गृहपृष्ठ दार्चुलाकाे नाैगाडमा भाइरलको प्रकोपले विद्यालय बन्द
दार्चुलाकाे नाैगाडमा भाइरलको प्रकोपले विद्यालय बन्द
दार्चुलास्थित नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा मौसमी भाइरलको प्रकोपले केदारेश्वर मावि सुण्डमुण्डु बन्द गरिएको छ ।
एक सातादेखि फैलिएको भाइरलले गाउँभरिका बालबालिका तथा वृद्धवद्धासहित विद्यालयमा अध्ययनरत ३५० विद्यार्थीमध्ये आधाभन्दा बढी प्रभावित भएका छन् । विद्यालयका शिक्षक प्रेमसिंह ठगुन्नाका अनुसार भाइरलकै कारण विद्यार्थीको नियमित पठनपाठनमा समस्या भएपछि आजदेखि विद्यालय बन्द गरिएको हो ।
दसैं बिदा यही असोज २४ गतेदेखि गर्नुपर्ने भए पनि भाइरलको प्रकोप बढ्न थालेपछि विद्यालय चाँडै बन्द गरिएको उनले बताए ।
प्रभावित विद्यालयमा सामुदायिक स्वास्थ्य एकाइ सुण्डमुण्डुको स्वास्थ्यकर्मीको टोलीले शुक्रबार विद्यालयमै औषधि वितरण गरेको छ । सबै विद्यार्थी र शिक्षकमा भाइरल फैलिँदै गएपछि स्वास्थ्यकर्मीको टोलीलाई विद्यालयमै बोलाएर औषधि वितरण गरिएको हो ।
एकाइका प्रमुख रमेशसिंह ठगुन्नाले भने, ‘अहिले विद्यालय क्षेत्र र बढी प्रभावित क्षेत्रमै औषधि दिएका छौं । मौसमका कारण देखिएको भाइरलले सामुदायिक स्वास्थ्य एकाइ तथा निजी मेडिकलमा बिरामीको भीड लाग्ने गरेको छ ।’
भाइरल कम गर्नका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली विद्यालय र गाउँमा पठाइएको नौगाड–२ का वडाध्यक्ष नरेन्द्रसिंह ठगुन्नाले बताए । बिरामीको निगरानीमा दुई अहेब परिचालन गरिएका छन् ।
प्रकाशित समय १९:०३ बजे

















