गृहपृष्ठ बिमस्टेक : अवसर र चुनौती
बिमस्टेक : अवसर र चुनौती
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन शुक्रबार काठमाडौँमा समापन भएको छ । नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, भुटान र श्रीलंका सदस्य रहेको बिमस्टेकको शिखर सम्मेलन नेपालले पहिलो पटक सफलतापूर्वक सम्पन्न गरेको हो । यसअघि विभिन्न मुलुकमा सम्पन्न तीन वटा शिखर सम्मेलनपछिको चौथो बिमस्टेक सम्मेलनको विशेष गरी व्यापार, लगानी पर्यटन, सूचना प्रविधि, पारवहन ऊर्जा, कृषिजन्य व्यापार प्रवर्धन, गरिबी निवारण, आतंकवादको न्यूनिकरण तथा प्रतिवाद, जनसम्पर्कजस्ता विषयमा आपसी सहयोग विस्तार गरी अपराध नियन्त्रण र वातावरण परिवर्तनलगायतका महत्वपूर्ण सवालमा बहुपक्षीय सहयोग आदान–प्रदान गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको थियो ।
सुन्दर उद्देश्य राखेर आयोजना गरिएको यस सम्मेलनले सोही अनुरुपको लक्ष्य हासिल गर्नु पर्ने हुन्छ । खासगरी आर्थिक तथा सामाजिक सहयोग विस्तारमा महत्वपूर्ण योगदान दिने र उद्देश्य परिपूर्ति गर्ने सवालहरु भने घोषणा पत्रका बुँदाहरुमा मात्र सिमित नरहला भन्न सकिन्न ।
थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न पहिलो बिमस्टेक सम्मेलनदेखि अन्य दुई सम्मेलनमा पनि पुरानै मुद्दा र सवालहरु पुनरावृत्ति हुँदै आइरहेका छन् । सार्क राष्ट्रकाबीचमा पनि यिनै र यस्तै खाले मुद्दाले स्थान पाएका थिए । यसैगरी राष्ट्र प्रमुखहरुको उपस्थितिमा विगतका सम्मेलन सम्पन्न भए । घोषणा पत्रले विविध विषयवस्तुको अपरिहार्यतालाई हृदयङ्गम गरी मुद्दाहरुको निरन्तरता र सम्बोधन गर्ने प्रतिबद्धता पनि जाहेर भएकै हो । कतिपय विषयवस्तु सबैका सामु ताजै छन् ।
सार्कको गठन प्रकृया र यसले स्थापित गरेको ऐतिहासिक मान्यताका विविध पक्ष र मुद्दाहरु यतिबेला बिमस्टेकले धारण गरेको छ भन्दा अतिसयोक्ति नरहला ।
सकारात्मक सोचका साथ सकारात्मक विचार र सकारात्मक सहयोगको आदान–प्रदान एवं ‘बसुदैव कुटुम्बकम्’को आदर्शतालाई क्षेत्रीय राष्ट्रकाबीच कायम राख्ने लक्ष्य, प्रण र संकल्पका विषय स्वागतयोग्य कुरा हुन् । साझा सवालमा समूहिक लक्ष्य प्रप्तिका निमित्त सहयोग आदान–प्रदानको गहन उद्देश्य परिपूर्ति गर्न संयन्त्र निर्माण गरिनु र संयन्त्रले विविध आयाममा विविध अवधारणा निर्माण गर्नु समय सापेक्ष छ । त्यसरी निर्माण भएका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका साझा संयन्त्रहरु कति प्रभावकारी भयो र उद्देश्यहरु तर्फ के कति लक्ष्य हासिल गर्न सफल भयो भनेर लेखा जोखा गरिनु जरुरी छ ।
सार्क गठन आफैँमा महत्वपूर्ण र संवेदनशील थियो । पूर्वी एसिया र पश्चिमी मुलुकहरुले पनि यसलाई अत्यन्त महत्वका साथ हेरेका थिए । सबै हिसाबले शक्ति सम्पन्न राष्ट्र चीन र प्राविधिक पक्षले सबल जापानजस्ता राष्ट्रले समेत सार्कको गरिमालाई उच्चतम रुपमा नै हेरेर पर्यवेक्षकीय भूमिकामा आफ्नो स्थान खोजिसकेका थिए ।
सार्क र बिमस्टेकले लिएको लक्ष्य, उद्देश्य र क्षेत्रीय संवेदनशीलतामा खासै अन्तर देखिँदैन । विश्वव्यापी रुपमा बढ्दै गएको आपराधिक गतिविधि तथा शक्ति पृथकीकरणको सिकार कुनै एउटा देशमा मात्र होइन, सिंगो विश्व नै यदाकता त्रसित रहेको वर्तमान परिदृश्य हाम्रासामु छन् । दक्षिण कोरिया र उत्तर कोरिया, अफ्रिकी मुलुकका विभिन्न राष्ट्र, छिमेकी मुलुक भारत र पाकिस्तान आदि राष्ट्रबीच देखिएको असमझदारीलाई सबैले नजिकबाट नियालि रहेकै छन् ।
नेपालमा सम्पन्न चौथो बिमस्टेक सम्मेलनमा सार्क राष्ट्रको अन्य सदस्य राष्ट्रहरुले पनि उपस्थित भई साझा सम्मेलनका विभिन्न प्रस्तावमाथि छलफल गरी आफ्नो प्रतिबद्धता जाहेर गर्न पाएका भए आयोजक राष्ट्र नेपालले थप धन्यवाद प्राप्त गर्न सक्थ्यो होला । केही सकारात्मक ‘जस’को भागीदार बन्ने अवसर नेपाललाई मिल्ने थियो ।
यसपटक नेपालले सार्कको अध्यक्षता गरेको छ । अध्यक्षता गरिरहेको राष्ट्रले सार्ककै उद्देश्यसँग तात्विक भिन्नता नरहेको विषयवस्तु केन्द्रित यो सम्मेलनमा फरक दूरी कायम रहेको भारत र पाकिस्तानलाई एउटै मञ्चमा उभ्याउन सकेको भए आयोजक राष्ट्रका हिसाबले सकारात्मक सन्देश जाने थियो ।
भारत–पाकिस्तानबीच सम्बन्ध चिसिएको छ । यिनै दुई राष्ट्रका कारण सार्कको शिखर सम्मेलन पाकिस्तानमा हुन सकेन । सार्कको वर्तमान संरचना अहिले निर्जिव प्रायः छ । सार्कका विविध संरचनालाई चलायमान राख्दै विगतमा गरिएको आतङ्कवादविरुद्धको अभियान, गरिबी निवारणका लागि खाद्य सुरक्षा योजना, सार्कस्तरीय यातायात विस्तार, ऊर्जा विकासजस्ता महत्वपूर्ण विषय ओझेलमा रहिरहेको अवस्थामा भएको बिमस्टेकले भोलिका दिनमा के कस्ता सहयोग आदान–प्रदान र साझेदारी कायम गर्न सक्ला भन्ने अहम् प्रश्न तेर्सिनुलाई अस्वाभाविक मान्न हुँदैन ।
बिमस्टेकको चौथो शिखर सम्मेलनले क्षेत्रीय सहयोगको बहुपक्षीय प्रक्रियालाई थप मजबुत बनाउने विश्वास लिएता पनि यसको कार्यान्वयन पक्षलाई भने कुर्नै पर्ने देखिन्छ । सन् २०१८ सेप्टेम्बरभित्र यातायात सञ्जाल विस्तारको गुरु योजनालाई विशेष महत्वका साथ घोषणा पत्रमा उल्लेख गरिएको छ । यसका अतिरिक्त अन्य महत्वपूर्ण विषयलाई सहमतिपूर्ण ढङ्गले अगाडि लगिने प्रतिबद्धता रहेको समझदारी पत्रले बताउँछ ।
मन्त्रीस्तरीय बैठकद्वारा पारित प्रस्तावहरु राष्ट्र प्रमुखले सम्मेलनमा अनुमोदन गरेका छन् । तर, यो सम्मेलन पनि विगतका सम्मेलन झैँ विधि पुर्याउने परम्परा मात्र हुने हो कि भन्ने धारणा विश्लेषकहरुको छ । हुन त यो सम्मेलनको विषयगत नामाकरणले नै ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास’ (बिमस्टेक) भनिएको छ । प्रयास गर्नु आफैँमा नराम्रो विषय होइन, यसलाई ‘अद्वितीय विशेष प्लेटफर्म’ भनिनु आफैँमा नराम्रो होइन ।
प्राप्त अवसर र उपलब्धीहरुलाई सार्थक पार्न सकियो भने मात्र सम्मेलन सफल भएको मानिन्छ । केवल उद्घाटन, सम्बोधन, सहमति, सम्झौता र समापन मात्रले सम्मेलनको औचित्य पुष्टि हुँदैन । उल्लेखित कुराले परिणाम हासिल गर्न सके मात्र बिमस्टेक सफल रह्यो भन्ने ठाँउ हुन्छ । अन्ततोगत्वा पुरानै प्रवृत्तिको पुनरावृत्ती जस्तै बन्ने छ ।
सम्मेलनमा भाग लिएका सदस्य राष्ट्रहरुका आफ्नै दृष्टिकोण, महत्वकांक्षा र स्वार्थहरु छन् । बिमस्टेकको गठनको समयावधिले दुई दशक नाघिसकेको छ । गठन समयमा नै दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई जोड्ने र द्रुत आर्थिक विकास र सामाजिक प्रगतिको उद्देश्यलाई सदस्य राष्ट्रहरुबीच परस्पर सहयोग आदान–प्रदान गर्ने विषयलाई प्राथमिकतामा राखियो ।
नेपाल र भुटानलाई सन् २००४ मा सदस्यता प्रदान गरी बिमस्टेक भएको पनि १६ वर्ष पुगिसकेको छ । १६ वर्षमा के कति उपलब्धी हासिल भयो भन्ने ठोस सूचकाङ्कबाट हामी अनभिज्ञ छौं । साँच्चै नै दक्षिण एसिया र दक्षिण पूर्वी एसियासँग जोड्न सफल हुन सक्यो र लक्षित उद्देश्यअनुसार उपलब्धी हासिल गर्न सकियो भने मात्र सम्मेलन र संरचनाको औचित्य रहला । होइन भने दक्षिण एसियाको भारत र दक्षिण पूर्वी एसियाको थाइल्याण्डमात्र स्वार्थसिद्धको बाटोमा नजालान् भन्न सकिन्न ।
नेपालले बिमस्टेकको चौथो सम्मेलन सौहार्दपूर्ण रुपमा सम्पन्न गरेकोप्रति सबैले प्रशंसा गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सार्कको विकल्प हुन सक्दैन भनेर विभिन्न समयमा भएका सम्बोधन तथा सञ्चार माध्यमहरुबाट अभिव्यक्ति गरिरहनुले यसका पछाडि शक्तिसम्पन्न राष्ट्र भारतको रणनीतिक योजनाको प्रवक्ताकार भएको त होइन भन्ने विश्लेषण पनि हुन थालेका छन् ।
कुनै पनि सकारात्मक सोच र वृहत्तर उद्देश्यले निर्माण गरिएका संरचनाहरुको उद्देश्य, लक्ष्य, स्वार्थ र रणनीति हुन्छन् नै जसरी विषयगत अवधारणाभित्र ‘विकास र समृद्धिको यात्रामा सँगै बढौं’, भन्ने आर्दश आफैँमा सुन्दर भएर पनि आगामी यात्राहरुले कस्तो र कति दुरी पार गर्छ भनेर प्रतिक्षा गर्नुको विकल्प तत्कालका लागि छैन ।
बिमस्टेक सदस्य राष्ट्रहरु आफैँमा प्राकृतिक भौगोलिक र सम्पदाका हिसाबले सम्पन्न छन् । सम्पन्नता स्रोतमा छ तर त्यसको व्यवहारिक प्रयोगका लागि सहकार्य जरुरी छ । आगामी दिनका रणनीतिक योजना र सहकार्य कसरी अगाडि बढ्ने हो भन्नेबारे अहिले नै बोलिहाल्नु उचित छैन ।
सार्कका विभिन्न सम्मेलनहरुमा घोषित घोषणा पत्रका बुदाँहरुलाई पल्टाएर हेर्ने हो भने ती बुदाँहरु पनि अहिलेका जस्तै सान्दर्भिक र महत्वपूर्ण थिए । ती बुदाँहरु अहिले पनि कार्यन्वयनको पखाईमा छन् ।
चौथो बिमस्टेक सम्मेलन १८ बुँदे काठमाडौं घोषाणापत्र जारी गरी समापन भएको छ । क्षेत्रीय सहयोगको विशेष अवधारणाका साथ सम्पन्न बैठकको लक्ष्य भनेकै सम्भावनाहरुको खोजी गरी सहयोग आदान–प्रदान गर्नु हो । हामीबीचमा अभूतपूर्व संम्भावनाहरु छन् ।
