गृहपृष्ठ सेनाका बख्तरबन्द गाडीबाट मध्यरातमा चक्रपथ परिक्रमा
सेनाका बख्तरबन्द गाडीबाट मध्यरातमा चक्रपथ परिक्रमा
नेपाली सेनाले सोमबार मध्यरातमा १० वटा बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराएको छ । सेनाको सीतापाइलास्थित युद्धकवच गणले बख्तरबन्द गाडी चक्रपथमा निकालेको हो ।
सेनाले नियमित अभ्यास भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरेकै दिन बख्तरबन्द गाडी चक्रपथमा निकाल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सेनाले नियमित अभ्यास भने पनि पूर्वअधिकृतहरूले भने सेनाका बख्तरबन्द गाडीले यसअघि काठमाडौंको चक्रपथमा फन्को लगाएको विषयमा थाहा नभएको बताएका छन् ।
सेनाले आइतबार एक सूचना सार्वजनिक गरी सोमबार राति चक्रपथ परिक्रमा गर्ने जनाएको थियो । सूचनामा उल्लेख भएअनुसार बुधबार आठै पृतनामा रहेका बख्तरबन्द गाडी बाहिर निकालिनेछ ।
‘नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको, त्यसैगरी ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँदछौँ,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले आइतबार ट्विटरमा लेखेका थिए ।
संविधानविपरीत राष्ट्रपतिलाई दुरुपयोग गरेर संसद् विघटन गरेको प्रधनमन्त्री केपी ओलीको यतिबेला चौतर्फी आलोचना भइरहेको छ । ओलीले अहिले रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफैँ सम्हालिरहेका छन् । यही अवस्थामा बख्तरबन्द गाडीसहित सेनालाई सडकमा निकाल्नुलाई सुरक्षाविदहरूले सेनाको दुरुपयोगको आशंका रुपमा लिएका छन् ।
प्रकाशित समय ०८:२१ बजे

















