गृहपृष्ठ श्मशान घाटलाई डम्पिङ साइट बनाएकोमा रुष्ट
श्मशान घाटलाई डम्पिङ साइट बनाएकोमा रुष्ट
विराटनगर–६ स्थित किराँतहरुको श्मशान घाटलाई डम्पिङ साईट बनाइएकोमा सरोकारवालाले विरोध जनाएका छन् । श्मशान घाटको सरसफाई गर्न पुगेका सरोकारवालाले चिहानहरु फोहोरको डंगुरमा पुरिएको फेला पारेपछि विरोध जनाएका हुन् ।
किराती समुदायले वि.सं. २०५४ यता सो ठाउँमा मृतकको अन्त्येष्टि गर्दै आएका छन् । विराटनगर महानगरपालिकाले भने सोही ठाउँमा नगरक्षेत्रमा उत्पादन हुने फोहोर बिसर्जन गर्दै आएको छ ।

श्मशान घाट जस्तो पवित्र स्थानमा फोहोर थुपारिएका कारण आफूहरुको मृत पितापूर्खाको अपमान भएको र चिहान पुरिएको किराँत राई यायोक्खाका सल्लाहकार बि.बि.थुलुङ राईले बताए । फोहोरको डंगुरमा ५ दर्जन बढी चिहान पुरिएको उनले जानकारी दिए । उनले फोहोरको व्यवस्थापन अन्यत्र गर्नुपर्ने माग समेत गरेका छन् । आदिवासी दिवसको पूर्व सन्ध्यामा श्मशान क्षेत्रको सरसफाई गरिएको छ ।
दिवसको पूर्वसन्ध्यामा आयोजित साताव्यापी कार्यक्रम अन्र्तगत श्मशान घाटको सरसफाई गरिएको नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्, विराटनगरका अध्यक्ष सुरेशसिंह गन्गाईले जानकारी दिए ।
प्रकाशित समय १४:११ बजे

















