गृहपृष्ठ ऋणको भारमा रहेको ऐतिहासिक विराटनगर जुटमिल पुनः सञ्चालन
ऋणको भारमा रहेको ऐतिहासिक विराटनगर जुटमिल पुनः सञ्चालन
एक सयभन्दा बढीलाई रोजगारी
देशकै जेठो उद्योगको रुपमा रहेको बिराटनगर जुट मिल पुनः सञ्चालनमा आएको छ । विवाद र किचलोले बन्दैबन्दको इतिहास बनाइसकेको नेपालको पहिलो उद्योग सुतली उत्पादन गर्दै उठ्न खोजेको हो ।
एक महिनादेखि परीक्षण सञ्चालनमा रहेको मिलले दुई सातायता व्यावसायिक उत्पादन थालेको छ । मिल सञ्चालक समितिले मिलको मेसेनरी मर्मत र विद्युत जडानको काम गरेसँगै नियमित उत्पादन सुरु गरिएको हो ।
मिल पुनः सञ्चालनमा आएसँगै एक सयभन्दा बढीले रोजगारी पाएका छन् । मिल बन्द भएको बखत रोजगारी गुमेपछि घरमा बसेका मजदुर पुनः काममा फर्किएका छन् । मिल सञ्चालक समितिका अनुसार व्यावसायिक उत्पादन थालेकोमा दसैंलगत्तै जुट बोरा उत्पादनको तयारीसमेत अघि बढाएको छ ।

हाल दिवाकालीन समयमा मात्र सञ्चालनमा रहेको मिलले अहिले २२ टन सुतली उत्पादन गरिसकेको छ । मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनका अनुसार जुट मिलले ९० इन्चको १५ टन र ७५ इन्चको ७ टन सुतली उत्पादन गरेको छ ।
१० वर्षपछि विराटनगर जुट मिल उद्योगको उत्पादन बिक्री गर्ने तयारी गरिएको छ । जुट मिलले उत्पादन गरेको २२ टन सुतली नेपाल तथा भारतमा बिक्री गरिने भएको हो । विराटनगर जुट मिलले गत भदौ २६ गतेबाट परीक्षण उत्पादन गरेको थियो ।
त्यसयता अहिलेसम्म २२ टन सुतली उत्पादन गरेको छ । बाँकी १० टन घानीमा छ । मिल व्यवस्थापन पक्षले उत्पादित सुतली बिक्रीको तयारीसमेत गरेको छ । उत्पादन भएको सुतलीको ५० किलो र २५ किलोको प्याकिङ भइरहेको छ ।

उत्पादिन सुतली बिक्री गर्नका लागि भारतीय कम्पनी र नेपालस्थित स्वस्तिक जुट मिलसँग कुरा भइरहेको बताइएको छ । जुट मिलबाट ९० इन्चको १५ टन र ७५ इन्चको ७ टन सुतली उत्पादन भएको छ ।
जुट बोराको कच्चा धागो मानिने सुतली उत्पादनको काम अहिले दिवा र रात्रिकालीन गरी दुई सिफ्टमा भइरहेको जुट मिल सञ्चालक समितिका अध्यक्ष वनले जानकारी दिए । गत वर्ष जुट मिल्स सञ्चालन गर्ने भन्दै खरिद गरिएको ५४ टन जुटलाई सदुपयोग गर्दै सुतली उत्पादन गरिएको छ । त्यसबाहेक यसैवर्ष सञ्चालक समितिले २६ टन नयाँ जुटसमेत खरिद गरेको छ ।
उद्योग परिसरमा रहेको ८० टन जुटमध्ये २२ टन उत्पादन, १० टन उत्पादन प्रक्रिया र बाँकी ४८ टन जुट स्टक छ । भखरैमात्र व्यवसायी उत्पादन थालेको मिललाई पुर्ण क्षमतामा सञ्चालन गरी व्यावसायिक उत्पादनलाई निरन्तरता दिने तयारीमा मिल सञ्चालक समितिले जनाएको छ ।
उद्योगमा रहेको पुरानो मेसिन चलिरहेको छ । नयाँ मेसिनको मर्मत भने भइरहेको बताइएको छ । पुरानो मिलसँगै रहेका दुईवटा सप्नर, चारवटा ब्रेकर, दुईवटा ड्राइङ, तीनवटा स्प्रिङ, एउटा ट्विस्टिङ र एउटा चर्खा चलिरहेका छन् । विराटनगर जुट मिल्स १९९३ असार ३० गते स्थापना भएको हो ।
मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको थिएन । भारतीय कम्पनी विनसम इन्टरनेसनल लि.ले २०६९ सालमा वार्षिक १ करोड ३५ लाख रुपैयाँमा लिजमा लिएको थियो । तर, ३० प्रतिशतमात्रै मेसिन चलेपछि सम्झौता करार रद्द गरेको थियो । त्यसपछि मिल बन्द अवस्थामा थियो ।
ऋणै ऋणमा मिल
१९९३ सालमा भारतका उद्योगी राधाकृष्ण चमडियाले विराटनगर जुट मिलको स्थापना गरेका हुन् । तत्कालीन समयमा ६२ लाख ७० हजार ५ सय रुपैयाँ लागतमा मिल स्थापना गरिएको देखिन्छ । जुट मिल सञ्चालनमा आउदा पूर्ण नाफा कमाएको देखिन्छ । मिल सञ्चालनमा आएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती प्रकाशनमा १ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको उल्लेख छ । तर, आज यहासम्म मिल आइपुग्दा मिल चार अर्ब ऋणको भारमा छ ।

पटक–पटक खुल्दै बन्द हुँदै आएको मिल सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था एवं सरकारको पनि ऋण दायित्व छ । नेपाल बैंकसँग कुनै समय लिएको १ करोड ७५ लाख रुपैयाँ कर्जा ब्याजसहित अहिले १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी एनआइडीसी डेभलपमेन्ट बैंकसँग पनि कम्पनीले १० लाख ऋण लिएको थियो । यो कर्जा अहिले ब्याजसहित १ करोड ५७ लाख पुगेको छ ।
यता, कुनै समय उदयपुर सिमेन्टसँग पनि कम्पनीले ४५ लाख ऋण लिएको थियो । अहिले यो ८ करोड ७६ लाख पुगेको छ । त्यसैगरी, मिल सञ्चालनका लागि भनेर कुनै बेला अर्थ मन्त्रालयबाट पनि ऋण लिएको देखिन्छ । उसले अर्थ मन्त्रालयबाट पटकपटक गरी १ अर्ब १७ करोड ऋण लिएको देखिन्छ । अहिले अर्थ मन्त्रालयवाट लिएको ऋणको व्यभारमात्र १ अर्व ८० करोड पुगेको छ । उद्योग स्थापनाका क्रममा उद्योगको परिसरमा आफ्नै विद्युत टर्बाइन हाउस, जोगबनी रेल्वे स्टेसनलाई जोडने रेल्वे यार्ड पनि छ ।
प्रकाशित समय ११:५४ बजे

















