गृहपृष्ठ चारजना मरिच तस्कर थुनामा

चारजना मरिच तस्कर थुनामा

सांकेतिक तस्बिर

राजश्व अनुसन्धान विभाग काठमाडौंले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ । अन्य एक व्यापारीलाई काठमाडौं लगिएको छ ।

गत जेठ २१ गते प्रहरीले वीरगञ्ज भन्सार नाकाबाट १२ टन २ सय किलो मरिच भारततर्फ तस्करी गर्न लैजाने क्रममा वीरगञ्ज महानगरपालिका– ५ कुम्हाल टोलमा पक्रेकाे थियाे । प्रहरीले मरिचसँगै सञ्जय अग्रवाल पटवारी, भारतीय ट्रक चालक धर्मेन्द्र कुमार, भन्सार क्लियरिङका एजेन्ट वीरेन्द्र गुप्ता र दिलीप श्रीवास्तवलाई पक्राउ गरी थुनामा राखेको हो । उत्तम अग्रवाललाई पर्सा प्रहरीमार्फत सोधपुछका लागि काठमाडौं पठाइएको छ ।

मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटी रकम तीन करोड ७६ लाख ८० हजार बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको राजश्व अनुसन्धान विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले जानकारी दिए । उहाँलाई हाल नख्खु जेलमा राखिएको छ ।

राजश्व विभागले थालेको प्रारम्भिक अनुसन्धानका क्रममा अग्रवाल दोषी पाइएको थियो । एक वर्षदेखि वीरगञ्जसहित आसपासका नाकाबाट ठूलो परिमाणमा विदेशबाट आयातित मरिच महंगोमा बेच्न वीरगञ्जका व्यापारी सक्रिय थिए । गत जेठ २१ गते राति वीरगञ्ज भन्सार नाकाबाट भारतीय ट्रकमा भारत पठाउन लागिएको १२ टन २ सय किलो मरिच प्रहीले बरामद गरेको थियो ।

निर्देशक पोखरेलसहितको टोलीले वीरगञ्जको दुईवटा व्यापारिक प्रतिष्ठानमा छापा हानी कागजपत्र जफत गरेको थियो । तेस्रो मुलुकबाट मरिच ल्याई व्यापार गर्ने ठूलो समुह वीरगञ्जमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।

(रासस)

प्रकाशित समय १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु