गृहपृष्ठ नक्कली अपराधी किन्ने चलखेल भइरहेको छ : निर्मलाका बुबा
नक्कली अपराधी किन्ने चलखेल भइरहेको छ : निर्मलाका बुबा
प्रधानमन्त्री ज्यू ! कि न्याय दिनुस् कि राजीनामा
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७० दिन बित्यो । तर अहिलेसम्म दोषी पक्राउ पर्न सकेको छैन । हत्यारालाई कारबाहीको माग गर्दै देशभर आन्दोलन चलिरहको छ । संसददेखि सडकसम्म आन्दोलन हुँदा पनि दोषीको पहिचान हुन सकेको छैन । दिनप्रतिदिन घटना रहस्यमय बन्दै गएको छ । न्याय माग्दै काठमाडौं आएको बेला निर्मलाका आमा बुबालाई प्रधानमन्त्री केपी ओली गृहमन्त्री रामबहादुर थापा र सुरक्षा अधिकारीले न्यय दिने प्रतिबद्धता जनाएका थिए ।
तर, प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले निर्मलाका आमाबुबाले न्याय पाउने आशा मारेका छन् । अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले एक अन्तर्वातामा हत्यारा पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्छ भन्ने अभिव्यक्ति दिएका थिए । ‘प्रधानमन्त्रीको अभिव्यक्तिले हाम्री छोेरीले न्याय पाउँछे भन्ने आश छैन, तर छोरीको न्यायका लागी हामी पनि मर्न तयार छौं’ न्युजकारोबारसँग निर्मलाका बुबा यज्ञराज पन्तले भने ।
‘छोरीको हत्यापछि प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई सबै कुरा थाहा छ । ती प्रहरी अधिकारीलाई पक्राउ गर्ने हो भने दोषी को हो पत्ता लाग्छ तर सरकारले हत्यारालाई कारबाही गर्न चाहेको छैन,’ उनले भने, आज छोरीको हत्या भएको ७० दिन बित्यो गरीब भएकै कारण न्याय पाएनौं, राज्यले नेपाली नागरिक नभएको जस्तो व्यवहार गरेको छ ।’
हत्यारालाई पक्राउ गरेर कारबाही नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने उनले बताए । ‘प्रधानमन्त्री ज्यू कि छोरीलाई न्याय दिनुस् कि प्रधानमन्त्रीबाट राजीनामा दिनुस्’ यज्ञराजले भने, अझै पनि नक्कली अपराधी खडा गर्ने चलखेल भइरहेको छ ।’ पैसामा नक्कली अपराधी किन्ने चलखेल भइरहेको उनले आरोप लगाए ।
सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज बिष्ट उनका छोरा किरण र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टका भतिजा आयुष विष्टको डीएनए परिक्षणमा समेत आशंका रहेको उनले बताए । उच्चस्तरीय समितिको प्रतिवेदन समेत सार्वजनिक गर्न उनले सरकारसँग माग गरे । गत साउन १० गते घरबाट साथीको घरमा गएकी निर्मला भोलीपल्ट मृत अवस्थामा उखुघारीमा फेला परेकी थिइन् ।
प्रकाशित समय १३:१३ बजे

















