गृहपृष्ठ जनकपुरमा अखाद्य पदार्थ बिक्री गर्ने एक पक्राउ

जनकपुरमा अखाद्य पदार्थ बिक्री गर्ने एक पक्राउ

जनकपुरको सस्तो बजारमा अखाद्य पदार्थ बिक्री गर्ने एक व्यापारीलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । जनकपुरको गोपाल धर्मशालामा लागेको सस्तो बजारमा बिहीबार अनुगमनका क्रममा अमर आइसक्रिमका बिक्रेता विकास दासलाई टोलीले नियन्त्रणमा लिएको हो ।

अनुगमनका क्रममा आइसक्रिममा देखिएको कालो पदार्थ के हो भनेर अनुगमन टोलीले प्रश्न गरेपछि विक्रेता दासले बाख्राको दिसा रहेको भन्दै अटेरी गरी प्रतिक्रिया दिएपछि उनलाई नियन्त्रणमा लिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि जितेन्द्रप्रसाद सिंहले जानकारी दिए । जनकपुर उपमहानगरपालिका–८ स्थित मनोज चौधरीले सञ्चालन गरेको अमर आइसक्रिम उद्योगबाट उत्पादित आइसक्रिममा म्यादसमेत नभएको अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अधिकृत दिनेश साहको नेतृत्वमा गरिएको अनुगमन टोलीमा नापतौल कार्यालय धनुषाका वीरेन्द्र उपाध्याय, घरेलु तथा साना उद्योग कार्यालयका सिंह, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी हवल्दार शंकर कटुवाललगायतको सहभागिता थियो । केही दिनअघि पनि जनकपुर नगरलाई लक्षित गरी अनुगमन गरिएको थियो । अनुगमनका क्रममा म्याद नाघेका केही सामानसमेत नियन्त्रणमा लिइएको थियो ।

नेपालीहरुको मुख्य पर्व दसैं, तिहार तथा छठलाई मध्यजनर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले अनुगमनलाई तीव्रता दिएको छ । पर्वको समयमा कालाबजारी गरेको र महँगी बढेको जनगुनासो बढेपछि अनुगमनलाई तीव्रता दिएको कार्यालयले जनाएको छ ।

प्रकाशित समय १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु