गृहपृष्ठ अपांगता अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन प्रतिवेदन प्रस्तुत

अपांगता अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन प्रतिवेदन प्रस्तुत

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा सभापति गुरुङले प्रतिवेदन प्रस्तुत गरेका हुन् । विधेयक ल्याउन ढिलाइ हुँदा अपांगता नभएका व्यक्तिले झुटो विवरण पेस गरेर निजामती सेवालगायतमा आरक्षण तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय छात्रवृत्तिलगायतका सेवा सुविधा लिइरहेको गुनासो आउने गरेको छ ।

राष्ट्रिय अपांग महासंघ नेपाललगायतका संघ-संस्थाले विधेयक छिटो पारित गर्न दबाब दिँदै आएका छन् । अपांगता संरक्षण तथा कल्याण ऐन, २०३९ को संशोधित ऐनको रूपमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक ल्याइएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपांगता ऐन, २०३९ पुरानो भएको भन्दै संशोधनका लागि पाँच पटकसम्म समिति गठन गरे पनि संशोधन हुन सकेको थिएन ।

राष्ट्रिय जनगणना २०६८ अनुसार अपांगता भएका व्यक्तिको कुल संख्या करिब दुई प्रतिशत अर्थात् पाँच लाख १३ हजार २१० छ । यसमा शारीरिक अपांगता भएका व्यक्ति ३६.६ प्रतिशत, दृष्टिविहीन १६.५ प्रतिशत र सुन्नमा समस्या भएका १५.४ प्रतिशत छन् ।

त्यसैगरी, बोलाइसम्बन्धी अपांगता भएका व्यक्ति ११.५ श्रवण दृष्टिविहीनसम्बन्धी १.८, मानसिक अपांगता ६, बौद्धिक अपांगता २.९ र बहुअपांगता भएका ७.५ प्रतिशत छन् ।

प्रकाशित समय १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु