्द्रपुर नगरपालिकाबीच हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । (रासस)

प्रकाशित समय ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु