गृहपृष्ठ प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक र लज्जास्पद : नेपाली कांग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक र लज्जास्पद : नेपाली कांग्रेस

‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बताएको छ । कांग्रेसले फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहीको नैसर्गिक अधिकार भएको उल्लेख गरेको छ ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेको छ । कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनुचैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ,’ कांग्रेसले सोमबार विज्ञप्तिमार्फत भनेको छ ।

सर्वोच्च अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’को संज्ञा दिइनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको कांग्रेसको ठहर छ । ‘सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो । आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु, प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति हो भने पूर्वप्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो,’ प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका छन् । आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ ।’

प्रधानमन्त्रीको यस्तो प्रवृत्ति दुःखद मात्रै नभएर लज्जास्पद पनि भएको कांग्रेसले भनाइ छ । संसद विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्रजिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिएको छ ।

प्रकाशित समय १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु