गृहपृष्ठ हामीलाई परिचयपत्र होइन, चामल र पैसा देऊ : राउटे
हामीलाई परिचयपत्र होइन, चामल र पैसा देऊ : राउटे
कर्णाली प्रदेश विशेषगरी दैलेखका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले स्थायी परिचय पत्र प्राप्त गरेका छन् । दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक राउटे समुदायलाई स्थायी परिचयपत्र वितरण गरेको हो ।
शनिबार एक कार्यक्रम गरी गुराँस गाउँपालिकाले ४२ घरधुरीमा रहेका एक सय ४९ जना राउटेलाई स्थायी परिचयपत्र वितरण गरेको छ । तर, परिचयपत्र ग्रहण गर्दा राउटेहरु खुसी देखिएनन् । ‘हामीलाई परिचयपत्र होइन, चामल र पैसा देऊ,’ परिचयपत्र लिने क्रममा राउटे समुदायका पूर्वमुखिया मैनबहादुर शाहीले भने, ‘स्थायी परिचयपत्रले हाम्रो समस्या समाधान हुँदैन, हाम्रा जनता भोकै छन् ।’

राउटे समुदायका कति त परिचय पत्र वितरण कार्यक्रममा उपस्थितसमेत भएनन् । लोपोन्मुख जाति राउटेले अहिलेसम्म सरकारबाट कुनै पनि परिचयपत्र लिएका थिएनन् । राउटे समुदायलाई परिचयपत्र वितरण गर्न सामाजिक सेवा केन्द्र सोसेक नेपालले समेत सहयोग गरेको थियो । राउटे समुदायले स्थायी परिचयपत्र पाएपछि अब सोही परिचयपत्रका आधारमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् ।
स्थायी परिचयपत्रमा नाम, थर, जन्ममिति, ठेगाना, बुवा, आमाको नाम र पति, पत्नीको नाम उल्लेख छ । राउटेलाई परिचयपत्र वितरण गर्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन, सामाजिक सुरक्षा भत्तामा एकरुपता ल्याउन र नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरेको बताए ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदायलाई राज्यको मूलधारमा ल्याउन परिचयपत्रले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । शनिबार गुराँस गाउँपालिका–८ स्थित पातलेखोलामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर परिचयपत्र वितरण गरिएको हो ।

प्रकाशित समय १७:०८ बजे

















