गृहपृष्ठ दुई सर्तका आधारमा राजपा सरकारमा जाने
दुई सर्तका आधारमा राजपा सरकारमा जाने
राष्ट्रिय जनता पार्टी नेपाल पनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै राजपा पनि सरकारमा सामेल हुने गरी छलफल भइरहेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिए । त्यसका लागि राजपाका प्रमुख दुई सर्त सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूरा गर्नुपर्ने उनले बताए ।
संविधान संशोधनमा लिखित सहमति
राजपाको पहिलो सर्त संविधान संशोधनमा लिखित सहमति हुनुपर्ने भन्नेछ । महासचिव झाका अनुसार संविधान संशोधनका लागि राजपासँग पनि नेकपाले लिखित सहमति गर्नुपर्नेछ । यसअघि नेकपाले संविधान संशोधनका लागि लिखित सहमति गरेर संघीय समाजवादी फोरम नेपाललाई सरकारमा भित्र्याएको छ ।
‘राजपासँग पनि लिखित सहमति हुन्छ,’ महासचिव झाले न्युज कारोबारडटकमसँग भने, ‘त्यसपछि हामी पनि सरकारमा जान्छौँ ।’ सत्तारुढ नेकपाका नेताहरुले फोरमसँगको लिखित सहमतिपत्रमा उल्लेख गरिएकै भाषामा राजपासँग सहमति गर्न चाहेका छन । तर, राजपाले अलि स्पष्टता खोजेको छ । आवश्यकताका आधारमा संविधान संशोधन गरिनेछ भन्ने भाषामा आफूहरुले अलि स्पष्टता खोजेको झाले बताए । आवश्यकता वा औचित्यका आधारमा भन्ने शब्द राख्न नहुने उनको भनाइ छ ।
रेशमको रिहाइ
राजपाको अर्को सर्त छ, टीकापुर घटनाका मुख्य अभियुक्त मानेर थुनामा राखिएका राजपा सांसद रेशम चौधरीका रिहाइ । यसअघि प्रधानमन्त्री ओलीले सांसद चौधरीलाई रिहा गर्ने आश्वासन दिएका थिए । प्रधानमन्त्रीको आश्वासनपछि नै सांसद चौधरीले गत चैत २ गते अनशन तोडेका थिए । राजपा नेता चौधरी २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा एसएसपीसहित ७ सुरक्षाकर्मी तथा दुईवर्षे बालकको हत्याका आरोपी हुन् ।
उनले भूमिगत रूपमै राजपाबाट उम्मेदवारी दिएर चुनाव जितेका हुन् । प्रधानमन्त्री ओलीले सांसद चौधरीलाई रिहा गर्ने आफ्नो बाचा पूरा गर्ने विश्वास महासचिव झाले व्यक्त गरे । ‘हामीसँग अनौपचारिक रुपमा नेकपाका नेताहरुले छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘हाम्रा सर्त मान्न उहाँहरु पनि तयार देखिनुभएको छ, त्यसैले हामी सरकारमा जाने कुरा पनि निश्चितजस्तै बनेको छ ।’
प्रकाशित समय ०७:३४ बजे

















