गृहपृष्ठ व्यापारी पोद्दार तानिए ३३ किलो सुन प्रकरणमा
व्यापारी पोद्दार तानिए ३३ किलो सुन प्रकरणमा
३३ किलो सुन प्रकरणमा व्यापारी विमलकुमार पोद्दार पक्राउ परेका छन् । सुन तस्करी तथा सनम हत्या प्रकरणसहित हुन्डीको मुख्य कारोबारीसमेत रहेको आरोपमा पक्राउ परेका उनी अहिले कालिमाटी प्रहरी हिरासतमा छन् । सुन तस्करी तथा सनम हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले पोद्दारलाई उनकै घर डिल्लीबजारबाट पक्राउ गरिएको हो ।
३३ किलो सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवालसँग पोद्दारको सम्पर्क रहेको देखिएपछि उनी प्रहरीको नियन्त्रणमा परेका हुन् । विदेशी मुद्रा तस्करीमा पनि उनलाई प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
२०६९ असोज १९ को त्रिभुवन विमानस्थलमा भारतीय नागरिक विनोदकुमार सोनी दुबई जाने फ्लाई दुबईको उडानबाटै झण्डै एक करोड पच्चिस लाख रुपैयाँ बराबर विभिन्न विदेशी मुद्रासहित पक्राउ परेपछि सोनीले पोद्दारको नाम लिएका थिए ।
त्यतिबेला भारतीय नागरिक सोनी सुन किन्न दुबई जाने क्रममा पक्राउ परेका थिए । सो घटनामा विमानस्थलको सुरक्षा जिम्मेवारीमा रहेका तत्कालीन एसएसपी रविराज श्रेष्ठको नाम जोडिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरीको संलग्नताबारे अनुसन्धान गरेको थियो । विदेशी मुद्रा संकलन गरेर सुन तस्करीका लागि सोनीले पैसा लिएर गएको रहस्य सार्वजनिक भएपछि एसएसपी श्रेष्ठ बर्खास्तीमा परेका थिए ।
अनुसन्धान टोलीका एक सदस्यका अनुसार टोलीले पोद्दार पक्राउ गरेपछि राजस्व चुहावट छानबिनसम्बन्धी संयुक्त संसदीय समितिको प्रतिवेदन र २०६९ सालमा प्रहरीले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएका व्यक्तिका विषयमा अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १९:३६ बजे

















