गृहपृष्ठ कमला ह्यारिस : ‘विश्वको शक्ति राष्ट्र’को उच्च ओहदामा पुग्ने पहिलो महिला

कमला ह्यारिस : ‘विश्वको शक्ति राष्ट्र’को उच्च ओहदामा पुग्ने पहिलो महिला

संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी भएका छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बनेकी छन् । अमेरिकामा यो उच्चस्तरमा पुगेको उनी नै पहिलो महिला पनि बनेकी छन् । उनी पनि राष्ट्रपतिको स्तरमा पुग्न सफल भएको अमेरिकी सञ्चारमाध्यमहरुको प्रतिक्रिया छ ।

विश्वको शक्तिराष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकामा सन् २०१६ को नोभेम्बरमा अमेरिकामा एउटा नयाँ विषयको ठूलो बहस चलेको थियो- के अब अमेरिकाले महिला राष्ट्रपति पाउला ? महिला समानता, लैंगिक समानता तथा नारी अधिकारका साथै मानवअधिकारका बारेमा विश्वलाई नै पाठ पढाउने अमेरिकाले महिला राष्ट्रपति पाउन नसकेको चर्चा उक्त समयमा अमेरिकामा सुरु भएको थियो । विश्वका कैयौं अविकसित र दक्षिण एशियाली राष्ट्रहरुमा कार्यकारी प्रमुखका रुपमा महिलाले हाँकिसकेका अवस्थामा पनि अमेरिकामा महिला राष्ट्रपति नभएको नै उक्त बेलामा चर्चाको विषय थियो ।

अमेरिकामा ४५औँ राष्ट्रपतिको लागि सो निर्वाचन हुन लागेको थियो । अमेरिकी राष्ट्रपतिको यस निर्वाचनको प्रतिस्पर्धामा एक जना महिला नेत्री पूर्व विदेशमन्त्री हिलारी रोधम क्लिन्टन पनि उम्मेदवार रहेकी थिइन् । विश्वको एक प्रमुख शक्ति राष्ट्रको रुपमा परिचित रहेको यस देशको राष्ट्रपति पदमा एक जना पनि महिला आउन सकेका थिएनन् । यद्यपि भारत, दक्षिण कोरिया, अल्जेरिया, ब्राजिल नेपातलगायत विश्वका कैयन् ठूला साना राष्ट्रहरुमा महिलालाई राष्ट्रपति बन्ने अवसर प्राप्त भइसकेको छ । अमेरिकाको ४५औँ राष्ट्रपतिका लागि हुन गइरहेको यस निर्वाचनमा त्यसो त यसअघिका निर्वाचनहरुमा पनि राष्ट्रपतिका लागि महिलाहरुले उम्मेदवारी नदिएका भने होइनन् ।

तर क्लिन्टन अमेरिकी राजनीतिमा एक शक्तिशाली महिला थिइन् । निर्वाचनमा उम्मेदवारी दर्ता एवं प्रचारप्रसारको सुरुवातदेखि नै चुनावी मैदानमा अन्य उम्मेदवारहरु उत्रेका देखिए तापनि रिपब्लिकन पार्टी तर्फका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्यटिक पार्टीकी उम्मेदवार, पूर्वविदेशमन्त्री हिलारी क्लिन्टबीच मात्र प्रतिस्पर्धा भएजस्तो देखियो र यो अवस्था अन्त्यसम्म पनि कायमै रह्यो । प्रचारप्रसारको सुरुदेखि नै अमेरिकी जनता, पर्यवेक्षक र अमेरिकी राजनीतिसँग सरोकार वा चासो राख्ने बाह्य विश्व समूदायले हिलारी क्लिन्टनले जित्ने नै बलियो अनुमान गरेका थिए ।

अमेरिकाको इतिहासमा पहिलोपटक महिला राष्ट्रपति बन्न विजयको नजिकै पुग्न लागेकी क्लिन्टनले अन्तिम क्षणमा पराजयको पीडा भोग्नु पर्‍यो । मत प्राप्तिका रुपमा अगाडि नै रहेकी क्लिन्टन अमेरिकाको मतदानको पराम्पराअनुसार राज्यको हिसाबबाट पछि पर्दै हारेकी थिइन् । विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने संयुक्त राज्य अमेरिकाको इतिहासमा नै पहिलोपटक सशक्त महिला उम्मेदवार चुनावी मैदानमा उत्रनाले विश्वभर नयाँ चर्चाको विषय बनेको यथार्थमा फेरि एक पटक सेलायो । सम्पूर्ण विश्वलाई महिला अधिकारको पाठ सिकाउने अमेरिकाको ४५औं राष्ट्रपति पदमा पनि वर्षौदेखिको राजनितिक इतिहास बोकेकी एउटी महिला विजयी हुन सकिनन् । अमेरिकामा ४५औं राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका नेता डोनाल्ड एक पुरुष नै उदय भयो । महिलालाई अत्यन्त शक्तिशाली देशको राष्ट्रपतिको रुपमा हेर्ने चाहाना बोकेका विश्वका कैयौं महिलालाई नराम्रो अनुभव गरे ।

तर समयको पर्खाइपछि अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बनिन् । जमाइकाली मूलका डोनाल्ड ह्यारिस र भारतीय मूलकी श्यामला गोपालनकी जेठी छोरीका रुपमा ५५ वर्षअघि कमलाको जन्म भएको हो । उनीहरुकी जेठी छोरीका रुपमा कमलाको जन्म भएको थियो । बिहे गरेको केही वर्षमै कमलाका बावु र आमाको सम्बन्ध विच्छेद भएको थियो । पितासँग अलग भएपछि कमला र उनकी बहिनी माया दुवै छोरी आमासँगै हुर्किएका थिए । हाइस्कुलको पढाइ सकिनेबित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गरेकी थिइन् । पच्पन्न वर्षीया कमला ह्यारिसले सुरुमा अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवार हुने बताएकी थिइन् । तर उनी गत डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् । क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी ह्यारिसका पिता जमैकाली नागरिक र आमा भारतीय हुन् । उनकी आमा भारतमा जन्मिएको र पिता जमैकामा जन्मेकाले उनलाई अमेरिकाका लागि अश्वेत तथा अफ्रो-एसियाली पहिलो महिला उपराष्ट्रपतिका रुपमा विश्वमा मिडियाले प्रचार गरेको छ ।

उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । उनले सधैँ आफूलाई आफूलाई ‘एक अमेरिकी’ भन्ने गर्थिन् ।भारतीय-जमैकन मूलकी उनी क्यालिफोर्नियाकी सांसद थिइन् र कुनैबेला त उनले राष्ट्रपतिकै उम्मेदवारका लागि जोन बाइडेनलाई समेत चुनौती दिएको चर्चा पनि व्यापक भएको थियो । पछि उनी राष्ट्रपतिको उम्मेदवारको दाबीबाट हटेपछि पनि उनको नाम चर्चामा नै रहेको थियो । ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता पनि भइसकेकी थिइन् । उनले केही समयमात्र अघि अमेरिकामा देशव्यापी रूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमा सुधार हुनुपर्ने माग पनि राखेकी थिइन् ।त्यस क्रममा पनि उनी चर्चामा आएकी थिइन् । उनले त्यस आन्दोलन ताका ट्रम्प प्रशासनका साथै प्रहरीमा पनि व्यापक मात्रामा सुधार गर्न आह्वान समेत गरेकी  थिइन् ।

कमला ह्यारिसकी आमा श्यामला गोपालन पनि अधिकारको संघर्षमा लाग्ने महिला थिइन् । श्यामलाले मानवअधिकारका पक्षमा लागेर यसैको अभियानमा काम गर्दा छोरी ह्यारिसलाई पनि साथमा लाने गरेकोले उनकै प्रभावले आफू पनि अधिकारको आन्दोलनमा लागेको अनुभव कमलाले समय समयमा मिडियालाई बताउने गरेकी थिइन् । केही समयअघि अमेरिकाका एकजना अश्वेत  नागरिकलाई प्रहरीले गरेको दुर्व्यवहारका कारण अमेरिकाभर भएको आन्दोलनमा पनि कमलाले ट्रम्प प्रशासनको विरुद्धमा र अमेरिकी अश्वेत नागरिकको पक्षमा लागेर काम गरेकी थिइन् ।

कमला अमेरिकामा उच्च पदमा पुग्न सफल भइन् । अब अमेरिकी राष्ट्रपति पदमा महिला पुग्नको लागि एक पाइला मात्र बाँकी भएको छ । उनका यी दायित्वहरु बाँकी नै रहेको भए पनि अमेरिकाजस्तो विश्व राजनीतिमा आफूलाई सधैँ अब्बल दर्जामा राख्न चाहने देशले पहिलो महिला राष्ट्रपति पाउने यस अवसरलाई भने अवसरकै रुपमा प्राप्त गर्नेछ भन्ने अनुमान धेरैले गरिरहेका छन् । (रासस)

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु