गृहपृष्ठ कञ्चनपुर बन्द, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग

कञ्चनपुर बन्द, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग

फाइल तस्बिर

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै कञ्चनपुर बन्द गरिएको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको दुई महिना बित्दासमेत प्रशासनले दोषी पत्ता लगाउन नसकेको भन्दै नेपाल विद्यार्थी संघको आह्वानमा कञ्चनपुर बन्द गरिएको हो ।

निर्मला हत्या प्रकरणबारे अनुसन्धानमा गर्न गठित उच्च स्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शनिबारदेखि थालिएको धर्ना कार्यक्रम मंगलवार चौथो दिन पनि जारी छ । महिला अधिकारकर्मीहरुले शनिबारदेखि धर्ना दिदै आएका छन् ।

हिजो सोमबार शैक्षिक संघसस्था बन्द गराएको नेविसंघले मंगलवार एक दिने जिल्ला बन्दको घोषणा गरेको हो । बन्दका कारण कञ्चनपुरको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन ठप्प छन् भने शैक्षिक संघसस्था, उद्योग कलकारखाला तथा बजार पनि ठप्प छ ।

नेविसंघका विद्यार्थीहरुले बिहानैदेखि महेन्द्रनगरमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । अझै छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिए बुधबारदेखि नयाँ चरणका आन्दोलन गर्दै जाने नेविसंघले जनाएको छ ।

प्रकाशित समय ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु