गृहपृष्ठ भक्तपुरका कैयौं बस्ती डुबानमा : ३ को मृत्यु, १५ घर भत्किए
भक्तपुरका कैयौं बस्ती डुबानमा : ३ को मृत्यु, १५ घर भत्किए
सांकेतिक तस्बिर
अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा परे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भएकाे छ । घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन हजारौं बासिन्दा बिचल्लीमा परेका छन् ।
राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको थियो । नगरकोट, बागेश्वरी, छालिङ्ग, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एक मात्र निकासका रुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको हो ।
डुबानबाट अथाह क्षति
हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुर नगरपालिकाको जगाती, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् । यहाँका टहरा र माटोका घरहरु भत्किएका छन् भने जगातीस्थित सिद्धिस्मृति अस्पताल डुबानमा परेको छ ।
डुबानका कारण अस्पतालको उपचार प्रभावित हुनुका साथै आकस्मिक कक्ष बन्द भएको छ । प्राविधिक सामानहरुमा समेत क्षति पुगेको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिए ।
त्यसैगरी डा. इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको र यन्त्र उपकरणमा क्षति पुगेको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए । भक्तपुरको राम मन्दिर र सँगैको शान्ति निकेतन मावि डुबानमा परेपछि पढाइ बन्द भएको छ ।
मध्यपुर थिमी नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र पूरै डुबानमा परेको छ । जमीन सतहबाट आठ फिट माथिसम्म पानी आएपछि विशेषगरी भुइँतला घरमा बस्नेहरुको सुरक्षाकर्मी र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उद्धार गरेको थियो ।
रातिदेखि नै पानी बस्तीमा पसेको थियो भने बिहानीपख बस्तीमा पानीको सतह बढ्दै गएको थियो । यहाँका बासिन्दाको भुइँतलाको सामानहरुमा क्षति पुगेको छ । बहुतले घरका मानिस बाहिर निस्कन नसक्दा कार्यालय, व्यवसाय र विद्यालय जाने मानिसहरु घरमै रोकिए । भुइँतलासम्म डुबानमा परेपछि त्यहाँका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिएको थियो ।
सूर्यविनायक नगरपालिका क्षेत्रको सिरुटार, बालकोट र कटुञ्जे क्षेत्रमा बाढी पसेर विनाश गरेको छ । कौशल्टार पुलमा बाढीले क्षति पुर्याएको छ भने बालकोट, कौशलटार, सागबारी, कटुञ्जे क्षेत्रका माटोका भुइँतला घर र टहराहरु बगाएको छ । गोठहरुसँगै गाई, बंगुर, कुखुरा, बाख्राहरुसमेत पानीले बगाएको छ ।
बाढीका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति र पशुपंक्षीको क्षति भएको तर के कति संख्यामा क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेको प्रहरीले बताएको छ । मध्यपुर अस्पताल, एसएसकलेज, सिबर्ड कलेज, अक्सफोर्ड स्कूल र ग्लोरी स्कूल डुबानमा परेका छन् भने डुबानमा परेका बस्तीका बासिन्दालाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्नुका साथै डुँगा सञ्चालन गरेर सुरक्षित स्थानमा पुर्याइएको थियो ।
स्थानीय बासिन्दाहरु दिउँसो अबेरसम्म पनि सहज रुपमा बाहिर निस्कन सकेका छैनन् । बजारसमेत डुबानमा परेकाले सयौं व्यापारीको खाद्यान्न, विद्युतीय सामान र भाटभाटेनी सुपर मार्केटका सामानहरु क्षति भएका छन् । डुबान क्षेत्रका एक दर्जन विद्यालय बन्द भएको छन् ।
यता मनोहरा सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । जडीबुटीस्थित मनोहरा खोला किनारामा रहेको सुकुम्वासी बस्ती पूरै डुबानमा पर्दा यहाँका बासिन्दाले राति १ बजेदेखि जागा बस्नु परेको स्थानीयबासीले बताएका छन् ।
सात घण्टापछि खुल्यो राजमार्ग
डुबानका कारण सडकमाथि तीन फिटसम्म पानी बगेपछि मध्यपुर थिमी शंखधरचोकदेखि सूर्यविनायकसम्म बन्द रहेको अरनिको राजमार्ग सात घण्टापछि सञ्चालन भएको छ । बिहान ५ देखि बन्द राजमार्ग मध्याह्न १२ बजेपछि सञ्चालनमा आएको थियो । बन्द अवधिभर राजमार्गमा यातायातका साधन रोकिँदा यात्रुहरु अलपत्र परेका थिए ।
तीनको मृत्यु, १५ घर भत्किए
अविरल वर्षाका कारण आएको पहिरोले घर थिच्दा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार मृत्यु हुनेमा ७० वर्षीया हीरा लामा, उनकी पत्नी ६५ वर्षीया पानमाया लामा, नातिनी २ वर्ष ६ महिनाकी सम्पदा लामाको मृत्यु भएको छ । छोरा बुहारी भने पक्कीघरमा बसेकाले जीवितै रहेको प्रहरीको भनाइ छ । राति पहिरोले थिचेर मृत्यु भए पनि परिवारले भने बिहान मात्रै थाहा पाएर शव निकालिएको थियो । मृतक तीनै जनाको शव भक्तपुर अस्पतालमा राखिएको छ ।
पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङ्गमा दुई गरी १५ वटा घर भत्किएको छ भने बाढीले कति टहरा र माटोको घर भत्काए भन्ने तथ्यांक आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ । बाढीमा कति धनसम्पत्तिको क्षति भयो भन्ने यकिन तथ्यांक केही दिनपछि आउने बताइएको छ । पहिरोमा परेका र बास नभएकाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले पाल, भाडाकुँडा लगायतका सामग्री वितरण गरेको छ ।
त्यसैगरी, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुखहरु सहितको टोलीले आज बाढी, पहिरो र डुबान क्षेत्रको निरीक्षण गरेको छ ।
टोलीले चाँगुनारायण नगरपालिकाको कुइँकेल गाउँमा पुगेर मनोहरा नदीले कटान गरी पुर्याएको क्षतिको अनुगमन गर्याे । धार परिवर्तन गरी बस्ती नजिकै आएको मनोहरा नदीको कटानले बस्ती जोखिममा पारेकाले तत्कालै बस्ती सुरक्षित गर्न आवश्यक पहल थाल्न स्थानीयवासीले टोलीसँग माग गरेका छन् ।
(रमेश गिरी/रासस)
प्रकाशित समय १७:२६ बजे

















