गृहपृष्ठ चप्पल उद्योगमा श्रम शोषण

चप्पल उद्योगमा श्रम शोषण

मोरङको बूढीगंगा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ ।

श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा ट्रेड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबीना काम गराएको पाइएको हो । बूढीगंगा–३ मा रहेको उक्त उद्योगमा दुई सय मजदुर कार्यरत रहेकामा वर्षौंदेखि श्रम शोषण गर्दै आएको अनुगमनका क्रममा फेला परेको छ ।

अनुगमन टोली आउने सूचना पाएपछि उद्योगका व्यवस्थापक कौशल मण्डलले श्रमिकलाई कोठामा थुनेर राखेको थिए । श्रम शोषण गरेको पोल खुल्ने डरले करीब ५० जनाभन्दा बढी श्रमिकलाई थुनेर राखेको अनुगमन टोलीका सदस्य नेपाल समाजवादी ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णले जानकारी दिए । “उद्योगले वर्षौंदेखि श्रम शोषण गरेको कुरा श्रमिकले अनुगमन टोलीलाई सुनाइदिने डरले लुकाएको रहेछ,” कर्णले भने ।

श्रम कार्यालयले चप्पल उद्योगमा कार्यरत श्रमिक कर्मचारीको हाजिर खाता र तलब भरपाइसमेत नियन्त्रणमा लिएको छ । आगामी १५ दिनभित्र मजुदरका सम्पूर्ण सबै समस्याको हल गरी श्रम ऐनले तोकेअनुसार तलब नदिए उद्योग नै बन्द गरिने अनुगमन टोलीले जनाएको छ ।

यस्तै विराटनगर विमानस्थल नजीकै रहेको होटल एसिया टिकमा पनि मजदुरको श्रम शोषण गरिएको पाइएको जिफन्टका प्रदेश अध्यक्ष किशोर धमलाले जानकारी दिए । होटलले ग्राहकबाट १० प्रतिशत लिएको सेवाशुल्क रकम मजदुरलाई दिएको पाइएन ।

प्रकाशित समय ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु