गृहपृष्ठ मनसुन सुरू भएसँगै बाढी-पहिरोकाे त्रास

मनसुन सुरू भएसँगै बाढी-पहिरोकाे त्रास

सचेत रहन विज्ञको सुझाव

मनसुन शुरु भएको दुई साता भइसक्दा पनि मुलुकभर फैलन नसकिरहेको अवस्थामा आजबाट भने मुलुकभर मनसुन सकृय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय हुँदा नेपालमा विशेष ध्यान पुर्याउनुपर्ने जानकारहरुले बताएका छन् । भूगर्भविद्का अनुसार भूकम्पले क्षति पुर्याएका जिल्लामा बाढीपहिरोको जोखिम उच्च रहेको छ । उनीहरुका अनुसार तीन वर्षअघि गएको शक्तिशाली भूकम्पले चिराचिरा परेको भूभागमा पहिरोको त्रास बढी छ ।

‘शुरुमा कमजोर रुपमा प्रवेश गरेको मनसुन क्रमशः सकृय हुँदै गएपछि बाढीपहिरोको जोखिम पनि बढीरहेको पाइएको छ,’ भूकर्भविद् डा. सुवोध ढकालले भने, ‘भौगर्भिक क्षेत्रको अध्ययनविना निर्माण गरिएको सडकले नै सबैभन्दा बढी पहिरोको संख्या बढेको पाइएको छ ।’

लामो समयदेखि नेपालको पहिरोको विषयमा अध्ययन अनुसन्धान गरिरहेका ढकालले नेपालको भौगोलिक अवस्थाको विषयमा सचेत नहुँदा क्षति हुने गरेको बताए । पछिल्लो समय चर्चामा रहेको नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो पनि भौगर्भिक अध्ययनविना खनिएकाले गएको उनको तर्क छ । यसै सातादेखि मुलुकभर मनसुनी वर्षा हुने भएकाले निरन्तरको वर्षामा सचेत हुनुपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विगतका वर्षहरुमा एलनीनोको प्रभाबले मनसुनी वर्षा कम भएकाले क्षतीपनि कम नै भएको महाशाखाले जनाएको छ । पानी पार्ने वादल कमजोर हुनुलाई एलनीनो भनिन्छ । एलनीनोको प्रभाव नहुँदा वर्षा निरन्तर हुने सम्भावना रहेको र अघिल्ला दुई वर्षभन्दा यो वर्ष मनुसनी वर्षा बढी हुने देखिन्छ ।

जलवायु परिवर्नतका कारण पछिल्ला वर्षहरुमा केही समयमा वर्षा हुने त्यसपछि घाम लाग्ने र फैरी ठूलो वर्षा हुने गरेको छ । यस्तो हुँदा वाढीपहिरोको जोखिम अझ बढी हुने भूगर्भविद् ढकाल बताउँछन् । महाशाखाले मनसुनको पूर्वार्धमा कम बर्षा हुने उतरार्धमा भने बढी वर्षा हुने भएकाले सचेत हुन आग्रह गरेको छ ।

निरन्तर २४ घण्टाको अवधीमा १ सय ४० मिलिमिटर वर्षा भएमा बाढीपहिरोको जोखिम हुने भएकाले महाशाखाले विभिन्न स्थानमा गरेको वर्षा मापन केन्द्र स्थापना गरेर सूचना प्रवाह गरिरहेको छ । यस्तै मुलुकको मुख्य नदीहरुको पानीको वहाव तथा पानीको मात्राको अध्ययन गरी बाढीको जोखिमको अध्ययन गरिरहेको बाढी पूर्वानुमान शाखाले पनि बाढीपहिरोको पूर्वानुमान गरिरहेको छ । शाखाका बाढीपहिरोविद् विनोद पराजुलीका अनुसार वर्षाको आधारमा बाढीपहिरोको जोखिमको पूर्वानुमान गरिनेछ ।

एक दिनमा १ सय ४० मिलिमिटर वर्षा भएको अवस्थामा त्यस क्षेत्रमा पहिरो जानसक्ने र तल्लो तटीय क्षेत्रमा वाढीको जोखिम हुने भएकाले पूर्वसूचनाको संयन्त्रमार्फत सूचित गरिने उनले जानकारी दिए । उनका अनुसार सर्वसाधारणले पनि टोल फ्री नम्बर ११५५ मा असार, साउन भदौं र असोजभरी फोन गरेर सोध्न जानकारी लिन सक्नेछन् ।

‘तपाई बाढी वा पहिरोको जोखिमयुक्त स्थानमा वा नजिकै हुनुहुन्छ भने मोवाइलमा ११५५ नम्बरबाट ‘सतर्क रहनुहोस’ भन्ने अभिप्रायको एसएमएस आउन सक्छ,’ पहिरोविद् पराजुलीले भने, ‘यसरी प्राप्त भएको सूचना वरपरका सबैलाई जानकारी गराउन आग्रह गर्दछु ।’

मुलुकका पूर्वी, मध्य, तथा पश्चिम क्षेत्रका नदी जलाधारहरुमा हल्का देखी मध्यम वर्षा हुने सम्भावना भएको महाशाखाले जनाएको छ । चुरेबाट बहने नदिमा मध्यम जोखिम तर लगातारको हल्का वा मध्यम वर्षाले भिरालो र कमजोर जमिनमा पहिरोको जोखीम हुन सक्नेछ । पश्चिम राप्ती, वबई आसपासका नदीनालाहरुमा मध्यम जोखिम हुन सक्ने हुँदा सतर्क रहन आग्रह गरेको छ ।

शाखाले लगातारको हल्का वा मध्यम वर्षाले मूलुकभरको भिरालो र कमजोर जमिनमा पहिरोको जोखीम बढी हुने बताएको छ । खोला नजिकका एक सयभन्दा बढी र पहाडी क्षेत्रका पाँच सय बस्ती जोखिममा रहेको गृह मन्त्रालयले जनाएको छ । नदीहरुमा पानीको सतह बढ्दै गएको वरिपरिका नागरिक संकटमा परेका छन् । बर्षा अझै जारी रहेकाले सुरक्षित स्थानमा जान मौसमविद्हरुले अपिल गरेका छन् ।

प्रकाशित समय १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु