गृहपृष्ठ लागु औषध दुर्व्यसनीमा फस्दै किशोरी
लागु औषध दुर्व्यसनीमा फस्दै किशोरी
थुनुवामध्ये ७० प्रतिशत लागु औषध ओसारपसार र प्रयोगकर्ता
याे सांकेतिक तस्बिर हाे ।
छोराहरु मात्र लागु औषध दुव्र्यसनीमा फस्छन् भन्दै कतै तपाईंले उनीहरुको आनीबानीका बारेमा चासो दिने तर छोरीहरुको आनीबानीका बारेमा शंका नै नगर्ने त गर्नुभएको छैन ? यदि त्यस्तो हो भने तपाईं कुनै पनि बेला पछुताउनु पर्ने अवस्थामा आइलाग्न सक्छ ।
बाँकेमा पुरुषमात्र होइन, महिला पनि लागु औषधको दुव्र्यसनीमा फसेका थुप्रै उदाहरण छन् । अझ कक्षा ८ देखि दश जोड दुईमा अध्ययन गर्ने किशोरी त झनै लागु औषधको उच्च जोखिममा रहेको पाइएको छ । बाँकेमा कडा खालको लागु औषध प्रयोगकर्ताको संख्या करीब एक हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।
ग्रामीण क्षेत्रबाट शहर आउने किशोरकिशोरी सङ्गतका कारण लागु औषध दुव्र्यसनमा फस्ने गरेको पाइन्छ । लागु औषध दुव्र्यसनमा फसेसँगै आर्थिक जोहो गर्नकै लागि कतिपय किशोरी यौन पेशामा समाहित हुने गरेको लागु औषधविरुद्ध काम गर्दै आएको संस्था साहारा हाउस नेपालगञ्जले जनाएको छ ।
साहारा हाउस नेपालगञ्जका कार्यकारी प्रमुख अभिराज क्षेत्रीले भने, ‘कलिलो उमेरका किशोरी लागु औषधका प्रयोगकर्ता बनेका छन् । यो संख्या बढ्दो क्रममा रहेकाले चिन्ता उत्पन्न भएको छ ।’ बाँकेमा कति जना लागु औषध दुव्र्यसनी छन् र तीमध्ये युवती कति छन् भन्ने आधिकारिक तथ्यांक नभएको क्षेत्रीले बताए ।
निम्न आर्थिक अवस्थादेखि सम्पन्न घरका किशोरी लागु औषध दुव्र्यसनमा फस्ने गरेको पाइएको छ । दुव्र्यसनीमा फसेपछि त्यसबाट मुक्ति पाउन उपचार विधि अपनाउनेमा युवा धेरै छन् । युवतीको संख्या अति कम छ । पुनःस्थापना केन्द्र र अन्य उपचार विधि अपनाउने आफू दुव्र्यसनी भएको पोल खुल्ने डरका कारण युवती आउन नमान्ने गरेको क्षेत्रीले बताए ।
अर्काको देखासिकी, प्रेम सम्बन्ध र लागु औषधको सहज उपलब्धताका कारण किशोरीहरु दुव्र्यसनीमा फस्ने गरेका छन् । कार्यकारी प्रमुख क्षेत्रीले भने, ‘यो समस्या दिनानुदिन बढ्दैछ । चाँडो समाधान गर्न सकिएन भने छोराछोरी बाहिर जाँदा होस् वा विद्यालय जाँदा अभिभावकसँगै जानुपर्ने अवस्था आउन सक्छ ।’
दुव्र्यसनमा फसेका पुरुषलाई आवासीयरुपमै राखेर दुव्र्यसनमुक्त गर्न नेपालगञ्जमा पुनःस्थापना केन्द्र सञ्चालनमा छन् । तर, महिलालाई भने पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता छ । हालसम्म त्यसरी सुधार गृहमा पठाइएका महिलाको संख्या अत्यन्तै न्यून रहेको पाइन्छ ।
‘लागु औषध दुव्र्यसन अहिलेको ज्वलन्त समस्या नै हो । लागु औषध दुव्र्यसन कम गर्न सरकारसँग कुनै ठोस नीति र योजना छैन,’ कार्यकारी प्रमुख क्षेत्रीले भने, ‘अहिलेको नीतिले थामथुम पार्ने मात्रै हो, यो प्रभावकारी हुन सकेको छैन । सरकारले नै यस विषयमा विस्तृत योजनाका साथ अघि बढ्नुपर्छ ।’
बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले प्रहरी हिरासतमा रहेका थुनुवामध्ये करीब ७० प्रतिशत लागु औषध ओसारपसार र प्रयोगकर्ता नै रहेको जानकारी दिए । यसले पनि बाँकेमा लागु औषधको ओसारपसारसँगै प्रयोगकर्ताको संख्यामा उच्च वृद्धि हुने गरेको पाइन्छ । ‘उमेर समूहका आधारमा पनि लागु औषध सेवन गर्ने र विस्तारै ओसारपसारमा संलग्न हुनेमा किशोर किशोरीको संख्या उच्च देखिएको छ,’ प्रहरी उपरीक्षक पौडेलले भने, ‘हामी यसको न्यूनीकरणका लागि कार्ययोजना बनाएरै अघि बढिरहेका छौं । शुरुवातमा सचेतनामूलक काम गरिरहेका छौं ।’
लागु औषधको कारोबारको केन्द्रका रुपमा बाँकेलाई प्रयोग गर्न थालिएको छ । नेपाल–भारत सीमानाका हुँदै कर्णाली प्रदेशका पहाडी जिल्लामा समेत लागु औषध ओसारपसार हुने गर्छ । लागु औषध कारोवार र प्रयोगकर्ता हप्तैपिच्छे पक्राउ पर्ने गरे पनि यो क्रम भने रोकिएको छैन ।
प्रकाशित समय १५:२३ बजे

















