गृहपृष्ठ रामशरण बोगटी : जडिबुटी उत्पादकदेखि ब्रोकरसम्म

रामशरण बोगटी : जडिबुटी उत्पादकदेखि ब्रोकरसम्म

 

नुवाकोटको तुप्चेका रामशरण बोगटी कक्षा ८ मा पढ्दा भिनाजुकहाँ बस्थे । भिनाजुको संगतले उनलाई जडिबुटी व्यापार गर्न सिकायो । १७ वर्षको उमेरदेखि जडिबुटी व्यापारमा लागेका बोगटी ४८ वर्षको हुँदासम्म त्यसैलाई निरन्तरता दिइरहेका छन् ।

जडिबुटी व्यापारमा सरकार र प्रहरी प्रशासनको व्यवहारबाट दिक्क भएर उनले एकपटक हेवी इक्युप्मेन्ट आयात र बिक्रीमा पनि हात नहालेका होइनन् । ‘तर झन् फसियो, सरकारले नामसारी रोकिदिएकाले ठूलै घाटा व्यहोर्नुपर्यो,’ उनले भने, ‘र फेरि जडिबुटी व्यापारतिरै फर्किएँ ।’

बोगटी बर्सेनि पाँच–सात करोडको जडिबुटीको कारोबार गर्छन् । तर, जडिबुटी व्यापारको उनको शैली भने पूरै फरक छ । विगतमा नुवाकोट, रसुवा, धादिङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रे र मकवानपुरका केही भागमा जडिबुटी खेतीका लागि प्रोत्साहन गर्ने र आफैं उत्पादकसमेतको भूमिका रहने उनी अहिले ‘ब्रोकर’ बनेर जडिबुटी किनबेच गर्छन् । अर्थात्, अहिले अजरबैजान, भुटान, भारतलगायतका देशबाट जडिबुटी किनेर ल्याउने अनि चीन निर्यात गर्ने भूमिकामा उनी छन् । ‘तर कारोबारको भोल्युम भने घटेको छैन,’ उनले भने ।

ramsaran2-newskarobar

उत्पादकबाट ‘ब्रोकर’
बोगटीलाई उत्पादकबाट ब्रोकर बनाएको २०७२ सालको महाभूकम्पले हो । भूकम्पप्रभावित जिल्लाका बासिन्दाले राहतको पछाडि लागेर जडीबुटी उत्पादनमा बेवास्ता गर्न थालेपछि उनी ब्रोकर बन्न बाध्य भएका हुन् । ‘पहिला नेपालमा उत्पादित पाँच–सात करोडको जडिबुटी भारत र केही चीन निकासी गर्थें,’ उनी भन्छन्, ‘अचेल भारतलगायतका देशमा उत्पादित त्यति नै मूल्यको जडिबुटी नेपाल भित्र्याउँछु र चीन निकासी गर्छु ।’ भूकम्पप्रभावित जिल्ला मध्यनेपालको जडिबुटी उत्पादनको मुख्य थलो रहेको उनले बताए । भूकम्पपछि चिराइतो, जटामसी, निर्मसी, बोझो, झ्याउ, पदमचाल, कुड्की, सतुवालगायतका जडिबुटी उत्पादन तथा संकलन पाँच प्रतिशतमा सीमित भएपछि उनले जडिबुटी व्यापारको नयाँ शैली अपनाएका हुन् ।

 

भारत र चीनको रोजाइ बेग्लै
नेपालको जुडिबुटीको मुख्य बजार भारत र चीन नै हुन् । नेपालले जडिबुटी व्यापार गर्ने मुख्य देश यिनै हुन् । नेपालका लागि भारत र चीन पर्याप्त बजार हुन् । भारत र चीनतर्फ निर्यात हुने जडिबुटी भने फरक–फरक छन् । चीनबाट यार्सा, वनलसुन, सुनाखरीलगायतका जडिबुटीको बढी माग छ भने भारततर्फ झ्याउ, रिठ्ठा, कुट्की, जटामसीलगायतका जडिबुटी बढी जान्छन् । तर, अहिले व्यापारको शृंखला विगतको जस्तो छैन । भारततिरबाट ल्याउने र चीन पठाइरहने जस्तो मात्र भइरहेको उनी बताउँछन् ।

 

भारतभन्दा चीन अफ्ठ्यारो
जडिबुटी व्यापारमा भारत धेरै सजिलो रहेको बोगटीको अनुभव छ । पहिलो त चीनले नेपाललाई प्राथमिकता नै दिँदैन । दोस्रो, चीनतर्फ तातोपानी नाकाबाट मात्र जडिबुटीको कारोबार खुला छ । अन्य नाकाबाट कारोबार गर्न मिल्दैन । तर, भारत निर्यात गर्न सकिने धेरै नाका छन् । ‘तातोपानी बन्द भएपछि अहिले हामी भियतनाम, हङकङ हुँदै जडिबुटी चीन पुर्याउँछौं,’ बोगटी भन्छन्, ‘जडिबुटीको व्यापार धेरै मुस्किलको व्यापार भएको छ अहिले ।’ भारत र चीनबीच जडिबुटीको सीधा व्यापार नहुँदा त्यसको लाभ लिन सकिएको उनको बुझाइ छ । चीनसँग भाषा र संस्कृति नमिल्ने भएकाले पनि नेपालसँगको व्यापार त्यति सहज छैन ।

ramsaran1-newskarobar

गलत सरकारी नीति
जडिबुटी व्यापारमा बोगटीले तीन दशक बिताइसकेका छन् । सरकारी नीतिकै कारण नेपाली जडिबुटीको प्रवर्धन हुन नसकेको अनुभव उनको छ । कुन जडिबुटीलाई कसरी प्राथमिकता दिने ? निर्यात नीति कस्तो बनाउने ? जस्ता कुरामा सरकार अनभिज्ञ छ । ‘तीन–चार महिनामा कुहिएर जाने झ्याउ निर्यात किन रोकिएको हो भन्ने सरकारलाई नै थाहा छैन,’ उनले भने, ‘यस्ता धेरै निर्णय लहडका भरमा हुन्छन्, अनि कसरी हुन्छ, उत्पादन र प्रवर्धन ?’

मुलुकको विकासमा मुख्य योगदान पुर्याउन सक्ने जडिबुटीका बारेमा ठूल्ठूला भाषण गर्ने सरकारी प्रतिनिधि नै जडिबुटी उत्पादन, संकलन र बजार प्रवर्धनको बाधक बनिरहेका छन् । नेपाली जडिबुटीलाई बेवास्ता गरिएकै कारण नेपालमै खपत हुने पनि ५० प्रतिशत जडिबुटी भारतबाट आउँछ । नेपालमा जडिबुटीको तेल प्रमाणीकरण गर्ने निकायसमेत छैन । ‘भारतले प्रमाणीकरण गरिदिने र त्यही प्रमाणपत्रका आधारमा युरोप र अमेरिका निर्यात गर्नुपर्ने स्थिति छ,’ जडिबुटी व्यवसायी संघका पूर्वउपाध्यक्ष बोगटी भन्छन्, ‘त्यसो हुँदा भारतलाई जे सहज हुन्छ त्यही गर्छ, जे मन लाग्छ त्यही गर्छ ।’

 

प्रहरी प्रशासन उस्तै
प्रहरी प्रशासनले त झन् ‘जडिबुटी व्यापारभन्दा बढी तस्करी’ बुझेको छ । अर्थात्, जडिबुटी व्यापारीलाई हेर्ने प्रहरी दृष्टिकोण नै गलत छ । भन्सारलगायत सम्बन्धित निकायमा राजस्व तिरेको सबै कागजात देखाउँदा–देखाउँदै पनि प्रहरीले धेरै पटक दुःख दिएका उदाहरण उनीसँग छन् । ‘कहिले वन लसुन चिन्दैन, कहिले बिष चिन्दैन,’ उनले भने, ‘भन्दा पनि नबुझिदिएपछि धेरै दुःख पाइन्छ ।’

 

के गर्न सकिन्छ ?
जडिबुटी भनेको हाम्रो ठूलो सम्पत्ति हो । नेपालमा जडिबुटी उत्पादन अथाह हुनसक्छ । स्थानीय बासिन्दा, सामुदायिक वन र व्यापारीको मात्र आम्दानीको माध्यम होइन, मुलुककै व्यापार घाटा न्यूनीकरणमा जडिबुटीको भूमिका रहेन उनी बताउँछन् । सरकारले जंगलमा नष्ट भएर जाने जडिबुटी पहिचान गरी निर्यान गर्नुपर्छ र आम्दानी बढाउनुपर्छ । बर्सेनि अर्बौं मूल्यको जडिबुटी आयात भइरहँदा यहीँको उत्पादन व्यवस्थित गर्ने तथा कृषक र सामुदायिक वनलाई उत्पादनका लागि प्रोत्साहन गर्ने हो भने अर्बौं रुपैयाँ बच्नेमात्र होइन, जडिबुटी निर्यात गरेर अर्बौं रुपैयाँ कमाउनै सकिनेमा उनी ढुक्क छन् ।

त्यसका लागि सरकारले जडिबुटी हेर्ने छुट्टै निकाय स्थापना गर्नुपर्छ । जडिबुटी उत्पादन तथा अनुसन्धानलाई विशेष प्राथमिकता दिनुपर्छ । विशेषताअनुसार जडिबुटीको वर्गीकरण गर्नुपर्छ । स्थानीयस्तरमा शीघ्र रोजगारी सिर्जनाको एउटा भरपर्दो माध्यम हो जडिबुटी । ‘जडिबुटीलाई नारा र भाषणमा सीमित नगरी रुपैयाँमा बदल्न सरकारले अब ढिलाइ गर्नु हुँदैन,’ उनले भने ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु