गृहपृष्ठ बिमितलाई दु:ख दिनु बेइमानी हो : विक्रान्त पाण्डे

बिमितलाई दु:ख दिनु बेइमानी हो : विक्रान्त पाण्डे

दाबी नदिने हो भने अरु नै व्यवसाय गरे भइगो नि !

नेपाल इन्स्योरेन्स मुलुकको अग्रणी र जेठो बिमा कम्पनी हो । करिब ६८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीका एक लाखभन्दा बढी ग्राहक छन् । देशभर कम्पनीका ३६ वटा शाखा छन् भने २२ वटा ग्राहक सेवा केन्द्र रहेका छन् । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष १ सय करोडभन्दा बढी प्रिमियम संकलन गरेको थियो । यसरी सबै वित्तीय सूचकांक सफल हुँदाहुँदै पनि नेपाल इन्स्योरेन्स बढीभन्दा बढी नेपालीमा पुग्न अझै संघर्षरत छ । यसका लागि कम्पनीको आगामी रणनीति, विमा व्यवसाय विस्तारका लागि देखिएका चुनौती र समाधानका उपायलगायतका विषयमा नेपाल इन्स्योरेन्सका नायब महाप्रवन्धक विक्रान्त पाण्डेसँग गरिएको कुराकानी ।

नेपालमा बिमा व्यवसायको अवस्थाबारे बताइदिनुस् न !

नेपालको बिमा व्यवसाय विकासोन्मुख छ । नेपालको अर्थतन्त्र जस्तो अवस्था छ, बिमा व्यवसायको अवस्था पनि उस्तै छ । बिमा अर्थतन्त्रको एउटा पाटो हो । त्यसकारण अर्थतन्त्रको विकाससँगै बिमाको विकास पनि सोही गतिमा भइरहेको छ ।

छिमेकी भारत र नेपालमा बिमा व्यवसाय करिब एकैपटक सुरु भएको हो तर भारतको बिमा बजार यति धेरै फस्टाइसक्दा नेपाल किन यति पछाडि रह्यो ?

भारत आजाद हुँदा नेपाल इन्स्योरेन्स कम्पनी स्थापना भइसकेको थियो । इतिहास हेर्ने हो भने बिमा व्यवसायमा नेपाल धेरै अगाडि छ । अर्थात्, त्यतिबेलै बिमाको आवश्यकता महसुस गरेर कम्पनी स्थापना गरिएको छ । तर, बिमा विस्तारको हिसाबले हामी धेरै पछाडि रह्यो । हामीले बिमालाई प्राथमिकतामा राख्नै सकेका छैनौं, गाँस बास र कपासलाई प्राथमिकता दिनुपर्ने अवस्थमा छौं हामी । बिमा भनेको सामाजिक सुरक्षा हो, त्यसकारण विदेशीहरुले झैं सुरक्षालाई जब मुख्य प्राथमिकता राखिन्छ तब मात्र बिमाको बजार विस्तार हुन्छ । हामीकहाँ शिक्षा, स्वास्थ्य, यात्रा, भौतिक संरचनालगायतका सबै विषयमा जोखिमरहित रहनुपर्छ भन्ने धारणा विकास गर्नुपर्ने आवश्यकता छ ।

बिमालाई नेपालीहरुले पहिलो प्राथमिकतामा राख्न नसक्नुको कारण के हुनसक्छ ?

बिमालाई प्राथमिकतामा राख्नुपर्ने हो तर त्यसका केही कारण छन् । बिमा गरेपछि प्रिमियम तिर्नुपर्ने हुन्छ, खर्च गर्नुपर्ने हुन्छ । तर, नेपाली दाजुभाइ, दिदीबहिनीमा खर्च गर्ने क्षमता कम छ । पहिला आधारभूत आवश्यकता पूरा गर्नुपर्ने अवस्थामा उनीहरु छन् । पहिला खान–लाउन र छोराछोरीको वृत्ति विकासमै आर्जन गरेको अधिकांश रकम खर्चिनुपर्ने अवस्था छ । जब आयआर्जन बढ्दै जान्छ, प्रतिव्यक्ति आम्दानी बढ्दै जान्छ, त्यसपछि स्वतः बिमालाई हामीले पहिलो प्राथमिकतामा राख्न थाल्छौं ।

गरिबीकै कारणले बिमा नभएको हो भनेर मान्ने हो भने नेपालीले सूचना प्रविधिमा यति ठूलो खर्च गरिरहेका छन् । कसरी सम्भव भयो त ? साक्षरता नपुगेका कारण बिमा विस्तार नभएको हो भन्नेमा कति सहमत हुनुहुन्छ ?

मैले गरिबी या अभावलाई मात्र दर्शाउन खोजेको होइन । मैले क्षमताका कुरालाई इंगित गर्न खोजेको होइन । बिमाको आवश्यकता महसुस गराउन कति कुरामा हाम्रो पनि कमी भइरहेको होला । तर, हेर्नुस्, तपाईंले भनेजस्तै आजभन्दा पाँच वर्षअगाडि पचास–सय रुपैयाँ खर्च गर्न पनि गाह्रो हुने नेपाली समाज अहिले दैनिकजसो पचास–सय रुपैयाँ मोबाइलमा सकिरहेको हुन्छ । त्यो पचास–सय रुपैयाँले त तपाईं पूर्णरुपमा जीवन पनि सुरक्षित गर्न सक्नुहुन्छ, तपाईंको लगानी पनि सुरक्षित गर्न सक्नुहुन्छ । त्यसकारण बिमा सचेतना वृद्धि गर्न र बिमाको आवश्यकता बुझाउँदै यसलाई प्राथमिकताको सूचीमा पहिलो नम्बरमा राख्न तपाईं, हामी सचेत वर्ग सबै जागरुक हुन जरुरी छ ।

बिमा गराउनुपर्छ भन्ने समाजका अग्रजहरुकै बिमा गरिएको हुँदैन नि ! यसमा तपाईंको अनुभव के छ ?

तपाईंले भनेजस्तो नहोला । किनकि, बिमाबारे बुझेका व्यक्ति बिमा नगराई बसेको मैले भेटेको छैन । एकाध हुन सक्ला तर धेरैले बिमा गरेकै छन्, गराएकै छन् ।

नेपाल बिमाको लागि ‘भर्जिन ल्यान्ड’ नै हो भन्दा फरक पर्दैन । बिमाको बजार र व्यवसाय विस्तारका लागि तपाईंहरुको योजना के छ ?

बिमा व्यवसायका लागि नेपाल भर्जिन ल्यान्ड नै हो । तर, विभिन्न कारण ९० प्रतिशत नेपाली बिमामा आबद्ध भइरहेका छैनन् । सामाजिक सुरक्षाको यो मुख्य पक्षलाई मनन गर्दै हामी बजार विस्तामा होमिँदै छौं । र, यो महायज्ञमा तपाईं हामी सबै साथ साथ अघि बढ्न र बिमाबारे जनतालाई सूचित गर्न अब ढिलाइ गर्न हुँदैन । हामी आक्रामक बजार विस्तारको योजना बनाइरहेका छौं । तथापि, इन्स्योरेन्स दुर्घटनासँग, सुरक्षासँग जोडिएको विषय हो, सुस्त नै हुन्छ । फिल्म जस्तो रंगिन र रातारात चर्चित हुँदैन । रातारात ग्राहकलाई यसमा जोड्न सकिँदैन । तर, अब स्थानीय सरकार, टोल–टोल, वडा–वडा, मिडियालगायत सबै पक्षसँग हातमा हात मिलाएर हामी अघि बढ्छौं ।

बिमा कम्पनीहरुबीच स्वस्थ प्रतिस्पर्धा छैन भन्ने सुनिन्छ, किन होला ?

व्यवसायमा प्रतिस्पर्धा हुनुपर्छ । स्वस्थ प्रतिस्पर्धाले विकास हुन्छ । कहीँ कतै साना–साना त्रुटि हुन पनि सक्छन् तर हामी बिमा कम्पनी केमा स्पष्ट छौं भने अब बिमाको बजार र व्यवसाय विस्तारमा होमिनुपर्छ ।

खासमा बिमा कम्पनीहरुबीच भइरहेको कस्तो प्रकारको अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ त ?

त्यस्तो केही होइन । बिमा कम्पनीहरु बजार बढाउन खोज्छन्, ग्राहक बढाउन चाहन्छन्, जनतालाई बिमामा आबद्ध गराउन चाहन्छन् । बिमालाई सहज बनाएको हो, ग्राहकलाई आफूतिर आकर्षित गरेको हो, मोटिभेट गरेकोे हो । बिमामा आबद्ध हुनुहोस् भन्या हो । प्रतिस्पर्धा यसैमा हो । त्यसका लागि च्यानल अफ डिस्ट्रिब्युसन हुन्छ, त्यसको खर्च लाग्छ । त्यसको व्यवस्थापन गर्नुपर्छ । अर्थात्, त्यसमा लाग्ने खर्च पनि बिमा कम्पनीहरुले व्यहोर्दै अगाडि बढिरहेको अवस्था छ । यसलाई त्यसरी बुझ्नुपर्छ । यो सामाजिक व्यवसायमा पनि हामी आफ्नो खर्च बढाएर भए पनि ग्राहकसमक्ष पुग्न प्रयास गरिरहेका छौं । हामी पहिला सेवा र त्यसपछि नाफाको मूलमन्त्र लिएर चलेका छौं ।

नेपालमा बिमा प्रक्रिया पनि झन्झटिलो र दाबी भुक्तानी झन् झन्झटिलो भएकाले आकर्षण कम भएको हो भन्ने छ नि !

इन्स्योरेन्स भनेको कानुनी करार हो । कानुनले तोकेकोभन्दा बाहिर हामी जान सक्दैनौं । कानुनले लिने तरिका पनि तोकेको छ, दिने तरिका पनि तोकेको छ । त्यसलाई हामीले फलो गर्ने हो । देश–विदेशमा हुने त्यही हो । त्यसकारण १० वर्षअगाडि धेरै झन्झटिलो थियो । टाइपराइटरको भरमा काम गर्नुपथ्र्यो, अहिले मिनेटमा हुन्थ्यो । अहिले त्यस्तो छैन । दाबी भुक्तानी लिन कागजात पुग्नेबित्तिकै तत्काल गरिन्छ । हामीले बजारबाट थोरै–थोरै लिएर धेरै जोखिम उठाएका हुन्छौं । तर, धेरै दिँदा सोचेर, विचार गररै दिनुपर्छ । त्यसकारण यथोचित दाबी भुक्तानी होस् भन्नेमा हामी सचेत हुनु स्वाभाविक हो भन्ने लाग्छ । कहीँ कतै समस्या छ भने सरल र सहज बनाउनुपर्छ, अनावश्यक प्रक्रिया भए छोट्याउनुपर्छ, त्यसमा हामी प्रस्ट छौं । तर, विगतको जस्तो जटिल र झन्झटिलो छैन अहिले ।

गाउँको कुरै छाडौं, राजधानीबासीले नै दुर्घटना, स्वास्थ्य तथा सम्पत्ति बिमा गराएको पाइँदैन, किन होला !

राजधानीबासी सचेत नभएका होइनन्, सचेत छन् । तीन वर्षअघिको भूकम्पमा भत्किएका केही भौतिक संरचनाका बिमा गराइएको थियो । तर, तपाईं बिमा गराउनुहुन्न भने त्यसको क्षति तपाईंले नै व्यहोर्ने हो । तपाईंको नाफाबाट व्यहोर्ने हो । तपाईं इन्स्योरेन्स कम्पनीमा आबद्ध हुनुहुन्न भने त्यसको सम्पूर्ण क्षतिको भागिदार तपाईं आफैं बन्नुपर्छ । अहिले भूकम्प र अग्नि बिमा अनिवार्य भएकाले छुट्ने अवस्था छैन । अब सबै नागरिकलाई बिमाको दायरामा ल्याउन हामी मास क्याम्पेनमा निस्किन्छौं । त्यसका लागि सबै तयार छन् ।

जनतामा बिमाप्रतिको बुझाइ कस्तो पाउनुहुन्छ ?

जनताले बुझेका छन् । बिमा भनेको हाम्रै आर्थिक सुरक्षाका लागि हो भन्ने उहाँहरुलाई थाहा त । तर, मेरो क्षमतामा छ कि छैन भन्ने अन्योल, प्रक्रियागत अन्योल हुनसक्छ । त्यो अन्योललाई चिर्दै जार्नुपर्छ भन्ने लाग्छ । जापानमा त्यति ठूलो भूकम्प, सुनामी जान्छ, सबै इन्स्योरेन्स कम्पनीले तिर्छन्, जनतालाई यो बुझाउनुपर्छ । उनीहरुलाई विश्वास दिलाएर जानुपर्ने बाध्यता छ ।

नियामक निकायको भूमिका कस्तो छ ?

राम्रो छ । बिमा समिति र कम्पनीहरुबीच सम्बन्ध राम्रो छ । हामीलाई व्यवसाय विस्तार गर्न कुनै समस्या छैन । बिमा समिति, सरकार सबैको भूमिका राम्रो छ । हामी विकासको उडान भर्दै छौं । केही समस्या भए निराकरण गर्दै अघि बढ्ने हो ।

बिमा क्षेत्रका चुनौती के–के हुन् ?

प्रमुख चुनौती प्राथमिकता बुझाइदिनु हो, प्राथमिकतामा बिमालाई राख्नुपर्छ भन्ने बुझाउन जरुरी छ । समग्रमा, बिमा सचेतना आवश्यक छ । अर्को कुरा, बिमाको प्रिमियम तिर्नसक्ने आधार बनाइदिने, बिमामा आबद्ध हुने झन्झटिला प्रक्रिया छन् भने सहज बनाउने र दाबी भुक्तानी अझै सहज बनाइदिने । चुनौती छन् तर ती चुनौतीलाई सबै मिलेर समाधान गर्दै जानुपर्छ । बिमा कम्पनी नदिने भनेर बसेका होइनन् । सोचमा पनि परिवर्तन जरुरी छ । बिमा कम्पनी दाबी भुक्तानी गर्न बसेका हुन्, भुक्तानी नगर्नलाई होइन । यो बुझ्न जरुरी छ । दाबी नदिने हो भने बिमा कम्पनी किन खोल्नु, अरु नै व्यवसाय गरे भइगयो नि !

नेपालमा प्रविधिको बिमा किन प्राथमिकतामा परेन ?

प्रविधि बिमा आवश्यक छ तर सुरु भएको छैन । हामी प्रविधि र प्रविधि बिमा दुवैमा पछाडि छौं । प्रविधिको प्रयोग सुस्त भएकाले पनि प्रविधिको बिमा प्राथमिकतामा नपरेको हुनसक्छ ।

अहिले पनि हामी नगद अभावमा उपचार गर्न नपाउने अवस्थामा छौं । स्वास्थ्य बिमाको भुक्तानी नगदरहित बनाउन समस्या कहाँ छ ?

हामीले सुरु गरेका छैनौं । तर, केही बिमा कम्पनीले क्यासलेस उपचार सेवा सुरु गरिसकेका छन् । अब कसैले पनि नगद अभावमा उपचार नपाउने भन्ने हुँदैन । हामी पनि चाँडोभन्दा चाँडो स्वास्थ्य बिमालाई नगदरहित बनाउँदै छौं ।

सबैभन्दा पुरानो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीको वर्तमान अवस्थाबारे बताइदिनुस् न !

हामी सबैभन्दा पुरानो भएकाले पनि हामीसामु ठूलो जिम्मेवारी छ । तीन करोड नेपालीको जिम्मेवारी हामीले बहन गर्नुपर्नेछ । त्यसकारण हामी सबै नेपालीको आवश्यकता कसरी परिपूर्ति गर्ने भन्नेमा बढी चिन्तित छौं । बिमामा प्रिन्सिपल र प्राक्टिसको कुरा आउँछ । कहिलेकाहीँ आवश्यकताले पनि दिशानिर्देश गर्छ । नेपाल इन्स्योरेन्सले बिमाको समग्र बजार र उपस्थितिको नेतृत्व गर्नु छ, त्यही चुनौतीबीच हामी अघि बढिरहेका छौं । एउटा ग्राहकलाई सन्तुष्ट बनाउनु भनेको हजारजना ग्राहक बनाउनुसरह हो, हामी यही जिम्मेवारी बोध गरेर अघि बढेका छौं ।

नेपाल इन्स्योरेन्सका लक्षित क्षेत्र कुन–कुन हुन् ?

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह मेगा बैंकमा हुँदा भन्नुहुन्थ्यो, ‘हलोदेखि हाइड्रोसम्म’, मचाहिँ ‘हलोदेखि हवाई जहाजसम्म’ भन्छु ।

प्रकाशित समय १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु