गृहपृष्ठ ए डिभिजन लिगको तयारी तीव्र, १४ क्लबद्वारा खेलाडी दर्ता

ए डिभिजन लिगको तयारी तीव्र, १४ क्लबद्वारा खेलाडी दर्ता

यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)मा खेलाडी दर्ता गरेका छन् । एन्फाले दिएको शुक्रबारसम्मको समयसीमाभित्र ‘ए’ डिभिजनका १४ क्लबले न्यूनतम १८ देखि अधिकतम ३५ खेलाडी एन्फामा दर्ता गराएका हुन् । एन्फाले यसै वर्षदेखि खेलाडी दर्ताको प्रावधान ल्याएको हो । एन्फाले कम्तीमा १८ खेलाडी अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखेको थियो ।

खेलाडी दर्तासँगै मेडिकल इन्स्योरेन्स तथा खेलाडीले पाउने पारिश्रमिकको सम्झौतापत्रसमेत क्लबले एन्फामा दर्ता गराएको महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

एन्फाले शुरुमा भदौ ३० गतेको समयसीमा राखेर खेलाडी दर्ताका लागि क्लबलाई आह्वान गरको थियो । तर क्लबले तयारी नपुगको भन्दै समय मागेपछि एकसाता समय थप गरिएको थियो ।

शुक्रबारसम्म सहभागी १४ क्लबले विदेशी खेलाडीलाई समावेश गर्दै एन्फामा अनलाइन र हार्डकपी बुझाएका छन् । क्लबले दर्ता गरेको खेलाडीलाई सूचीकृत गर्ने काम भइरहेको बताउँदै ‘ए’ डिभिजनका लिग निर्देशक सञ्जीव मिश्रले एक दुई दिनमै खेलाडीको नामावली सार्वजनिक गर्ने बताए ।

सहभागी १४ मध्ये १२ क्लबले अनलाइनसहित हाडकपीसमेत एन्फामा बुझाएका छन् भने फ्रेण्ड्स क्लब र मनाङ मस्र्याङ्दीले अनलाइनबाट मात्र नाम दर्ता गराएका छन् । लिग सञ्चालनका समयमा समेत क्लबले आवश्यक परेको अवस्थामा खेलाडी दर्ता गर्न पाउने एन्फाले जनाएको छ ।

यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मर्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जाउलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख रुपैयाँ, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख रुपैयाँ पाउनेछन् ।

लिगको चौंथो टोलीले १५ लाख, पाँचौं टोलीले सात लाख र छैटौँंले पाँच लाख रुपैयाँ पाउँनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपैयाँ दिनेछन् । रासस

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु