गृहपृष्ठ काठमाडौंको दसैं सुरक्षा : ३५ सय प्रहरी परिचालन

काठमाडौंको दसैं सुरक्षा : ३५ सय प्रहरी परिचालन

घटना भएमा २५ वटा टोली तयारी अवस्थामा

dashai surakshya

काठमाडौं प्रहरी परिसरले चाडपर्वलाई लक्षित गर्दै ३ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालन गरेको छ । सुरक्षा सतर्कता उच्च बनाउन क्षेत्र विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोलीसमेत खटाएको छ । दसैं, तिहार, छठलगायतका चाडपर्वको समयमा हुनसक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौं प्रहरी परिसरले उपत्यका भित्रिने र बाहिरिने नाका थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजुलगायतका क्षेत्रमा प्रहरीको तालिमप्राप्त कुकुरसहितको टोलीले चेकजाँचसमेत सुरु गरेको जनाएको छ । परिसरका प्रमुख एसएसपी वसन्त लामाले भने, ‘हामीले एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएका छौं, विभिन्न नाकामा चेक गर्न सुरु गरेका छौं ।’

साइकल, मोटरसाइकल र भ्यान गस्ती टोली पनि परिचालन गरिएको लामाले बताए । साइकल गस्तीमा ३६, मोटरसाइकलमा ३० र भ्यान गस्तीमा २४ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । सूचना संकलनका लागि सादा पोसाकमा ७० जनाको टोली खटाएको परिसरले जनाएको छ । प्रहरीले चाडपर्वको समयमा कुनै घटना भइहालेको खण्डमा तत्काल परिचालन गर्नका लागि २५ वटा टोली पनि तयारी अवस्थामा राखेको छ ।

प्रहरीले चाडपर्वको समयमा सुरक्षा जोखिम बढी हुने स्थान पनि छुट्टयाएको छ । जसलाई मध्यनजर गरेर सुरक्षा योजना तयार पारिएको हो । बैंक तथा वित्तीय संस्थाहरुमा चोरी तथा लुटपाट हुन सक्ने भन्दै सक्रियता अपनाइएको छ । चाडपर्वको समयमा सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान, मठ मन्दिर र गुम्बा रहेको स्थानमा सुरक्षा जोखिम हुने परिसर प्रमुख लामाले बताए ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु