गृहपृष्ठ सुजाता थापालाई प्रेम प्रस्तावको ओइरो, उनको नोटिसमा को-काे ?
सुजाता थापालाई प्रेम प्रस्तावको ओइरो, उनको नोटिसमा को-काे ?

सुजाता थापा उदयीमान नायिका हुन् । उनले ठूलो पर्दाका दुई वटा सिनेमामा मुख्य भूमिकामै रहेर काम गरिसकेकी छन् । उनी अभिनित ‘स्वर्ग मरो गाउँ’ चलचित्रले खासै बजार तताउन नसकेपनि चलचित्र ‘झमकबहादुर’को चर्चा भने राम्रै छ । उदयपुरे चेली सुजाताले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । उनै सुजाताको पछिल्लो चलचित्र र उनको व्यवसायिक जीवनबारे न्युज कारोबारका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
सबैतिर अहिले विश्वकपको माहोल छ, तपाईंले सपोर्ट गरेको टोली कुन हो ?
मलाई पनि विश्वकप राम्रैसँग लागेको छ । मलाई ब्राजिल मन पर्छ । उसैले विश्वकप जिते हुन्थ्यो झैँ लाग्छ ।
खेलाडीमा को मनपर्छ ?
खेलाडीमा चाहिँ ब्राजिलियन नेयमार जुनियर र अर्जेन्टिनी लियोनल मेस्सी मन पर्छ ।
किन मन पर्छ यी खेलाडी ?
दुबै खेलाडीको फुटबल स्कील मन पर्छ । यीमध्ये पनि मेस्सीको चालचलन र स्वभावबाट धेरै मान्छे प्रभावित भएका छन् । मलाई पनि मेस्सीको खेलसँगै उसको स्वभाव निकै मनपर्छ ।
तपाईं पनि फुटबल खेल्नुहुन्छ ?
होइन । म फुटबल नखेले पनि आफूलाई मन पर्ने टोली र खेलाडीबारे सामान्य जानकारी राख्छु ।
अब तपाईंको व्यवसायिक जीवनको कुरा गरौँ, अहिले के काममा अभ्यस्त हुनुहुन्छ ?
अहिले पूर्ण रुपमा झमकबहादुर चलचित्रको प्रोमोसनमा छु । मेरो टिमसँग विभिन्न कार्यक्रममा सहभागी हुने, मुभिको प्रोमोसन गर्नमा व्यस्त छु । त्यसबाहेक मेरो डिग्री परीक्षाको तयारी गरिरहेकी छु ।
धेरै नायिकाहरु म्युजिक भिडियो हुँदै चलचित्रमा आउँछन् । तपाईं सिधै चलचित्रमा आएर पछि म्युजिक भिडियो खेल्दै हुनुहुन्छ । यस्तो किन ?
चलचित्र अघि नै पनि मैले म्युजिक भिडियो त गरेकी छु । तर, चलचित्रमा आउन धेरै म्युजिक भिडियो गर्नुपरेन । स्वर्ग मेरो गाउँ चलचित्रका लागि प्रस्ताव आयो । मैले पनि स्वीकार गरेँ । तर, त्यतिबेलासम्म म आफूलाई अलि कच्चा नै ठान्थे । आफूलाई जान्ने ठानेको हुन्थेँ भने त्यही चलचित्रपछि मैले अरु नपाउन पनि सक्थेँ । तर, मैले आफूलाई सहयोग गर्न सहकर्मी र सिनियरलाई आग्रह गरेँ । अभिनय राम्रै भएर होला सबैले हौसला प्रदान गर्नुभयो । फलस्वरुप मेरो अभिनयको प्रशंसा भयो । त्यसपछि मैले झमकबहादुर चलचित्रमा अभिनय गर्ने मौका पाएँ ।
हिरोइनले चाहिँ अगाडि बढ्ने हो भने डाइरेक्टर वा निर्देशकसँग निकै निकट सम्बन्ध हुनुपर्छ भनिन्छ नि ?
हो, निकट सम्बन्ध हुनुपर्छ । तर, बाहिर मानिसहरुले अथ्र्याएजस्तो होइन । एउटै टिममा काम गर्ने भएपछि खुलस्त हुनुपर्छ । आपसमा सहयोगी बन्नुपर्छ ।
बाहिर अथ्र्याइने र खुलस्त हुनुपर्छ भनेको के हो ?
धेरै मानिसमा चाहिँ निर्देशक वा निर्मातासँग ‘सुते’पछि मात्रै नायिकाले मुभि गर्न पाउँछन्, अगाडि बढ्छन् भन्ने बुझाइ पाइन्छ । तर, यस्तो बुझाइ गलत हो । हामी पढेलेखेका छौँ । के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुराको भेद गर्न सक्छौँ । फेरि कला बेच्ने हो । शरिर बेच्ने ठाउँ त अन्तै होला नि ।
तपाईंभन्दा अगाडि नै चलचित्रमा जमेका कतिपय चर्चित नायिकाहरुले नै भन्ने गरेका छन्, निर्माता र निर्देशकलाई त रिझाउनै पर्छ ।
मसँग यस्तो अनुभव नभएर होला, मलाई यो कुरा सत्य लाग्दैन ।
भनेपछि तपाईंले अहिलेसम्म निर्माता वा निर्देशक रिझाउनुपरेको छैन ?
परेको छ, तर अभिनयमार्फत । मैले राम्रो अभिनय गरिदिएँ भने उहाँहरु स्वतः खुसी हुनुहुनेछ । किनकि यहाँ मेरोमात्रै करिअरको कुरा छैन । उहाँहरुको करिअरको कुरा पनि छ । उहाँहरु पनि नेपालको नम्बर वान निर्देशक, निर्माता बन्ने उद्देश्यले नै यो फिल्डमा आउनुभएको होला ।
पर्दामा आउन थालिसकेपछि प्रेम प्रस्ताव कतिको आउँछ ?
बढीभन्दा बढी आउँछ । फेसबुक, इन्स्टग्रामलगायतका सामाजिक सञ्जालमार्फत धेरैले आफ्ना भावना पठाउनुहुन्छ । कतिपयले फोन गरेर भन्नुहुन्छ ।
के भन्नुहुन्छ?
त्यही हो, तपाईं मन पर्छ, माया गर्छु भन्नुहुन्छ । कतिपयले एकपटक भेटमात्रै दिनुपर्योसमेत भन्नुहुन्छ ।
तीमध्ये कोही तपाईंको नोटिसमा छन् ?
नोटिसमा हुनुहुन्छ । तर, प्रेमि नै बनाउने किसिमले होइन । कोही चाहिँ साथी बनाउन राम्रो लाग्ने पनि हुनुहुन्छ ।
सेक्सको प्रस्ताव पनि अाउँछ हाेला नि ?
हेर्नुस्, हिरोइन नै नभएका केटीहरुलाई पनि प्रेम र सेक्सको प्रस्ताव कम आउँछ जस्तो लाग्दैन । सामाजिक सञ्जालको दुरुपयोग र कमजोर नियमन प्रणालीका कारण महिलाहरु यस किसिमको ‘ह्यारेसमेन्ट’बाट पीडित छन् । म पनि अछुतो हुने कुरै भएन ।
कसैको प्रस्ताव स्वीकार गर्नुभयो ?
अहिले म करिअर बनाउने मोडमा छु । पढ्दैछु पनि । मैले प्रेम प्रस्ताव नै स्वीकार गरेकी छैन भने सेक्स प्रस्ताव टाढाको कुरा भयो ।
भनेपछि सेक्स गर्दैमा करिअर बिग्रन्छ भन्ने तपाईंको बुझाइ हो ?
म मेरो ध्यान डाइभर्ट गर्न चाहान्न । पढाई सक्न चाहान्छु । चलचित्रमा एक व्यवसायिक र स्वच्छ छवी भएकी नायिकाको रुपमा आफूलाई चिनाउन चाहान्छु ।
तपार्ईं बन्न चाहेजस्तो कोही नायिका छन् ?
मलाई गरिमा पन्त मन पर्छ । उहाँको धेरै कुराबाट म प्रभावित छु ।
किसको विषयमा तपार्इंको धारणा के हो ?
कुन किसिमको किसको कुरा गर्नुभएको हो ? त्यही अनुसारको उत्तर हुने न हो । किस त आफ्ना बुवाआमादेखि साना बच्चासम्मलाई गरिन्छ ।
मानौँ, तपाईं र मैले गर्ने किस ?
हाहा, यस किसिमको किसबारे मेरो धारणाले के अर्थ राख्छ र ? मैले धेरै कुरा जानेकी छैन किसको बारेमा ।
तपाईं कस्तो व्यक्तिलाई किस गर्न रुचाउनुहुन्छ ?
म धेरैतिर रिलेशन राख्ने र त्यस्तो लाग्नेसँग किस त के व्यक्तिगत सम्बन्ध नै बनाउन चाहान्न । मसँग उमेर मिल्ने र मैले रुचाउनेसँग किस गर्नु स्वभाविक लाग्छ । सरसफाईमा विशेष ख्याल राख्ने, अझ दन्तलहर मिलेका केटाहरु आकर्षक लाग्छन् ।
कसैलाई गर्नुभएको छ ?
गरेकी छु । साथीभाई, इस्टमित्रमै पनि योचाहिँ सामान्य हो ।
मैले तपाईंसँग किसको प्रस्ताव गरे भने के गर्नुहुन्छ ?
हाहाहा, सरी भन्छु ।
किन, ममा तपाईंले भनेको क्वालिटी छैन र ?
त्यस्तो होइन । हामी यहाँ अर्कै प्रयोजनका लागि बसेका छौँ । मलाई लाग्छ, तपाईंंहरुकै भाषामा पेसागत मर्यादाको पनि ख्याल गर्नुपर्छ कि ? हाहा ।
जीवनमा विशेष रुपमा कसैलाई प्रेम गर्नुहुन्छ ?
म मेरो परिवारलाई असाध्यै प्रेम गर्छु । मेरो मम्मी, ड्याडी र दाजुभाईलाई ।
स्पेशल कोही ?
त्यस्तो छैन । स्कूल, क्याम्पसतिर केही अनुहार मन पर्थे । मन परेकै अनुहारले पनि प्रस्ताव गरे । तर, मेरो स्वभाव अलि फरक थियो । म त्यति धेरै नबोल्ने र स्कूल, क्याम्पसबाहेक घरबाट बाहिरै ननिस्कने स्वभावकी थिएँ । त्यसैले न मैले कसैलाई लाइन हानेँ न लाइन हान्नेलाई मौका नै दिएँ ।
तपाईंलाई कस्तो केटा मन पर्छ ?
म मेहनती र इमान्दार केटाबाट प्रभावित हुन्छु । त्यसबाहेक देख्दा स्मार्ट, बेबि फेस, चौतर्फी रिलेशन नराख्ने, झुट नबोल्ने केटा राम्रो लाग्छ ।
यति गुण भएको केटा नभेटेरै हो तपाईं खाली बस्नुभएको ?
होइन, अहिले त मैले रिलेशन बनाउन चाहेकै छैन नि त । त्यही भएर हो ।
तपाईंलाई कसैले सेक्सी भनेको मन पर्छ कि राम्री भनेको मन पर्छ ?
स्वभाविक रुपले राम्री भनेको मन पर्छ ।
तपाईंलाई चाहिँ के लाग्छ, तपाई सेक्सी कि राम्री ?
हाहा, जटिल प्रश्न हो यो । राम्रोपन मान्छेको गुणमा भर पर्छ, जुन अरुले मूल्यांकन गर्छन् । सेक्सी हो वा होइन व्यवहार र हाउभाउमा भरपर्छ, त्यो पनि अरुले नै बुझ्ने कुरा हो ।
तपाईं अलि घमण्डी पनि हुनुहुन्छ रे नि त ?
‘टिट फर ट्याट’ गर्ने खाल्की चाहिँ छु । मलाई कसैले वास्ता गर्दैन भने म पनि उसलाई वास्ता गर्दिँन । कसैले मेरो केयर गर्छ भने त्यही अनुसारको व्यवहार गर्छु । यसलाई घमण्ड भनिन्छ र ?
अब झमकबहादुरको कुरा गरौँ, के छ सिनारियो ?
बजारमा व्यापक हल्ला छ । दर्शकहरु यो चलचित्रको ब्यग्र प्रतिक्षामा हुनुहुन्छ । चलचित्र पनि राम्रो बनेको छ । हाम्रो टिमको अपेक्षा छ, यसले सिनेजगतमा एउटा इतिहास बनाउनेछ ।
युट्युबमा गालीको बर्षा छ, त्यताबाट चाहिँ इतिहास बनायो होला होइन ?
चर्चा भएरै त त्यस्तो हुने हो । बजारमा जे कुराको पनिदुई थरी टिप्पणी हुन्छ, राम्रो र नराम्रो । झमकबहादुरको पनि मिश्रित नै छ प्रतिक्रिया ।
त्यही प्रकृतिको चलचित्र यसअघि नै बनिसकेको छ, ट्रेलर हेर्दा त हिन्दीबाट सर्लक्कै चोरेको हो कि जस्तो लाग्छ नि ?
ट्रेलर हेरेर पुरै मुभि बुझ्न सकिँदैन । त्यसका लागि हलसम्म जानुपर्छ । म यति चाहिँ भन्न सक्छ कि झमकबहादुर हेर्न जाने दर्शकले निराश भएर फर्कनुपर्दैन, कतिबेला सकिएला भनेर कुर्नुपर्दैन । यो मुभि साउन १८ गते रिलिज हुँदैछ । यही महिनाको अन्तिमतिर चलचित्रको प्रेमसम्बन्धी गीत पनि सार्वजनिक हुँदैछ ।
झमकबहादुरको टोलीबारे केही भन्नुहुन्छ ?
मैले काम गरेकोमध्ये अहिलेसम्मकै बेस्ट टोली हो । एकदमै मिलनसार, सहयोगी, प्ररणादायक र ऊर्जाशील टोली छ । त्यसैले त झमकबहादुुरजस्तो मूभि बनेको छ । निर्माता मीनकुमार तामाङ, सहनिर्माता गोपिला डल्लाकोटी, निर्देशक भोमन कट्वाल, सहकर्मी एवं अग्रज कलाकारहरु अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, कल्याण अधिकारी, कोनिका घिमिरे हाम्रो टिमका हस्ती हुन् ।
प्रकाशित समय १०:१२ बजे