प्राकृतिक स्रोतसाधन, जलसम्पदा, जैविक विविधता, सांस्कृतिक सम्भाव्यता अन्य देशको तुलनामा नेपालसँग बढी छ । हिमालय क्षेत्रबाट बगेको पानी बंगालको खाडी पुग्छ र पुनः जल बनेर वर्षन्छ । जलवायु परिवर्तको शिकार हामी सबै बन्दै गइरहेको छौं । बढ्दो जलवायु परिर्वनले सिंगो विश्व नै प्रभावित बन्न पुगेको छ । बिमस्टेक सम्मेलनले यसका अतिरिक्त भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य तथा गरिबी निवारणको ठोस रणनीति निर्माण गरी शसक्त कार्यान्वयनको दिशातर्फ उन्मुख हुन सकिएन भने बिमस्टेक सम्मेलन विगतका सार्क सम्मेलन झैँ नबन्ला भन्न सकिन्न ।
भू—राजनीतिक सीमालाई नाघेर घोषित १८ बुँदा कार्यान्वयनमा गतिरोध आयो भने अपेक्षाहरु क्षीण भएर निराशामा रुपान्तरित हुन्छन् । त्यसैले यसमा सम्बद्ध राष्ट्रहरु सजग हुनु जरुरी छ । सहयोगी राष्ट्रबीचको सैन्य आदान–प्रदान, प्रर्दशन तथा अपराध नियन्त्रणका बहुआयामिक कार्यगत एकताले अन्य राष्ट्रलाई त्रशित बनाउन सक्ने मनोविज्ञानलाई पनि विचार गर्नुपर्ने हुन्छ ।
सार्कको सदस्य राष्ट्र पाकिस्तान बिमस्टेकको सदस्य छैन । एकताका नाममा भारत र बंगलादेशनिकट छिमेकी राष्ट्रले यो सम्मेलनलाई कुन रुपमा लिएको छ भन्ने तर्फ ध्यानाकृष्ट हुन सकेन भने घोषित बुँदाका नतिजाहरुले फरक परिणाम नल्याउला भन्न सकिन्न । साँच्चै हामीले भावी पुस्तालाई सुन्दर, सुरक्षित, प्रदूषणमुक्त र हरियालीपूर्ण पृथ्वी उपहार दिने नै हो । यसलाई बिमस्टेक राष्ट्रमात्र होइन, विश्वले नै हेरिरहेको छ ।
सहयोग र सहकार्य अन्य राष्ट्रकाबीचमा पनि जरुरी छ । सम्मेलनले कुनै राष्ट्रलाई बलियो र कमजोर बनाउने होइन । कसैले निहीत स्वार्थ राखेर सहभागिता जनाइरहेको छ भने त्यो विषय सम्बन्धित मुलुकको आन्तरिक विचार र भ्रम मात्र हो भनेर बुझ्नुपर्छ । अन्यथा बिमस्टेक साँच्चै ‘बिग मिस्टेक’ नहोला भन्न सकिन्न ।
बिमस्टेकले मैत्रीपूर्ण सहयोग आदान–प्रदानको संकल्प पारित गरेको छ । भारत पाकिस्तान बीचको अमैत्रीपूर्ण र चिसो सम्बन्धलाई सुमधुर बनाउने विषयमा सम्मेलनको ध्यान जानुपर्ने थियो वा थिएन त्यो विषय पनि आफैँमा महत्वपूर्ण थियो । विगतमा पर्यवेक्षकीय भूमिकामा सहभागी चीन र जापानको चासो पनि सम्मेलनतर्फ आफ्नै ढंगका होलान् । आयोजक राष्ट्र भएकाले र असंलग्न परराष्ट्र नीतिका कारण यो सम्मेलन र अन्य राष्ट्रबाट लिनु पर्ने सहयोग सम्बन्धी विषयलाई नेपालले पनि गम्भीरताका साथ हेरिएन भने हामीमाथि पनि प्रश्न चिन्न नलाग्ला भन्न सकिन्न ।
सम्मेलनका उपलब्धीलाई रक्षा गरप् अन्य मुलुकसँगको सन्तुलित सम्बन्धमा हामी चुक्न हुँदैन । अन्यथा पछुताउनु पर्ने हुन सक्छ । सबैलाई चेतना भया ।
प्रकाशित समय २०:४९ बजे

















