गृहपृष्ठ सुशीला कार्कीको ‘न्याय’ सार्वजनिक, न्यायालयभित्रका बेथितिको खुलासा !

सुशीला कार्कीको ‘न्याय’ सार्वजनिक, न्यायालयभित्रका बेथितिको खुलासा !

'न्यायालयमाथि दबाब र प्रभाव बढ्याे'

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ सार्वजनिक गरिएको छ । काठमाडौमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक गर्दै पूर्वप्रधानन्यायाधीश पुस्तकमा कार्कीले प्रधानन्यायाधीशको रुपमा खेलेको भूमिकालाई केन्द्रमा राखेर न्याय सम्पादनका विभिन्न आयामको बारेमा चर्चा गरेकी छन् । पूर्वप्रधानन्यायाधिश कार्कीले पुस्तकमा आफूले देखेको र भोगेको सत्य कुरा ओकल्ने प्रयास गरिएको बताइन् ।

उनले मुलुकको पहिलो महिला प्रधानन्यायाधीश हुनुको नाताले अरुलाई प्रेरणा दिन पुस्तक लेखको स्पष्ट पारिन् । प्रधानन्यायाधीश हुँदा भोगेको महाअभियोगको प्रस्ताव, विभिन्न मुद्दामा आफूले सम्पादन गरेको न्याय र व्यक्तिगत भोगाइलाई पुस्तकमा उतारेको उनले जानकारी गराइन् । ३० वर्ष उनले गरेको वकालत र ८ वर्ष न्यायालयमा बिताएको समयको हरहिसाब पुस्तकका समेटिएको उनको भनाइ छ ।

न्यायालयको नेतृत्व गरिसकेको व्यक्तिले पुस्तक लेख्ने चलन नभए पनि न्यायालयमा ल्याउनुपर्ने परिवर्तन र जनताले यसबारे जान्न पाउनुपर्ने भएकाले किताब लेख्न हौस्याएको कार्कीले बताइन् । पुस्तकमा लोकमानसिंह कार्कीको मुद्दादेखि फास्ट ट्रयाक घोटालासम्मका १० वटा मुद्दा अटाइएको छ ।

कार्यक्रममा उनले न्यायालयमा राजनीतिक ‘प्रभाव र दबाब’ बढेको टिप्पणी गरेकी छन् । यस्तो प्रभाव र दबाबले न्यायालयप्रति आमनागरिकको विश्वास घट्ने पनि उनले बताइन् । उनले न्यायालयमाथि हस्तक्षेप बढे लोकतन्त्र खतरामा पर्ने चेतावनी पनि दिइन् । विधिको शासनलाई मार्गनिर्देश गर्न पनि सरकारले न्यायालयमाथि हस्तक्षेप गर्न नहुने उनको भनाइ छ ।

पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ चिकित्सक गोविन्द केसीले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अहिलेसम्मकै साहसी प्रधानन्यायाधिशको संज्ञा दिए । कार्की प्रधानन्यायाधीश नभएको भए भ्रष्टाचारको अभियोग लागेका तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति बदर नहुने डा. केसीको दाबी छ ।

बुकहिलले बजारमा ल्याएको ३ सय ९२ पृष्ठको न्यायको पातलो गाताको मूल्य ६ सय ५० र हार्ड कभरको मुल्य ९०० सय रूपैयाँ राखिएको छ ।

प्रकाशित समय १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु