गृहपृष्ठ बैतडीमा १७ वर्षीया किशोरी मृत फेला, हत्याको आशंका
बैतडीमा १७ वर्षीया किशोरी मृत फेला, हत्याको आशंका
सांकेतिक तस्बिर
बैतडीमा बिहीबार साँझ एक किशोरी शंकास्पद रूपमा मृत भेटिएकी छन् । दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जंगलमा बीभत्स अवस्थामा फेलापरेको आफन्त शिवराज भट्टले जानकारी दिए ।
बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव फेलापरेको छ । ‘मृतकको शरीरभरि निलडाम र घाउ छन्, कपडा पनि च्यातिएको छ,’ उनले भने । ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए । ‘घटना हुनु निकै दुःखद् छ, घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ उनले भने ।
घटनास्थलकै प्रकृति हेर्दा शंकास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए । ‘बीच जंगलमा शव फेलापरेको छ, कपडा खोलेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा होला,’ उनले भने । घटनास्थललाई सुरक्षित राखिएको खोचलेक प्रहरी चौकीले जनाएको छ ।
घटनालाई गम्भीर रूपमा लिएको र दोषीलाई कानुनी कठघरामा ल्याइने बैतडीका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । ‘किशोरीको कसले किन हत्या गरेको हो भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन,’ उनले भने । घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । (रासस)
प्रकाशित समय ०८:०७ बजे

















