गृहपृष्ठ न्युज कारोबार डट कमका समाचार सम्पादक कुँवर कार्यकक्षबाटै पक्राउ

न्युज कारोबार डट कमका समाचार सम्पादक कुँवर कार्यकक्षबाटै पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीद्वारा पक्राउ

यस न्युज कारोबार डट कमका समाचार सम्पादक नवराज कुँवरलाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ । खासगरी भदौ १ देखि लागु भएको मुलुकी फौजदारी तथा देवानी (संहिता) ऐन, २०७४ का कारण पत्रकारहरुमाथि धरपकड हुन सक्ने र त्यसले जनताको सुसूचित हुन पाउने अधिकार हनन् हुने भनेर व्यापक विरोध भइरहेका बेला कुँवरलाई प्रहरीले समाचार र समाजिक सञ्जालको विषयलाई लिएर पक्राउ गरेको हो ।

उदयपुरस्थित बेलका नगरपालिकाका स्थानीयबासी कुँवरले पछिल्लो समय उक्त नगरपालिकामा भएका अनियमितता र केही गलत कार्यका विरुद्ध आवाज उठाउँदै आएका थिए । कुँवरले त्यहाँ भएका कतिपय गलत कार्यहरु अनलाईन तथा फेसबुक लगायतका सामाजिक सञ्जालबाट उठाउँदै आएका थिए । सोही विषयलाई आधार बनाएर प्रहरीले कुँवरलाई समाचार कक्षबाटै पक्राउ गरेको हो ।

बेलका नगरपालिकामा केही समय अघि नगरपालिकाका उपप्रमुख र वडाध्यक्षको सम्बन्धलाई लिएर व्यापक चर्चा भइरहेको थियो । साथै नगरपालिकामा भएका थप केही कार्यको पनि जनचासो चुलिएको थियो । उक्त समाचारलाई कुँवरले निरन्तर ‘फलो अप’ गर्दै आएका थिए । सोही विषयमा कुँवरको फलो अप र सामाजिक सञ्जालबाट गलत कार्यको विरोधका कारण प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका कुँवरलाई प्रहरीले टेकुमा राखेको छ ।

संहिताका केही प्रावधानले पत्रकारको घाँटी निमोठ्ने भनेर व्यापक विरोध र आलोचना भइरहँदा सत्तारुढ दलका नेताहरुले पत्रकारहरुका विषयमा यो कानुन आकर्षित हुँदैन भन्दै आएका थिए । तर, हाम्रा समाचार सम्पादक कुँवर पक्राउ परिसकेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले कुँवरलाई पक्राउ पुर्जी दिएर पक्राउ गरेको हो ।

बेलका नगरपालिकामा उपप्रमुख र वडाध्यक्षको सम्बन्धलाई लिएर न्युज कारोबार डटकममा समाचार प्रकाशित भएको थियो । नगरपालिकामा उक्त प्रकरणमा छानबिन गर्नका लागि छानविन समितिसमेत निर्माण भइसकेको छ । यसरी विवादित वनेको विषयमा प्रहरीले कुवँरलाई पक्राउ गरेको हो ।

पक्राउ परेपछि समाचार सम्पादक कुँवरले फेसबुकमार्फत प्रतिक्रिया दिएका छन् । कुँवरले फेसबुकमा लेखेका छन्, ‘बेलकाका उपमेयर र वडाध्यक्ष प्रकरणमा मलाई र रोयललाई पक्राउ गरेको छ । अहिले टेकुमा ।’ रोयल अनलाइनखबर डटकमका पत्रकार हुन् ।

प्रकाशित समय १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु