गृहपृष्ठ राउटेमा सांस्कृतिक द्वन्द्व : युवा भन्छन्- बदलिनुपर्छ, बूढापाका भन्छन्- हुँदैन

राउटेमा सांस्कृतिक द्वन्द्व : युवा भन्छन्- बदलिनुपर्छ, बूढापाका भन्छन्- हुँदैन

raute-newskarobar1

 

नेपालको पश्चिमी क्षेत्रमा मुख्य बसोबास रहेको राउटे फिरन्ते समुदाय हो । नेपालको लोपोन्मुख जातिका रुपमा वर्गीकृत यो समुदायले अहिलेसम्म आफ्नो संस्कृति धान्दै त आएको छ । तर, के आगामी दिनमा पनि त्यसले निरन्तरता पाउला ? यो चासो अन्य क्षेत्रमा त उठ्दै आएको छ नै, आफूलाई जंगलका राजा ठान्ने राउटेभित्रै पनि यसले प्रवेश पाएको छ ।

नेपालको मुख्यतः कर्णाली प्रदेशको पनि दैलेख र सल्यानमा बसोबास गर्ने राउटे समुदाय आजभन्दा २० वर्षअघि जसरी जीवन निर्वाह गरिरहेको थियो, अहिले पूर्णरुपमा त्यसको अनुसरण गर्न सक्ने अवस्थामा छैन । विलासिताप्रति मोह नभए पनि समाजको आधुनिकताले राउटेहरुलाई पनि पछि–पछि डोर्याइरहेको छ ।

 

को हुन् राउटे ?
सरकारी वर्गीकरणअनुसार राउटे नेपालका लोपोन्मुख आदिवासी हुन् । कर्णाली प्रदेशको दैलेख र आसपासका जिल्लामा मुख्य बसोबास गर्ने यिनीहरु फिरन्ते जीवन जिउँछन् । नेपाली भाषा राम्रोसँग बोल्ने सीप भएका राउटेहरुको आफ्नै छुट्टै भाषा पनि छ । खाम्जी राउटेले बोल्ने भाषा हो, यो भोटबर्मेली भाषा परिवारअन्तर्गत पर्छ । कर्णाली, महाकाली, सेती, भेरी तथा राप्ती आसपासका क्षेत्रमा बसोबास गर्ने भए पनि सल्यान र दैलेख यिनीहरुको मुख्य थातथलो हो ।

 

जनजीवन

राउटे फिरन्ते आदिबासी हुन् । यिनीहरुलाई फिरन्ते हुन उनीहरुकै संस्कारले पनि जोडबल गरिरहेको छ । राउटे कुनै पनि स्थानमा त्यतिबेलासम्म अडिन्छन्, जतिबेलासम्म सो समुदायका कसैको मृत्यु हुँदैन । अर्थात्, समुदायमा रहेका कसैको पनि मृत्यु हुनासाथ उनीहरु आफू बस्दै आएको ठाउँ छाड्छन् र अर्काे ठाउँमा पुग्छन् । राउटेहरुले अवलम्बन गर्दै आएको यही परम्परागत पक्षले उनीहरुलाई फिरन्ते बनाइरहेको छ ।

सरकारी आँकडाअनुसार एक हजारभन्दा कम संख्यामा रहेका राउटे सधैं नै चर्चाको केन्द्रमा रहन्छन् । जनसांख्यिक दृष्टिले कमजोर र सामाजिक रुपले पिछडिएको भए पनि उनीहरुलाई उनीहरुकै संस्कृतिले पटक–पटक चर्चामा ल्याउने गरेको छ ।

यिनीहरु बाटो लागेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन्, मूलको पानीमात्र खान्छन् । सिकार खेलेर बिहान–बेलुकाको छाकको जोहो गर्ने राउटेहरुमा ‘सर्ट, पाइन्ट लगाएको मान्छे भेटिएमा सिकार पर्दैन’ भन्ने विश्वास छ । तर, राउटेको यो संस्कार पछिल्लो पुस्ताले कति अनुशरण गर्छ, त्यसमा एउटै उत्तर नआउन सक्छ । तर, सिकार नपरेमा वा नभेटिएमा ‘ईश्वर रिसाएको’ ठान्ने प्रचलन अद्यापि छ ।

 

आयस्रोत
राउटेको प्रमुख आयस्रोत उनीहरुको सीपमा आधारित छ । जंगलमा बसोबास गर्ने यो जाति काठका भाँडाकुँडा बनाउँछन् र गाउँ तथा सहरमा ल्याएर अन्नसँग साट्छन् । उनीहरु आफूले निर्माण गरेका काठका भाँडाकुँडा पैसासँग साँट्दैनथे । किनकि, उनीहरुमा ‘पैसा छुँदा पाप लाग्छ’ भन्ने सोच थियो । तर, यसमा अहिले धेरै परिवर्तन आइसकेको छ, राउटे पनि पैसामुखी बन्दै गएका छन् ।
उनीहरु माग्नसमेत जान्छन् । पछिल्लो समय राउटे सरकारले उपलब्ध गराएको भत्ता लिन्छन् । यी विविध कुराको संगमका रुपमा राउटेहरुको आयस्रोत अडेको छ ।

 

अस्थायी बसोबास
बसिरहेको ठाउँमा कुनै एक सदस्यको मृत्यु हुनेबित्तिकै बसाइँ सर्नु राउटेहरुको सांस्कृतिक बाध्यता हो । जसले गर्दा उनीहरुलाई कुनै निश्चित स्थानमा स्थायी हुन दिँदैन । अर्कोतर्फ सिकार तथा कन्दमूलमा अडेको जीवनका कारण पनि कुनै एक स्थानले राउटेको आवश्यकता परिपूर्ति नगर्न सक्छ ।

कुनै स्थानमा लामो समयसम्म बसोबास गर्दा उक्त स्थानमा कन्दमूल तथा सिकार भेट्न छाडियो या मानिसको चहलपहल बढ्न थाल्यो भने उनीहरु बसाइँ सरिहाल्छन् । त्यसैले राउटेको बसाइँ सर्ने क्रमले कुनै न कुनै रुपमा निरन्तरता पाइ नै रहेको हुन्छ ।

 

संस्कृति

माटो र भुयार राउटेहरुका कुलदेवता हुन् । हिन्दू धर्मावलम्बी यिनीहरु सूर्यलाई मुख्य देवता मान्छन् तर पूजा गर्दैनन् । भुयार र दारे मस्टाको पूजा गर्न भने छुटाउँदैनन् । कुनै सदस्यको मृत्यु भएमा बाँदर मार्ने जालमा बेरेर गाड्ने र उक्त स्थान छाडेर अन्यत्र बसाइँ सर्ने गर्छन् ।

माघी र दशैं राउटेहरुको मुख्य पर्व हो भने बालक जन्मदा १२ दिनमा न्वारान गर्ने प्रचलन पनि यो समुदायमा छ । मृत्यु भएको सदस्यलाई बाँदर मार्ने जालमा राखेर गाडेपछि बसाइँ सर्छन् तर श्राद्ध, बरखी जस्ता हिन्दू परम्परा मान्दैनन् ।

raute-youth-newskarobar

 

सांस्कृतिक परिवर्तन

भनिन्छ– युवा समुदाय परिवर्तन रुचाउँछ । यो भनाइ राउटे समुदायमा पनि लागू हुन्छ । हुन त युवा वर्गले मात्रै परिवर्तनका कुरा अगाडि बढाएको भने होइन । केही समयदेखि राउटेहरु विस्तारै परिवर्तनलाई आत्मसात् गर्दै आएका छन् ।

केही समय पहिला बजार आएका राउटेलाई हामीले फोटो खिच्नका लागि आग्रह गर्याैं । तर, उनीहरुले फोटोको पोज दिन पैसा मागे । केहीबेरपछि एउटा होटलभित्र छिरे र चाउमिन खाए । हेर्दा सामान्य जस्तो लाग्ने भए पनि यो ठूलो सांस्कृतिक परिवर्तन हो ।

राउटेहरु काठमाडौंसमेत आएका छन् । उनीहरुले काठमाडौं आएर प्रधानमन्त्रीलाई भेटेका थिए । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त उनीहरुलाई समाजमा आएर बस्न र बालबालिकालाई शिक्षादिक्षा दिलाउन आग्रह नै गरेका थिए । त्यसबेला उनीहरुले स्वीकार गरेनन् । तर, अब स्थिति त्यस्तो छैन । राउटे युवा गाउँसमाजमा बस्नेतर्फ रुचिकर देखिन्छन् । तर, यसमा अवरोध सिर्जना गर्दैछन्, पाका उमेरका राउटेहरु । उनीहरु यसरलाई अपराध मान्छन् ।

राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) का अनुसार राउटेमा दुईखालको संस्कृति छ । ‘बूढाबूढी आफ्नो परम्परा छोड्नै चाहँदैनन् तर बालबालिका र युवायुवती भने पढ्न, लेख्न र स्थायी बसोबाससमेत गर्न चाहन्छन्,’ १४ वर्षदेखि राउटे समुदायमा काम गर्दै आएकी र ‘राउटेकी भान्जी’ भनेर चिनिने खड्काको अनुभव हो यो ।

राउटेमा परिवर्तनको चाहना नभएको होइन, तर उनीहरु सांस्कृतिक परिबन्ध छन् । ‘राउटे युवा कोशी, सन्दुक बनाउन जान्दैनन्,’ उनले भनिन्, ‘बरु नयाँ ढंगले बाहिरी संसारमा जिउन चाहन्छन्, पढ्न चाहन्छन्, अरु सीप सिक्न चाहन्छन् र जागिर खान चाहन्छन् ।’

यो सांस्कृतिक द्वन्द्वले राउटे समुदायलाई सामाजिकीकरण गराउन सक्ला ? के राउटे युवामा बढ्दै गएको आधुनिकता र सामाजिकीकरणको भोकले उनीहरुलाई गाउँ–समाजमा बस्ने वातावरण मिलाउन सक्ला ? त्यो भने भविष्यले बताउनेछ ।

raute-newskarobar2

 

यी समाचार पनि पढ्नुहोस्

राउटेको बदलिँदो जीवनशैली : अचेल पैसा छुँदा पाप लाग्दैन

हामीलाई परिचयपत्र होइन, चामल र पैसा देऊ : राउटे

राउटे युवाको शिक्षा मोह : बस्तीमा मास्टर ल्याउनुपर्यो

 

प्रकाशित समय १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु