गृहपृष्ठ दसैंको मुखमा यातायात व्यवसायीको बार्गेनिङ, अग्रिम टिकट बुकिङ अन्याेल

दसैंको मुखमा यातायात व्यवसायीको बार्गेनिङ, अग्रिम टिकट बुकिङ अन्याेल

दसैंको मुखमा यातायात व्यवसायीले बार्गेनिङ गर्दा अग्रिम टिकट बुकिङ अन्याेल बनेको छ । दसैं सुरु हुन तीन साताभन्दा कम समय रहेका बेला व्यवसायीले घुमाउरो पारामा भाडा बढाउन बार्गेनिङ गरेपछि अग्रिम टिकट बुकिङ अन्योल बनेको हो ।

अग्रिम टिकट बुकिङ खुल्ने टुंगो नहुँदा यात्रुहरु चिन्तित बनेका छन् । सुनसरीका किशोर महतोले अग्रिम टिकट बुकिङ कहिले खुल्ने थाहा नहुँदा आफ्ना कतिपय योजना प्रभावित भएको बताए । ‘किन हो थाहा छैन, तर टिकट बुकिङ गर्न नपाउँदा दसैं योजना डामाडोल होलाजस्तो छ,’ उनले भने ।
व्यवासायीले भने लामो दूरीका सवारी साधनमा छत राख्न पाउनुपर्ने माग राख्दै अग्रिम टिकट बुकिङ खुलाउन आलटाल गरिरहेका छन् । योसँगै उनीहरुले भाडा बढाउन पाउनुपर्ने माग पनि राखिरहेका छन् । ईन्धनको बढेको मूल्य घटाउनुपर्ने वा भाडा बढाउनु पर्ने माग राख्दै यातायात व्यवसायीले अड्को थापेपछि शुक्रबारदेखि खुल्ने भनिएको अग्रिम टिकट बुकिङ खुलेन । सरकारले छतमा सामान र यात्रु मनपरी राखेका कारण दुर्घटना बढेको भन्दै गत वर्षदेखि छतको क्यारियर हटाइदिएको थियो । तर, व्यवसायीहरु त्यही क्यारियर राख्न पाउनुपर्ने माग राख्दै चाडबाडको मुखमा सरकारमाथि दबाब दिइरहेका छन् । व्यवसायीसामू सरकार निरीह हुँदा दसैंमा गृह जिल्ला जाने यात्रुहरु पनि अन्योलमा परेका हुन् ।

‘हाम्रा केही माग छन्, त्यसबारे पुनः बसेर छलफल गर्ने भन्दै सरकारसँगको वार्ता स्थगित गरिएको छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । अर्को बैठक बसेर छिट्टै टुंगो लगाउने पक्षमा आफूहरु रहे पनि सरकारले वेवास्ता गरेको उनको आरोप छ । यता सरकारले भने भाडा बढाउने र छत राख्ने दुबै माग सम्बोधन गर्न नसकिने बताएको छ ।

यातायात व्यवस्था विभाग र व्यवसायीबीच असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खोल्ने सहमति भएको थियो । तर, आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेपछि व्यवसायीले ४८ घण्टाभित्र मुल्यवृद्धि फिर्ता नलिए बुकिङ नखोल्ने अडान लिएका छन् ।

व्यवसायीहरुले सरकारकासँग पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता, रोक्का भएको खाता फुकुवा, भाडा समायोजनको शर्त राखेका छन् । समितिहरुको खाता रोकिएका कारण कर्मचारीलाई तलब खुवाउन नसकिएको, घाइतेको उपचार गर्न नसकिएको भन्दै रोक्का गरिएका बैंक खाता पनि फुकुवा गरिदिन उनीहरुले माग गरेका छन् ।

प्रकाशित समय २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु