गृहपृष्ठ शक्तिशाली पार्टीका कमजोर नेता, बामदेवदेखि नारायणकाजीसम्म

शक्तिशाली पार्टीका कमजोर नेता, बामदेवदेखि नारायणकाजीसम्म

nekapa-newskarobar

शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा धेरै नेता भूमिकाविहीन हुँदा कमजोर बनेका छन् । विगतमा राजनीतिक र संगठनात्मक निर्णयकर्ता रहेर पार्टीभित्र हालिमुहाली गरिरहेका धेरै नेता अहिले भूमिकाविहीन भएपछि कमजोर देखिएका हुन् ।

पार्टीले ठोस जिम्मेवारी नदिँदा उनीहरु फुर्सदिलामात्र छैनन्, निर्णायक तहमा कुनै भूमिका नहुँदा आउँदा दिनमा उनीहरुको राजनीतिक भविष्यसमेत कता जाला भन्नेसम्मका विश्लेषण हुन थालेका छन् ।

पार्टी सचिवालय सदस्य र स्थायी समिति सदस्यमै रहे पनि ती संगठन जम्बो रहेकाले त्यहाँ उनीहरुको भूमिका गौड देखिएको छ । भूमिकाविहीन बनाइएका नेताहरुमा बामदेव गौतमदेखि वेदुराम भुसाल र गणेश साहसम्म छन् । पार्टीमा राम्रौसँग रजगज गर्दै आएका १०–१२ जना नेता अहिले संगठनको बैठकमा ताली बजाएर निर्णय पारित गराउने भूमिकामा सीमित देखिएका छन् ।

हाल नेकपामा अध्यक्ष दुईजना छन् भने सचिवालय नौ सदस्यीय छ । स्थायी कमिटीमा ४५ जना छन् । यी संगठनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका शक्तिशाली नेता समेटिएका छन् । तर, जेठ ३ गते पार्टी एकतापछि यो संगठन बने पनि शक्तिशाली नेताले नै यथोचित भूमिका नपाउँदा बेरोजगार र कमजोर बनेको टिप्पणी हुन थालेका छन् । माथिल्लो तहका नेताले जिम्मेवारी नपाएका कारण तल्ला तहका झन्डै ३ लाख नेता–कायर्कर्तासमेत निष्क्रिय छन् ।

स्थायी समितिका ४५ जना नेतामध्ये ३६ जना संघ र प्रदेशका सांसद छन् । संसदमा रहेकाहरु संघीय सरकार तथा प्रदेश सरकारका मुख्यमन्त्री मन्त्री बनेका छन् । केही संसदीय दलका उपनेता र प्रमुख सचेतक एवं प्रधानमन्त्री, मुख्यमन्त्रीका सल्लाहकार छन् । स्थायी कमिटीका ३६ नेतामध्ये संसदबारिह रहेका बाँकी नौ जनाको गतिविधि भने शून्यप्रायः छ ।

भूमिकाविहीन र कमजोर देखिएका नेताहरुमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्यहरू युवराज ज्ञवाली, रघुजी पन्त, अमिक शेरचन र लीलामणि पोखरेल छन् । अमृतकुमार बोहरा, वेदुराम भुषाल, गणेश शाह, मणि थापालगायतका नेता पनि बेरोजगार छन् । उनीहरु सबै कुनै पनि सदनका सदस्य छैनन् भने पार्टीले पनि ठोस जिम्मेवारी दिएको छैन ।

नारायणकाजी श्रेष्ठले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन् । राजीनामा स्वीकृत नभए पनि उनी निष्क्रिय जस्तै रहेको नेकपाकै नेता बताउँछन् । बामदेव गौतम पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै जनाको नजिकका पात्र भए पनि उनले सांगठनिक र निर्णायक कुनै भूमिका पाएका छैनन् । सामान्य भूमिकामा देखिएका बामदेव, नारायकाजीजस्ता नेतासमेत कार्ययोजना, कार्यसूची बनाउने तथा नीतिगत निर्णय गर्ने भूमिकाबाट वञ्चित भएपछि पार्टीमा कमजोर बनेका छन् ।

तत्कालीन एमालेका उपाध्यक्ष ज्ञवाली, माओवादी केन्द्रमा राम्रै भूमिकामा रहेका शेरचन, पोखरेल र मणि थापाको हालत पनि ४ सय ४१ सदस्यीय जम्बो केन्द्रीय समिति सदस्यको अवस्थाजस्तै छ । तत्कालीन एमालेमा सांगठनिक काममा राम्रो भूमिका निभाएका अमृतकुमार बोहरा, वेदुराम भुसालको जिम्मेवारी पनि तोकिएको छैन । पार्टी एकतामा विभिन्न दस्तावेज लेखनको जिम्मेवारी पाएका भुसाल अहिले बेरोजगार छन् ।

विधानमा केन्द्रीय सचिवालयले केन्द्रीयस्तरमा स्थायी समितिबाट नीतिगत निर्णय गर्ने व्यवस्था छ । स्थायी समिति धेरै सदस्यीय भएकाले ती संगठनका सदस्यको भूमिका कमजोर देखिएको एकतापछि स्थायी समितिमा खुम्चिएका ज्ञवाली बताउँछन् । ‘हामी कुनै पनि सदनमा छैनौं र पार्टीले कुनै पनि ठोस जिम्मेवारी दिई नसकेकाले शक्तिहीन देखिएका हौं,’ ज्ञवालीले न्युज कारोबारसँग भने ।

स्थायी समिति सदस्य भुसाल पार्टीले प्रक्रिया ढिला गरेकोमा असन्तुष्ट छन् । सुरुमा राष्ट्रिय सभा सदस्यमा उम्मेदवार रहेका उनलाई तत्कालीन वाम गठबन्धनका उम्मेदवार रामबहादुर थापा ‘बादल’को जित सुनिश्चित गर्न उम्मेदवारी फिर्ता दिन लगाइएको थियो । त्यतिबेला पार्टीले उम्मेदवारी फिर्ता नगराएको भए उनी माथिल्लो सदन राष्ट्रिय सभाको सदस्य बन्ने थिए । तर, अहिले पार्टीले पनि कुनै भूमिका नदिँदा असन्तुष्ट छन् । ‘एकतापछि पार्टीलाई गतिशील बनाउन सबै नेतालाई जिम्मेवारी र भूमिका आवश्यक छ, अहिले त्यो नहुँदा नेताहरु निष्क्रिय छन्,’ भुसाल भन्छन्, ‘पार्टी चलायमान बन्न सकेन, तत्काल पार्टीले यसबारेमा निर्णय लिनुपर्छ ।’

स्थायी समिति सदस्यहरुसमेत बेरोजगार बन्दा ४ सय ४१ सदस्यीय केन्द्रीय समिति सदस्यको अवस्था पनि उस्तै छ । शुक्रबारमात्रै नेकपा सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज अध्यक्ष र सचिव गरी २८ जनालाई जिम्मेवारी तोकेपछि उनीहरुलाई भने राहत मिलेको छ ।

पार्टीको निर्णायक तहमा वा संसदमध्ये कुनै एक ठाउँमा नभएकाले उनीहरुको गतिविधि बाहिर देखिन्थ्यो । तर, कुनै भूमिकामा नहुँदा पहिलाका शक्तिशाली नेता अहिले कमजोर बनेका हुन् ।

प्रकाशित समय १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु