गृहपृष्ठ मुख्यमन्त्री गुरुङ भन्छन्– गण्डकीमा ८५ वटा फुटबल मैदान बनाउँछौं
मुख्यमन्त्री गुरुङ भन्छन्– गण्डकीमा ८५ वटा फुटबल मैदान बनाउँछौं
मेसी, नेइमार जस्ता खेलाडी उत्पादनमा जुटिसक्यौं : एन्फा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले खेल क्षेत्रबाट ठूलो अािर्थक लाभ लिन सकिने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यनीति, ग्रासरुट, विधान र नियमावलीसम्बन्धी अन्तक्र्रियामा मुख्यमन्त्री गुरुङले खेल क्षेत्रबाट ठूलो आर्थिक लाभ लिन सकिने भएकाले लगानी बढाउन आवश्यक भएको बताएका हुन् ।
खेलकुदमा पनि फुटबल सबैभन्दा बढी लोकप्रिय भएकाले यसको विकास र विस्तार गरी नया खेलाडी उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उनले बताए । ‘स्थानीय र संघीय सरकारको सहयोग र एन्फाको समन्वयमा गण्डकी प्रदेशमा तत्काल ११ वटा फुटबल मैदान बनाउँछौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘खेलकुदको विकासका लागि ढिलो–चाँडो गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फुटबल मैदान निर्माण गर्नेछौं ।’
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा करिब चार सयवटा फुटबल मैदान निर्माणका लागि विभिन्न क्षेत्रबाट माग आएको बताए । ‘अब हामी गणेश थापालाई दोष देखाएर उम्किन पाउँदैनौं,’ उनले भने, ‘नेपाल नयाँ युगमा प्रवेश गरिसकेकाले आफ्नो योग्यता र क्षमता देखाएर खेलकुदको माध्यमबाट राष्ट्रियतालाई जोड्दै जानुपर्छ ।’
नेपालमा हालसम्म अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका फुटबल र क्रिकेट मैदान एउटै नहुनु दुःखद् भएको उनले बताए । ‘पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरी भारत र पाकिस्तानबीचको खेल सञ्चालन गर्न सके नेपालले खेल पर्यटनबाट ठूलो आर्थिक लाभ लिन सक्छ,’ मुख्यमन्त्री गुरुङले भने । सरकार मुस्ताङमा प्यारापिटसहितको फुटबल मैदान निर्माण गर्न जुटिसकेको उनले जानकारी दिए । सरकारले पोखरामा अन्तर्राष्ट्रिय खेलकुदको बहुद्देश्यीय भवन निर्माण गरिछाड्ने प्रतिबद्धता उनले जनाए ।
मेस्सी र नेइमार जन्माउँछाैं
एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबल खेलको विकास र विस्तारका लागि आफूहरु नयाँ ढंगले लागिपरेको बताए । ‘एन्फालाई कानुनी रुपमा बलियो बनाउन हामी जुटेका छौं,’ उनले भने, ‘एन्फाको आर्थिक नियमावली बनाएर आर्थिक अनियमितता अन्त्य गरिनेछ ।’
फुटबलको जग हाल्न ६ देखि १२ वर्ष उमेर समूहका खेलाडीलाई ४५ जिल्लामा प्रशिक्षण दिइने उनले जानकारी दिए । ‘भदौ २७ गते बालदिवसको अवसरमा खेलाडी छनौट गरी प्रशिक्षण सुरु गर्छौं,’ अध्यक्ष शेर्पाले भने, ‘मेसी, नेइमार जस्ता खेलाडी उत्पादन गर्न ग्रासरुटबाटै अभियान सुरु गर्दै छौं ।’ कास्कीमा ६० प्रशिक्षार्थी क्षमताको फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्ने अध्यक्ष शेर्पाले उद्घोष गरे ।
कार्यक्रममा फुटबल खेलको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याएको भन्दै पूर्वखेलाडी खेम गुरुङ र फुटबल प्रशिक्षक शम्भु केसीलाई सम्मान गरिएको छ ।
प्रकाशित समय १६:२३ बजे
















